बचत ऋण सहकारीलाई बुझ्ने, जोगाउने, साकोस अभियानलाई आत्मसात गर्ने साथीहरुको ऐक्यवद्धता भएको पिलरको खाँचो छ । त्यसका लागि सबैले काम गरेका छौं । यो कामको अन्तिम निश्कर्ष भनेको नेतृत्व हुन्छ । नेतृत्वमा हुँदा धेरै काम गर्न सकिन्छ भन्ने अनुभुती पनि गरेको छु ।
सहकारीको वर्तमान अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारी क्षेत्र पनि प्रभावित भएको हो । तर, यो समस्या सहकारीको आफ्नै भन्दा पनि बैंकको कारण निम्तीएको समस्या हो । जसले गर्दा सहकारीलाई समस्या भएको हो ।
अर्को पक्ष भनेको समस्या आउँदै छ भन्ने थाहा भएर पनि हामीले कर्जा प्रवाह गर्यौं । यसले गर्दा पनि पेनिक भयो । बैंक तथा वित्तीय संस्था अप्ठेरोमा पर्दा जोगाउन राष्ट्र बैंकसँग रहेको विभिन्न उपकरणमार्फत सहयोग गर्छ । तर, सहकारीमा ठूलो कारोबार भएपनि अहिलेसम्म त्यस्तो सिस्टम छैन ।
प्रारम्भिक संस्थालाई वित्तीय सेवा दिने सहकारी बैंक, नेफ्स्कूनलगायतले संस्थाहरु अप्ठेरोमा पर्दा जोगाउने स्थिती त देखिएन नि ?
सहकरीलाई अप्ठेरो अवस्थामा सहयोग गर्नका लागि सहकारी ऐन–२०७४ मा स्थिरीकरण कोषको व्यवस्था गरिएको हो । अहिले स्थिरीकरण कोष जहिले पनि आवश्यक हुने रहेछ भन्ने सबैलाई महसुस भएको छ ।
शहरी क्षेत्रमा संस्थाहरुलाई अलिबढी समस्या भएको देखिन्छ, यो अवस्थामा संस्थाहरुलाई संघले संरक्षण गर्न सकेन भन्ने गुनासो त छ नि ?
मागेजति बचतको पैसा दिन नसक्ने अवस्था होइन । संस्थाहरुले ऋण माग्नुभएको छ । नेफ्स्कूनले एक्सेस, प्रोबेसन र कब्र्समा आबद्ध भएका सहकारीलाई गुणस्तरीयताका आधारमा बिना धितो पनि कर्जा प्रवाह गरेका छौं ।
त्यस्तै खालको ऋण स्टक गर्नलाई माग्दा दिन सकिदैँन । अहिले लाखौं रुपैयाँ व्यवसायिक ऋण दिन सकिने स्थिति छैन । साँच्चै अप्ठेरो परेका संस्थाले मागेर नपाएको भन्ने छैन ।
केन्द्रीय संघले सरकारसँग वा दातृ निकायबाट सफ्ट लोन लिएर सहकारी संस्थालाई बचाउने तर्फ छलफल भएन ?
संस्थालाई बचाउनका लागि बाह्य ऋण लिनुपर्ने अवस्थामा हामी छैनौं । हाम्रो ढुकुटीमा पैसा छ । आन्तरिकरुपमा बलियो छौं । सिष्टममा जाँदाखेरी व्यवस्थापन हुन्छ ।
हामीसँग जोडिएका, हामीसँग रहेका सहकारीलाई व्यवस्थापन गर्न नीतिमा संशोधन गर्नुपर्छ । अहिले तत्कालै बाह्य ऋण, राज्यको पुँजी आउँछ भनेर सोचेका छैनौं । त्यो आवश्यकता पनि देखेको छैनौं ।
सहकारी ऐनमा ब्यवस्था गरिएको स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष किन कार्यान्वयन हुन सकेन ?
