बाग्लुङ । बाग्लुङका बालानान्द कडेल ४५ सालअघि भारतको ग्वाटीमा दुध बेच्थे । घरघरमा पुगेर दुध बेच्दा उनले पैसा त कमाए तर, मनमा सन्तोष भने भएन । दुःख गरेपछि त नेपालमै पैसा कमाउन सकिन्छ, दुधै बेच्ने हो भने नेपालमै किन नबेच्ने ?यहि भावना सहित उनी आफ्नै देशमा पशुपालन गरेर दुध बेच्ने निधो लिएर नेपाल फर्कीए । बजारभन्दा करिव १० किलोमिटर टाढा उनको घर थियो । गाई–भैंसी पालेर दैनिक २० किलोमिटर आउजाउ गर्दै उनले बजारका घरघरमा दुध बेच्न थाले ।
डोकोमा क्यान बोकेर बजारमा दुध बेच्ने बालानन्दलाई एक्लाएक्लै बेच्नुभन्दा कुनै समुहबनाएर काम गर्न पाए सजिलो हुन्छ भन्ने लाग्यो । त्यसपछिदुध बेच्ने कृषहरु मिलेर २०५७ सालमा उनकै अध्यक्षतामा नमुना दुग्ध उत्पादक सहकारी स्थापना भयो । सहकारीले सदस्यले उत्पादन गरेको दुध संकलन गरी बजारमा बेच्न लान्थ्यो । त्यहि सिको गर्दै जिल्लामा विस्तारै अरु दुग्ध सहकारी पनि स्थापना हुन थाले । त्यसपछि ८ वटा सहकारी संस्था मिलेर जिल्ला दुग्ध सहकारी संघ स्थापना गरियो ।
सहकारी मार्फत संकलन भएको दुधको बजारीकरण गर्ने जिम्मा संघले लियो । तर, संघलाई कृषक सदस्यले उत्पादन गरेको दुध बेच्न धेरै चूनौतिको सामना गर्नुपर्यो । दुध नबिकेर राती राती नालीमा समेत खन्याउनु पर्यो । निजी कम्पनी र डेरी ब्यापारीले दुख पनि दिए, मुद्धा मामिलासम्म पनि खेप्नुपरेको संघका अध्यक्ष दिपक गौतम बताउँछन् ।
बिस्तारै सहकारीको उत्पादन पनि बढ्यो, मानिसहरुले सहकारीको उत्पादनलाई रुचाउन थाले, अहिले जिल्लामा उत्पादन भएको दुध सहकारी मार्फत संघमा आउँछ, संघले खुल्ला तथा आफ्नै ब्राण्डमा बजारमा बिक्री गर्छ । सँगसँगै दुधबाट छुर्पी, घ्यु, पनिरलगायतका उत्पादन गरी विदेशसम्म निर्यात गर्न थालेको छ ।
जिल्लाका १४ वटा दुग्ध सहकारी संस्था संघमा आवद्ध छन् । संघले १४ वटा सहकारीबाट २ हजार ५सयदेखि ३ हजार लिटरसम्मदुध संकलन गर्दछ । संस्था र कृषकहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले संघले २२ प्रतिशत मार्जिन राखेर काम गर्दै आएको छ । १४ संस्थामा करिब १५ सय कृषक आवद्ध छन् । त्यस मध्ये १२ सय कृषकले दैनिक रुपमा दुध उत्पादन गर्दै आएका छन् ।
बालानान्द संघका संचालक पनि हुन्, उनी आफु नमुना दुग्घ उत्पादक सहकारीका अध्यक्ष तथा जिल्लामा नमुनाका रुपमा स्थापना भएको बाग्लुङ पशुश्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष पनि हुन् । ७९ जना व्यक्तिको ४ करोड लगानीमा जिल्लामा पशु श्रोत केन्द्र स्थापना भएको हो । केन्द्रले पशु नश्लसुधार, गोबर मल उत्पादन, पशु उत्पादनको काम गर्छ।
केन्द्रको लगभग ५ सय रोपनी जग्गा पनि छ । केन्द्रमा अहिले ३५ वटा दुहुना गाई, १० वटा कोरली गाई २१ वटा बाच्छाबाच्छी र २ वटा बहर छन् । स्वदेशमै रोजगार स्थापना गर्ने सोचले पशु श्रोतकेन्द्रको स्थापना भएको हो । गाउँका युवाहरुमा विदेश मोहका कारण गोठमा काम गर्ने जनशक्तीको कमी छ ।
राज्यले कृषकको गुनासो पनि सुन्दैन, युवालाई स्वदेशमै रोक्ने योजना पनि राज्यसँग नभएको बालानन्दको अनुभव छ । श्रोत केन्द्रकै जग्गामा घाँस उत्पादन गर्ने र पशुपनि आफ्नै केन्द्रमा उत्पादन गरी यूवालाई रोजगार दिने योजना भएपनि राज्यको सहयोग नभएको हुँदा सहकारी एक्लैले काम गर्न गाह्रो भएको उनले बताए ।
स्थानीय निकायले सानो सानो मात्र सहयोग गरेपनि बृहत परियोजना संचालन गर्न पहुँच नपुगेकोले कुनै सहयोग लिननसकेको उनी बताउँछन् । सम्भावना प्रसस्त भएपनि सरकारको नीति कमजोर भएकोले आगामी पुस्ताका कृषकहरु पलायन हुन थालेको र कृषि तथा पशुपालनमा आकर्षण नभएको उनको भनाइ छ । गाई तथा बाच्छा बाच्छी ब्यवस्थापनमा कुनै समस्या नरहेको उनको भनाई छ । राज्यले बीमा, औषधी, तालिम, अनुदान तथा बजार ब्यवस्थापन गरे पशुपालनमा आकर्षण बढ्ने उनले बताए।
भिडियो सामाग्री :
Leave a comment