हाइलाइट

सहकारीका कारण फेरिएको जुम्ली महिलाको जीवनशैली 

सहकारीका कारण फेरिएको जुम्ली महिलाको जीवनशैली  :: Sahakari Akhabar

काठमाडौं ।जुम्लाको हिमा गाउँपालिका–१ दियारगाउँकी नन्ददेवी अधिकारी चार वर्षअघिसम्म घरायसी मेलापातमा मात्र सिमिति थिइन् । सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेपछि भने यतिबेला उनी गाउँकै नमुना उद्यमीबनेकी छन् ।

दियारगाउँकी उर्मिला अधिकारी केहि समयअघिसम्म घरबाहिर निस्केर बोल्नसमेत लजाउँथिन् । अहिले उनी घरबाहिर निस्केर सार्वजनिक सरोकारका विषयहरुमा निर्धक्क बोल्न सक्छिन् । सहकारीमा लागेपछि आफुमा आएको आर्थिक तथा सामाजिक परिवर्तन देखेर उनी आफै दंग छिन् ।

हिमाकै अर्की महिला कृष्णकुमारी रोकायाको जीवन पनि सहकारीमा लागेपछि निक्कै परिवर्तन भएको छ । सहकारीमा आवद्ध भएपछि बचत गर्न सिकेकी उनी यसैबाट आत्मनिर्भर बनेकी छिन् । यो सफलतानन्ददेवी, उर्मिला र कृष्णकुमारीमा मात्र सिमिति छैन ।

एउटा सहकारी संस्थाको कारण सिंगो गाउँकै महिलाहरुको आर्थिक तथा सामाजिक अवस्था फेरिएको छ । प्लान नेपाल र क्याडको साझेदारीमा संचालित (बाल छिटो तथा जबर्रजस्ती विवाह न्यूनीकरण परियोजना) ले हिमा–१ स्थित दियारगाउँको हिमालचुली सहकारी संस्थालाई ३५ लाख रुपैयाँ सहयोग गरेपछि यतिबेला हिमाका १३२ जना दलित, विपन्न महिलाहरु व्यवसायतिर उन्मुख भएका छन् ।

गाउँँमा केहि वर्षअघिसम्म महिलाहरु घरभित्रको काममा मात्र सिमित थिए । बाहिर निस्केर बोल्न समेत सक्दैनथे । महिलालाई कसैले ऋण पत्याउँदैनथे । महिलाले कहाँबाट कमाउँछ ? पछि तिर्न सक्दैनन् होला भन्ने मानसिकताले महिलालाई आर्थिक कारोबार गर्न कठिन थियो ।

अहिले बैठक÷भेलामा महिलाहरू खुलेर बोल्न सक्ने, आफ्ना कुरा निर्धक्क राख्न सक्नेमात्र भएका छैनन्, आर्थिक रूपमा पनि पुरुषभन्दा सक्षम भएका छन् । सरकारी तथा गैसरकारी निकायको क्षमता विकास कार्यक्रम, महिला सशक्तीकरणका नीति र सहकारीका जनचेतनाले महिलाको जीवनशैली फेरिन थालेको हो ।

‘अहिले मेरो श्रीमान्भन्दा मलाई ऋण पत्याउँछन् । बैंकहरु पुरुषभन्दा महिलाको विश्वास बढी गर्छन् । गाउँमा हुने विकास निर्माणदेखि आर्थिक उपार्जनका क्षेत्रमा पुरुष सरह महिलाको समान सहभागिता खोज्न थालेका छौं’ दियारगाउँकी नन्ददेवी अधिकारीले आफ्नो अनुभव सुनाइन् ।

सहकारीको सहयोगमा महिलाहरुले बाख्रा पालन, कुखुरा पालन, तरकारीखेती, खुद्रा व्यापारलगायतका व्यवसायमा सक्रिय भएका छन् । जसबाट घरको सामान्य नुन तेलदेखि लत्ताकपडा किन्नसमेत पुरुषकै मुख ताक्नु पर्ने बाध्यता अन्त्य भएको उनीहरु बताउँछन् ।

हिमालचुली सहकारी संस्थामा ५३० जना महिला सदस्य रहेका छन् । उनीहरुलाई संस्थाले जीवनशैली परिवर्तन, क्षमता विकास, व्यवसायमा अग्रसर गराउन विभिन्न क्षमता विकासका तालिम अभिमुखीकरण गराउँदै संस्थाका फिल्ड अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।



Leave a comment