पछिल्लो समय विभागले कर्जा सूचना केन्द्रलगायतका ब्यवस्थाहरु कार्यान्वयनका लागि विभागले क्यालेन्डर बनाएर अघि बढेको छ भन्ने छ ।२०७४ को ऐन आएपछि साढे ३ वर्ष राज्यले सहकारीभित्र कुनै काम गरेन । ऐन कार्यान्वयन नहुँदा अभियान पीडित भएको छ ।
ऐन कार्यान्वयन गराउनुपर्ने तपाईहरुको पनि जिम्मेवारी हो नि ?
म महासंघको सञ्चालक भएको बेला र अहिले नेफ्स्कूनबाट ऐन कार्यान्वयन गर्न लबिङ गर्दै आएका छौं । ऐन कार्यान्वयन र छुट्टै बचत तथा ऋण ऐनका लागि सहकारी मन्त्रीज्यूहरुसँग लबिङ गरेका छौं । स्थिरीकरण कोष हामीले नै पहलकदमी लिएर कार्यान्वयन सुरु गरेका छौं ।
नेफ्स्कून केन्द्रीय संघ मात्र नभई पद्धति, सुशासनको ब्रान्ड हो । अहिले प्रोस्कुनमार्फत गुणस्तर मापन कार्यक्रम सुरुवात भएको छ । हामीले यहि काम गरिरहँदा सरकारी पक्षबाट सहयोग पाएनौं ।
स्थिरीकरण कोष, बचत ऋण कसले गर्ने, मुख्य कारोबारलगायतका विषयमा अभियानभित्रै फरक फरक धारणा छ । नेफ्स्कून र अरु संघको अन्तरविरोध किन ?
आजको महासंघको भूमिका के हो ? २० वटा केन्द्रीय संघहरु छन् । महासंघले मुख्य कारोबार के हो भन्ने विषयमा धारणा ल्याउनै सकेन । ऐन कार्यान्वयन सवालमा महासंघले भूमिका खेल्न सकेन । वित्तीय कारोबार नगरी सहकारीमा सदस्य बन्न सकिदैँन ।
महासंघ, नेफ्स्कून, बैंक समन्वय हुनुपर्नेमा अन्तरविरोध हुनुको कारण के हो त ?
हामी छलफल गर्दा कुनै अन्तरविरोध छैन । गतिविधि गर्दा अन्तरविरोध देखिएको हो ।
नेफ्स्कून अक्कुको स्कुलिङमा हिड्दा समस्या भएको आरोप छ त ?
अक्कुको स्कुलिङ छैन । गलत व्याख्या गरेर पृथक कुरा गरिएको छ । बरु कतिपयले त अक्कु र नेफ्स्कूनको हार्दिकता कम भयो भन्ने गरेको पनि सुनेको छु ।
कम भएका कारणले सम्बन्ध धमीलो भयो र बढी भयो भन्दैमा प्रगाढ भयो भनेर गलत व्याख्या गर्न पाइदैँन । हामी संस्थागत रुपमा सहकार्य गरिरहेका छौं ।
सहकारीको नेतृत्वमा व्यवसायीक भन्दा पनि राजनीतिक व्यक्तित्व आउँदा संघहरु व्यवसायिक हुन सकेनन्, संघमार्फत पार्टीको लबिङ बढि भयो भन्ने आरोप छ नि ?
सहकारी संस्था स्वतन्त्र हुनुपर्छ । राजनीतिक दलको सदस्य भएपनि सहकारीको भूमिकामा बस्दा त्यसको भूमिका निभाउनु हुँदैन भन्ने हो । अभियानलाई स्वच्छ बनाउन पदमा बस्दा अभियान छोड्नुपर्छ ।
संघको बैठकबाट पार्टीको बैठक छ भनेर हिँड्ने परम्परा छ । पार्टीले उठाउने निर्णय गर्यो भनिन्छ । पार्टीले उठाएपछि त्यसले पार्टीको हितमा काम गर्छन नै ।
पार्टी सिष्टममा सबै भइहाल्छ भन्न थालिएको छ । त्यसैले यो विषय गौण भइसक्यो । पार्टीको शक्तिशाली मान्छे सहकारीका शक्तिशाली पदमा बस्ने प्रवृत्ती बढ्दै गएको छ ।
राजनीतिक शक्ति आर्जनका लागि सहकारीको प्रयोग भएको हो ?
