काठमाडौं । आज विश्वभर १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । हरेक वर्ष जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ ।
आजै ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो । अन्तर्राष्ट्रिय सहकारी महासंघले ‘सहकारीले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछ’ भन्ने थिम तय गरेको छ ।
राष्ट्रिय सहकारी महासंघले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । महासंघले हरेक वर्ष अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न व्यक्ति तथा सहकारीहरुलाई पुरस्कारहरु प्रदान गर्ने गरेको छ ।
प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषणा गरेको सम्मान तथा पुरस्कारहरु संघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रदान गर्नेगर्छ ।
विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्धनका कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ ।
सहकारीहरुको विश्वस्तरीय शीर्ष निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले पनि आज भर्चुअल कार्यक्रम गर्दैछ भने अन्य भौतिक कार्यक्रमहरु पनि राखिएका छन् ।
अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात् कोअप्स् डे विश्वभरका सहकारीकर्मी, सरोकारवाला तथा शुभेच्छुकहरुको सबैभन्दा ठूलो उत्सवको रुपमा लिइन्छ ।
अन्तर्राष्ट्रिय सहकारी दिवस विश्व सहकारीकर्मी र सरोकारवालाहरुलाई गोलबद्ध गराउने प्लेटफर्म अर्थात् साझा मञ्चको रुपमा लिइन्छ । कोअप्स् डे विश्व सहकारीकर्मीहरुको सामूहिक आवाज पनि हो भने, सहकारी अभियानको पहिचानको पर्वका रुपमा लिइएको छ ।
ऐतिहासिक पृष्ठभूमि
सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले समेत आइसीए स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ६ अर्थात् असार २२ गते शनिवार ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो ।
पहिलो अन्तर्राष्ट्रिय सहकारी दिवस १९२३ मा मनाइएको थियो । विश्व सहकारी अभियानको सर्वोच्च निकाय,अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको करिब २८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।
अर्जेन्टिना, अष्ट्रिया, बेल्जियम, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, नेदरल्याण्डस्, भारत, इटाली, स्वीट्जरल्याण्ड, सर्बिया र अमेरिका गरी १३ मुलुकका सहकारीकर्मीहरुको बेलायतको लन्डनमा भएको भेलाले विश्व सहकारीहरुको साझा मञ्चको आवश्यकता महसूस गरी सन् १८९५ अगष्ट १९ मा आईसीए गठन गरेको थियो । उक्त भेला पहिलो सहकारी सम्मेलन (कोअपरेटिभ कंग्रेस) थियो ।
त्यस भेलाले आईसीएको उद्देश्य सहकारीसम्बन्धी सूचना तथा जानकारी आदानप्रदान गर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्तको व्याख्या र बहस पैरवी गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार विकास गर्ने तय गरेको थियो । खासमा त्यसबेला यो दिवसलाई ‘फस्र्ट कोअपरेटर्स डे’ का रुपमा मनाइएको थियो ।
बेलायतको म्यानचेष्टरबाट प्रकाशित पत्रिकाले यसबारे समाचार सम्प्रेषण गर्दै त्यसबेला विश्व सहकारी अभियानमा आवद्ध ४ करोड बढी जनसंख्यामध्ये बेलायत र आयरल्याण्डमा मात्रै ४० लाख ५० हजार जोडिएको जनाएको थियो ।
सन् १९९५ देखि आईसीए र संयुक्त राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक) ले संयुक्त रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् ।
आईसीए सदस्य रहेको संयुक्त राष्ट्र संघ अन्तर्गतको कोप्याकमार्फतको निरन्तको बहसपैरवीपछि राष्ट्र संघले सहकारीलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका रहेको भन्दै यसको अस्तित्व स्वीकारेको थियो ।
त्यसपछि राष्ट्र संघले आइसीए स्थापनाको १ सय वर्ष प्रवेशको अवसरमा सन् १९९५ लाई संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
राष्ट्र संघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाएपछि भने यसको चर्चाको घनत्व चुलिएको हो । यसैबीच, राष्ट्र संघले सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा मनाउने घोषणा गरिसेको छ ।
विश्वमा सहकारी सामर्थ
सामथ्र्यका हिसाबले संसारभर छरिएर रहेका ३० लाख सहकारीमा १ अर्ब जनसंख्या आबद्ध छन भने कुल रोजगारीमा यसको हिस्सा १० प्रतिशत रहेको छ । विश्वका ३ सय ठूला सहकारीहरुले वार्षिक २,४०९.४१ बिलियन अमेरिकी डलरको कारोबार गर्दछन् ।
विश्वको सबैभन्दा पूरानो र ठूलो व्यावसायिक तथा सामाजिक सञ्जाल भएको नाताले पनि सहकारी अभियानले दिगो विकासको लक्ष्यलाई सबैभन्दा पहिले अनुमोदन गरेको थियो र राष्ट्र संघले पनि सन् २०३० सम्मको लक्ष्य हासिल गर्ने सहयात्रीका रुपमा यो अभियानलाई लिएको छ ।
सहकारी क्षेत्रले समाजमा छरिएर रहेको पुँजी, प्रविधि र मानवशक्तिलाई एकीकृत गरी सदस्यहरुको आर्थिक उत्थानशिलता विकास गर्दै रोजगारीका अवसरहरुको सृजना गर्ने, गरिबी न्यूनीकरणका लागि सदस्य लक्षित तालिमबाट सीप र दक्षता अभिवृद्धि गरी स्वरोजगारीका कार्यक्रमहरु सञ्चालन गर्ने ।
त्यसैगरी बञ्चितीकरण र बहिष्करणमा परेका वर्ग, समुदाय, दलित श्रमिक लगायतका सीमान्कृत समुदाय लक्षित विशेष कार्यक्रममार्फत उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा टेवा पुग्ने खालका क्रियाकलापमा जोड दिदैं आएको छ ।
के का लागि अन्तर्राष्ट्रिय सहकारी दिवस ?
