Sahakari Akhabar

प्रमुख कार्यकारी खोज्दै आईसीए 

प्रमुख कार्यकारी खोज्दै आईसीए  :: Sahakari Akhabar

काठमाडौं । विश्व सहकारीको शीर्ष निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ आईसीए प्रमुख कार्यकारीको खोजीमा रहेको छ । निवर्तमान प्रमुख कार्यकारी ब्रुनो रोलियन्ट्सले यसै वर्षको फेब्रुअरी २८ तारिखबाट आईसीएमा आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका थिए । त्यसयता आईसीएमा व्यवस्थापन प्रमुखकको पद रिक्त छ ।

ब्रुनोले सन् २०२३ मार्च १ गतेदेखि लागू हुने गरी आईसीएबाट बिदा लिए पनि उनले छोडेको ३ महिना बितिसक्दा समेत आईसीएले व्यवस्थापन प्रमुख पाएको छैन । आईसीएले केही महिनाअघि सार्वजनिक सूचनामार्फत प्रमुख कार्यकारी पदको विज्ञापन गरेको थियो ।

आवेदन दिने अन्तिम म्याद गत फेब्रुअरी ३ तारिखसम्म थियो । उक्त म्याद सकिएको पनि आज ठीक ३ महिना पूरा भएको छ । आईसीएले योग्य उम्मेदवार छनोटको लागि सिफारिशको जिम्मा मानव संशोधन नियुक्तिमा सहजीकरण गर्ने विज्ञ कम्पनी नर्मन ब्रोडबेन्टलाई दिएको थियो ।

दुई दशकभन्दा बढीको सहकारी अनुभवसहित ब्रुनो सन् २०१८ को जनवरी १८ बाट आईसीएको १६औं प्रमुख कार्यकारी (महानिर्देशक) मा नियुक्त भएका थिए । उनको व्यवस्थापकीय नेतृत्वमा आईसीएले सन् २०२० देखि सन् २०३० सम्मको दोस्रो दशवर्षे रणनीतिक योजना तर्जुमा गरी कार्यान्वय सुरु भएको थियो ।

आईसीएको गत मार्चमा सम्पन्न पछिल्लो सञ्चालक समितिको बैठकले नयाँ प्रमुख कार्यकारी नियुक्त नहुन्जेलसम्मका लागि अध्यक्ष एरियल ग्वार्कोलाई नै कायम मुकायम महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो। सन् १८९५ मा बेलायतमा स्थापना भएको आईसीएको मुख्यालय हाल युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा छ । आईसीएमा हाल १ सय ७ मुलुकका ३ सय १७ सहकारी संघ संस्था सदस्य छन् ।



Leave a comment