हाइलाइट

सहकारी महासंघ की ! ‘एमाले क्लव’ 

सहकारी महासंघ की ! ‘एमाले क्लव’  :: Sahakari Akhabar

हकारी न जातको जन्तर हो, न त धर्मको धनुष नै हो । यो त मूल्य मान्यता, मर्म र कर्मको मन्दिर हो । सहकारी संगठन न दलको दलिन हो, न त दलालको दैलो नै हो । यो त दिन दुखेकाहरुका लागि मलहम हो ।

सहकारी माइतीको पेवा पनि हैन र ससुरालीले दिएको दाइजो पनि हैन । यो त मासिएर जाने मानालाई पाथी बाट पोथी हुँदै कयौं परिवार पाल्ने सिप सिकाउने संगठन हो । अनि मानामा भरेर मुरीको ब्याज असुल्नेलाई मास्ने मेसिन पनि हो ।

गरिबलाई हैन, गरिबीलाई नास्ने सात सिद्धान्तवाले कलरफूल इन्द्रेणी हो । गरिबको भारी बिसाउने भरोषाको केन्द्र हो, उद्यमीको उद्यम सिक्ने विद्यालय हो । परिश्रमिको पसिना मौलाउने मैदान हो सहकारी ।

सहकारीलाई दलले दाँई गर्ने, पार्टीमा नबिकेकालाई सहकारीमा टिकाउने संस्कृति मौलाउँदै जानाले सहकारीका बचतकर्ता बौलाउने बेला आएको छ । सहकारी महासंघमा भएको चरम राजनीतिले गरम बनाएको पार्टीका कार्यकर्तालाई सेलाउने ओखतीको खाँचो छ ।

इमानको मान राख्ने सहकारीको दाउमा बेइमानीको घाउको खाटा बसेको छ । सहकारीमा लागेको जखम भर्नकोलागि छद्मरुपी सहकारीकर्मीको ह्याउ नभएको अभियानले भेउ पाएको छैन् । सहकारी महासंघमा पार्टीका कार्यकर्ताको जत्था हुलेर बिजयको पगरी गुतेँ भन्ने भ्रममा पार्टीका नेताले बस्नु सहकारीकालागि घातक सावित भइसकेको छ ।

पार्टीको भातृ संगठन बनिसकेको सहकारी महासंघमा अन्त कही नअटाएका, सहकारीका सदस्यले रिजेक्ट गरेका, पदलोलुप्ता र सहकारीमा फेलर भएकालाई नै जिम्मेवारी दिनुले सदस्यको भावना र सहकारीको मर्ममाथि मुड्की बजारेको हो भन्न अनकनाइरहनु पर्दैन ।

आम सर्वसाधरणलाई जिउन सिकाउने कसी बनिसकेको सहकारी, दलको दलदलमा दबिएर दैव पनि देब्रे बनाइछोडेका छन् । पाहुना प्रतिनिधिका रुपमा भित्रिएका सहकारी नेताका संस्थाको अत्तोपत्तो नहुँदा पनि मौन बस्ने नियमकको नियमन पनि नियती नै बनेको छ ।

टुहुरो बनेको सहकारी अभियानलाई तर्पण दिने दुनो आफैतिर सोझ्याउने नीति बोकेकाले नैतिकताको कुरा पनि गर्न भ्याएका छन् । भिषण भाषणमा भिडेकाहरुलाई माला र खादाको खारले सहकारी समस्याको मर्की लाग्दा पनि चाल पाएका छैनन् ।

आशन र भाषणलाई उपलब्धी मानिदिनु पर्ने सहकारी नेतालाई सदस्यको बचत माथिको शासनले पिरोल्छ की ! नाई ।  दलको दलिन बनाएर सहकारीको दाई गर्नेहरु सहकारीका सदस्यको दुश्मन नै हुन नि हैन ? सहकारीको माउ निकायलाई पार्टीको क्ल्वमा परिवर्तन गरेर सहकारी पद्धतीलाई पिठ्यु फर्काउँदा लाज पनि लजाइसक्यो होला ।

सहकारीको समस्यालाई अनदेखा गरी क्लवमा पदको पर्खाइ नै प्राथमिकतामा छ । सहकारीका संचालकले ससुरालीको दाइजो झै ठानेर सदस्यको बचतलाई बाङ्गे खोल्सामा र बचतकर्तालाई बनबास पठाउन भ्याइसकेका छन् ।

सहकारीको पदलाई पेवा बनाएर आफू र आफन्तलाई ब्यवस्थापन गर्न भ्याएका छन् । सहकारी मर्मलाई सुलिमा सुताएर सिद्धान्तको पण्डित्याँइ गर्न भ्याएका छन् । अभियानलाई आशन र भाषण नियमनलाई राशन मूल नारा बनिसकेको छ । उत्पादनमा सहकारीका विषय अनुदान र उपदानमा बदलिसकेका छन् ।

शिक्षा रोजगारी जिडिपिमा योगदानका विषयले ठग र फटाहको ताज लगाइसक्यो । तर पनि सहकारी अभियन्तालाई चिम्टिभर चासो छैन् । सहकारीका संघ केन्द्रीय संघ र महासंघले पार्टीका भातृ संस्थाको उपनाम भिरेर हिडेका छन् सहकारीलाई आइसियूमा राखेर ।

सहकारीका समस्याको मूल जरो जकडिएको छ, उखेल्ने प्रयन भएको छैन । सहकारीको योगदानको जरामा सिंचाइ पुगेको छैन्, सुकेको छ । सदस्यको विश्वासको पातलाई हावाले हल्लाइरहँदा सहकारी अभियन्तालाई बालै फरर...।

सहकारीको साख जोगाउन सुख्खा बगरको बालुवामा बास बसाउने सोच हैन, साग बेचेर बचत गर्नेहरुकोमा जानु छ । नीतिलाई कागजको फाइलिङ गरी नेताकोमा जानुभन्दा नैतिकता र नियतलाई नियममा राखि विश्वासको सवारी गर्नु छ ।

सिद्धान्तलाई मूल कानुन, सदस्यलाई भगवान सहकारीलाइ भरोषा गरी भविश्य भाग्यलाई नछोडी कर्मको भर पर्ने दिन आएका छन् । महासंघ पार्टीको क्लव बनाएर पदको कुस्ती खेलाउने भन्दा, सहकारीको समस्या समाधानमा पौंठाजोरी खेल्न सक्ने माउ निकाय बन्ने शिक्षा मिलोस् । कि ! कसो ?



Leave a comment