हाइलाइट

जोर्डनमा सहकारी मन्त्रीस्तरिय सम्मेलन, नेपालमा अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भ सहकारीः मन्त्री अधिकारी

जोर्डनमा सहकारी मन्त्रीस्तरिय सम्मेलन, नेपालमा अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भ सहकारीः मन्त्री अधिकारी :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपालको सामाजिक र आर्थिक विकासका लागि सहकारी उपयुक्त माध्यम भएको बताएका छन् ।

जोर्डन कोअपरेटिभ फाउन्डेशन तथा कृषि मन्त्रालयको संयुक्त आयोजनामा जोर्डनमा भएको एशिया प्रशान्त क्षेत्रका सहकारी मन्त्रीहरुको ११औं सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले जनताको जीवनस्तर सुधारमा योगदान गरेका कारण सहकारीलाई समाजवाद उन्मुख अर्थव्यवस्थाको महत्वपूर्ण स्तम्भका रुपमा मान्यता प्राप्त भएको बताए ।

नेपालको सहकारी अभियानको चर्चा गर्दै मन्त्री अधिकारीले पछिल्लो समय विश्व अर्थतन्त्रमा आएको उतारचढावको प्रतिकुल असर नेपालको सहकारी क्षेत्रमा पनि परेको उल्लेख गरे ।

उनले सहकारी क्षेत्रमा सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय सुशासन तथा सदस्यको विश्वसनीयता चुनौतीका रुपमा देखिएको भन्दै समाधानका लागि संस्थागत सुधार, सदस्यहरुमा सहकारी शिक्षा तथा जागरण, आन्तरिक नियन्त्रण प्रणाली, नियमन क्षमता, प्रविधिकरणको आवश्यकतासँगै सरकार र अभियानबीच दरिलो सम्बन्ध र सहकार्य आवश्यक भएको बताए ।

उनले सम्मेलनले द्धिपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने भन्दै सहकारी र अभियानको सम्बन्धको आयाममाथि पुनर्विचार गरी नयाँ दिशा निर्दिष्ट गर्न सहयोग पुर्याउने बताए । सन् २००२ मा नेपालमा छैठौं सहकारी मन्त्रीस्तरीय सम्मेलन भएको थियो ।

सम्मेलनमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी समुन्थान सम्बन्धी नेपालको संविधानमा भएको व्यवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मन्त्रालयका सहकारी महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटा सहभागी छन् ।

सम्मेलन अप्रिल ३० सम्म चल्ने छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्को, महानिर्देशक एरोन डगलस, आईसीए एपीका अध्यक्ष डा.चन्द्रपल सिंह यादव, क्षेत्रीय निर्देशक बलु आयरसँगै ३० देशका सहकारी मन्त्री तथा अभियानकर्मीहरुको उपस्थिति छ ।



Leave a comment