हाइलाइट

संस्थाको उपसमितिलाई बचतसंघ भक्तपुरद्धारा तालिम

संस्थाको उपसमितिलाई बचतसंघ भक्तपुरद्धारा तालिम :: Sahakari Akhabar

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाका उपसमितिहरुलाई तालिम दिएको छ । संघको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ’उपसमितिका सदस्यहरूको क्षमता विकास तालिम’ सम्पन्न प्रदान गरेको हो । भक्तपुरको आदर्शस्थित क्लब बागमतीमा जेठ ३० गते आयोजित तालिममा ३८ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहकारी संस्थाहरूमा उपसमितिहरूको सक्रियता, भूमिका र उत्तरदायित्वबारे विस्तृत छलफल तथा प्रयोगात्मक सिकाई भएको थियो । तालिमको समापन समारोहमा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूलाई सक्रिय र सबल बनाउन उपसमितिहरू नै मुख्य रूपमा सक्रिय रहनुपर्ने बताए ।

उनले उपसमितिका सदस्यहरू सदैव नयाँ ज्ञान र सीप सिक्न जागरुक हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न अनुरोध गरे ।  सहकारी संस्थाहरूले आफ्नै आवश्यकता अनुभूति गरेर संघ स्थापना गरेको स्मरण गराउँदै अध्यक्ष बल्लले हालै जारी सहकारी अध्यादेशले संघलाई तीन वर्षभित्र कारोबार बन्दगरी बचतफिर्ता गर्न दिएको निर्देशन व्यावहारिक नभएको भन्दै यस व्यवस्थाले बजारमा बचत फिर्ताको चाप झन् बढेर सहकारीमा थप समस्या सिर्जना हुने देखिएकाले अध्यादेश तत्काल संशोधन हुनुपर्ने बताए ।

संघका सचिव एवं उपसमिति संयोजक कान्छा भक्त घजुले संस्थालाई सही दिशामा लैजान उपसमितिको ठूलो भूमिका हुने भन्दै संस्था र सदस्यहरूलाई सबल एवं जागरुक बनाउनुपर्ने बताए । तालिमका मुख्य प्रशिक्षक नेफ्स्कूनका विभागीय प्रमुख बल्लभ तिमिल्सिनाले संस्थालाई अनुशासित बनाउन र सही मार्ग देखाउन उपसमितिको मुख्य भूमिका रहने बताए ।

उनले तालिमका क्रममा उपसमितिको कार्यक्षेत्र र जिम्मेवारीबारे समूहगत रूपमा प्रयोगात्मक अभ्यास समेत गराएका थिए । संघका शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिका सदस्य बालमुकुन्द उपाध्यायले धन्यवाद व्यक्त गरेका थिए भने, उपसमिति सदस्य प्रकाश बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।



Leave a comment