आसन्न सहकारी बैङ्कको चुनावले यतिखेर सहकारी बजारलाई गर्माएको छ । अझ त्यसमाथि पनि कोटाको सिट अनि उम्मेदवार दलको दलदलमा दबिए पछि अहिले तिनै दलका दाइ दिदीहरूलाई दलदलबाट दलिनमा निकाल्न हम्मे हम्मे परेको छ।
कसैलाई कोटामा परेर नयाँ कोट सिलाउन भ्याइनभ्याइ त कसैलाई तिनै दलले दमाह बजाए जस्तै बजाएपछि बैङ्कको कोटामा नपरिएला भन्ने चिन्ताले सिलाएको कोटमा उम्मेदवारको चिन्ह राखेर सामाजिक सञ्जालको भित्तो छेडिने गरी उम्मेदवारीको घोषणा गर्न बाध्य बनाएको छ ।
कोही दलको दैलोबाट नछिरिने भएपछि पोइला गएरै भए पनि बैङ्कको सञ्चालकको दैलो उघारेका छन् भने कसैले पोइला जाने तयारीसमेत गरेको छन् । जे होस् ‘एनीहाउ बैङ्कको सञ्चालक बनाऊ’ को अभियानमा दलसङै बेदलको रस्साकस्सी चलिनै रहेको छ ।
अध्यक्ष सहित अधिकांश सञ्चालकहरूले बैङ्कको ‘खुल्जा सिमसिम’ को ढोका खोलिसकेका छन् । केही सञ्चालकको लागि पुस १६ गते अग्नि परीक्षाको मिति तय भएको छ । दलको दैलो नटेकेकाले दैव दाहिनाको भाकल गरेका छन् भने दलको दलिनमा दाहिना हात गरेकालाई पनि दिन दुई गुणा लाग्न थालेको छ ।
दलको दया पाएकाले सञ्चालकमा दोहोराउने अवसर पाएका छन् भने, दलको देब्रे परेकाहरूले अटेर गरेरै नाम दर्ता गराएका छन् । केही समय अघि यसै सहकारी बैङ्कबाट उछिट्यिर अर्को सहकारी बैङ्क दर्ता गराउन दलको दलिन धाएकाहरूले पनि फेरी दलकै सहमतिमा भन्दै यसैमा उम्मेदवारी दर्ता गराएका छन् ।
कोही प्यानलमा पसेका छन्, कोही प्यानलमा फसेका छन् । जे होस् पसेका र फसेका दुवैलाई ‘एनिहाउ सञ्चालक बनाऊ’ । सहकारीको सहारामा दलको रैंदलो सहकारी बैङ्कमै देखिएको छ । दलको दम्भ अनुसार सिटको संख्या निर्धारण भएको छ ।
कसैले २ सिट पाएका छन्, कसैले २ सिट गुमाएका छन् । पाउने पनि बेखुसी छन् नपाएका पनि बेखुसी छन् । सहकारीमा दलको दम्भ किन प्रश्न गर्न मन लागेर उत्पात भए पनि उत्तर नआउने भएपछि प्रश्न कालागि दिन दुखी बनाउनु हुन्न । दैनिक दामको कारोबार हुने बैङ्कमा दामकै लागि दलको धपेडी त पक्कै हैन होला ।
अनि रमिता र रमाइलो कोलागि पनि त हैन होला सहकारी बैङ्क । सहकारी बैङ्क १४ हजार सहकारीको भरोसाको केन्द्र हो, दलको दाइ गर्ने दलिन हैन । न त सहकारी बैङ्क इगो साटेर बिगो तिर्ने बाचा नै हो । यो त सहकारी अभियानको एउटा उदाहरण हो, जसलाई नमुना संस्था बनाउन दलहरूको दया चाहिन्छ । त्याग र बलिदान गर्न सक्ने सक्षम र सबलको साथ चाहिन्छ ।
आम सर्वसाधारणको भविष्यको सपनासङ जोडिएको यो संस्था दलको गन्धले गनाउने बनाउनु हुन्न । तपाई सहकारी अभियन्ता हो, दलको दुस्मन पनि हैन, दलको दाहिना पनि हैन, । अनि सहकारी दलको दाता पनि हुनुहुन्न । चुनाव सहकारीको हो, दलको हैन, दलदलका बिच दुस्मनी बनाउने दाइ दिदीहरूलाई लेसन दिने खाले चुनावको छवि यो बैङ्कले १६ गते दिने प्रतिबद्धता गर्नुपर्छ ।
यो हिम्मत सहकारीमा हुनुपर्छ ताकी आगामी दिनमा सहकारीका निर्वाचनमा दलका दाइ दिदीहरूले दाइ गर्ने, सहकारी अभियन्ताहरूलाई दलका दलाल बनाउने, पोइला गएरै भए पनि दामासाहीमा पर्ने जस्ता दुनियाँ हसाउने र दम्भ साध्ने कार्य गर्नु नपरोस् ।
उ बास्तवमै सहकारी अभियन्ता भएर सहकारीमा आउन पाओस् र सहकारी हित कोलागि काम गर्ने आट गरोस् । चुनाव बास्तवमै सहकारी मय भएर सहकारी अभियन्ता चुन्ने अवसर पाओस् । न की ! दलका दाइ र दिदी चुनेर पछुताउनु परोस् । दलको अशिर्वाद बिनै सहकारी अभियन्ताका दैव दाहिना बनुन् । कि कसो ?
Leave a comment