सहकारीको प्रभावले पार्टीलाई बलियो बनाउन सकिन्छ । जनतालाई आकर्षित गराएर निर्वाचन जित्न सकिन्छ भन्ने नेताहरुमा होला । महासंघले सहकारीका नेताहरु चुनाव लड्न पाइदैँन, अथवा चुनाव जितेका मानिसहरु बस्न पाइदैँन भनेर भन्न सक्नुपर्छ । यो खालको छलफल महासंघले गर्नुपर्छ ।
नेफ्स्कून बोर्डमा राजनीतिक आस्थाका आधारमा विभेद हुन्छ भन्न खोज्नुभएको हो ?
अध्यक्षले छडी चलाउनुभएको छ । सकेसम्म सुन्ने नभए जोगिने स्थितिमा म छु । म निर्णय गर्ने, निर्णय पूरा गर्ने ठाउँमा छैन । त्यसकारण मैले विभेद गरे भन्ने विषय रहदैँन । तर, मैले नेफ्स्कूनबाट आएका सबै विषयमा फिल्डमै पुगेर काम गरेको छु । क्रिटिकल समयमा पनि अग्रसर भएर काम गरेको छु ।
कतियय विषय चित्त नबुझे पनि विरोध गरेको छैन । कतिपय निर्णय बाहिरबाट आउँछ, मसँग कुनै उपाय नै हुँदैन । यो एकल निर्णय हो भन्ने गरिन्छ । राजनीति भनेको त्यही त होला नि । कसैलाई पठाउने, नियुक्त गर्ने होला । कसैलाई हायरिङ गर्ने, कसैलाई राख्ने कुरा होला ।
तपाई नेफ्स्कूनको भावी अध्यक्षका रुपमा आफुलाई प्रस्तुत गरिरहनुभएको छ । नेफ्स्कून र साकोसप्रतिको भिजन के हो ?
म नेफ्स्कूनमा लेखा समिति सदस्यबाट प्रवेश गरेको हो । अहिले वरिष्ठ उपाध्यक्ष छु । नेफ्स्कून बाहेक अरु वकालत गरिन । अध्यक्ष कैलाश दाइ हुँदा कालो चिया खाँदा पनि पैसा सेयरिङ गरेर तिथ्यौँ ।
तर, आजको नेफ्स्कून बलियो भएको छ । सदस्यको संख्या ५ हजार भइसक्यो । बिजनेसको ग्रोथ पनि भएको छ । तर पनि केही गर्नुपर्ने कुरा नपुगेको अनुभूति भएको छ ।
नेफस्कून एउटा सुशासन हो । साकोसका नाममा सिंगो अभियान एकीकृत भएको छ । गुणस्तरीयतातर्फ ८ सय संस्था आबद्ध भइसकेका छन्। अब बचत तथा ऋण सहकारीहरुलाई सहकारी ऐन २०७४ ले मात्र पुग्दैन। बचत तथा ऋण सहकारीलाई ब्यवस्थित गर्न छुट्टै बचत तथा ऋण ऐन ल्याउनुपर्छ ।
बचत ऋण सहकारीलाई बुझ्ने, जोगाउने, साकोस अभियानलाई आत्मसात गर्ने साथीहरुको ऐक्यवद्धता भएको पिलरको खाँचो छ । त्यसका लागि सबैले काम गरेका छौं । यो कामको अन्तिम निश्कर्ष भनेको नेतृत्व हुन्छ । नेतृत्वमा हुँदा धेरै काम गर्न सकिन्छ भन्ने अनुभुती पनि गरेको छु ।
Leave a comment