दिवसका लागि दिवस मनाउनु, औपचारिकतामा अटाउनु, उही पट्यारलाग्दो भाषणमा भुल्नु, रमाउनका लागि मनाउनु, अघाउनका लागि मनाउनु, फोटो खिच्नका लागि भीड जम्मा गर्नु, कार्यक्रम गरियो भन्नका लागि आयोजना गर्नु अर्थहीन भ्रम मात्र हो ।
यस्तो बेतुकको लिगलिगे दौड अनि त्यसको टेको लागेर हुने आत्मस्वार्थ मिश्रित रजगज र अप्राकृतिक राजनीतिक रुझानको फेरोमा मात्रै जब सहकारी अभियान अल्झिन्छ, तब सहकारीमार्फत अन्य मुलुकहरुमा सम्भव आर्थिक, सामाजिक र पर्यावरणीय सफलता हाम्रा लागि ‘आकाशको फल आँखा तरी मर‘ सरह हुन्छ ।
दिवस मनाउनु भनेको त्यसको स्वच्छता, स्निग्धता र सबलतालाई आत्मबोध गर्दै व्यवहारमा जीवन प्रदान गर्ने हो । कहिल्यै नअघाउने अनि कहिल्यै नथाक्ने भाषणप्रेमी अभियानकर्मीहरुले सीमापारका सहकारी अभियानकर्मीहरुको ‘थोरै बोल्ने तर परिणाममुखी काम गर्ने सामथ्र्य कहिले विकास गर्ने ? ‘दुई शब्द’ का भरमा कतिञ्जेल सहकारी अभियान थेगिइरहने ? विश्व, सहकारी अभियान गुदीमा बाँच्दछ, हामी बोक्रामा । हामीलाई अरुलाई देखाउन ठूलो बोक्राको लालसा छ । गुदी हाम्रा लागि फगत ‘मैले झार्न नसकेको रुखको आँप त अमिलो होला’ मात्र हो ।
नेपाली सहकारी अभियानले वर्षौंदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइरहँदा समेत तिनको गुह्य आत्मबोध गर्नबाट चुकिरहेको छ । नजानेर होइन बुझपचाएर हो ।
आधारभूत स्वरुपमा सहकारीले ‘समास’ को परिकल्पना गर्दछ, ‘विग्रह’ होइन । यसले वैचारिक विविधता सम्मान गर्छ, लोकतान्त्रिक अभ्यास गर्दछ र निर्णयमा सामूहिकताको व्यग्र खोज गर्दछ । दरिलो आन्तरिक सुशासन र स्वयंसेवी भावनाका माध्यमबाट समाजको पीधँमा परेको वर्गको बहुआयामिक विकास खोज्दछ ।
बहिष्करणमा परेको वर्ग सहकारीमा जबर्जस्ती अटाइएका मात्र होइन, सहकारीमार्फत नै सन्तोषको सुस्केरा हाल्न पाएको अनुभूति गर्न चाहन्छ ।
यो वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको आर्दश वाक्यको अन्तर्य पनि यही हो । यसका लागि अभियानका अगुवाहरुको सार्थक प्रयासको खाँचो छ अन्यथा यो दिवस पनि केवल दिवसमै सीमित रहनेभन्दा अन्यथा हुनै छैन । अन्तराष्ट्रिय सहकारी दिवसको शुभकामना ।
Leave a comment