हाइलाइट

घरसँगै सहकारीको व्यवस्थापनमा अब्बल सन्जु

घरसँगै सहकारीको व्यवस्थापनमा अब्बल सन्जु :: Sahakari Akhabar

चीना थापा, विराटनर  ।  अधिकांश महिलाहरुको विवाहपछिको जीवन घरभित्रको काममा मात्र सिमित हुन्छ । घरायसी काम महिलाको मात्र जिम्मेवारी हो भन्ने पितृसतात्मक सोचका कारण क्षमता भएकाहरु पनि घरभित्रै सिमित हुन्छन् । तर, यो परम्परागत सोचलाई बदल्दै जो महिला घर सम्हाल्दै बाहिर निस्कने आट गर्छन् र तिनै बाहिरी दुनियाँमा पनि सफल बन्छन् । 

यस्तै सफल र उदाहरणीय महिलामा पर्छिन् विराटनगरकी सञ्जु राई । विवाहपछि घरभित्रको काममा मात्र सिमित भएकी उनले विस्तार यो परिधि नाघेर बाहिरी संसारमा निस्कने आट गरिन् । घरपरिवारको रेखदेख तथा व्यवहारमा उनले जति समय लगाइन्, त्यसैगरी बाहिरी दुनियाँमा पनि नेतृत्वकर्ताको रुपमा उभ्याउन प्रयास गरिन् । जसका कारण घरपरिवार व्यवस्थापन गर्दा सिकेको सिपले नै उनी सहकारीको सफल व्यवस्थापकको पहिचान स्थापित गर्न सफल बनेकी छिन् । उनकै नेतृत्वका कारण निश्कृय अवस्थामा रहेको सौर्य बचत तथा ऋण सहकारी संस्था छोटो अवधिमै उत्कृष्ट बन्न सफल भएको छ ।

परिवार र कार्यालयलाई एउटै लयमा लिएर हिँड्न त्यति सहज नभए पनि सहजताका साथ अगाडी बढ्नु नै जीवनको सिकाइ रहेको राई बताउछिन् । घरबाट निस्केर पाइला अगाडी बढाएपछि धेरै कुरा अनुभवले पनि सिकिने उनको अनुभव छ । सहकारी संस्थामा आवद्ध हुनु अगाडीसम्म उनलाई सहकारी के हो ? यसलाई कसरी नेतृत्व गर्ने ? भन्ने ज्ञान समेत थिएन् । तर, समय र अनुभवले परिपक्व बनाउँदै लगेको उनी वताउछिन् । ‘संस्थामा जोडिदा सहकारी नै बुझेकी थिइन, सुरु–सुरुमा धेरै गाह्रो भयो’ उनी भन्छिन्, ‘सबैभन्दा ठूलो कुरा भोगाइ रहेछ, जब मैदानमा उत्रिए त्यसैले सिकायो कति कुराहरु जसका कारण आज परिपक्व नेतृत्वकर्ता भएकी छु ।’

‘म आउनु भन्दा अगाडी संस्था जसोतसो चलिरहेको थियो तर, अहिले सबै सिस्टम परिवर्तन गर्दिएकी छुँ, व्यवस्थापनको पाटोलाई नेतृत्वले औँला नउठाउने ढंगले संचालन गर्नुपर्छ, म त्यसैको प्रयासमा छु ।’

सुरुवाती चरणमा राईलाई निश्कृय अवस्थामा रहेको संस्थालाई संचालन गरी कसरी नाफामा पुर्र्याउने भन्ने चुनौतीले नघेरेको पनि होइन । दुई वर्षसम्म लकडाउनको सामना गर्दै आएको संस्थालाई कसरी चलायमान गराउने भन्ने चुनौतीसँगै सिस्टम विना नै चलेको संस्थालाई व्यवस्थित गर्न पनि धेरै सकस भएको उनी बताउछिन् । ‘म नेतृत्व गर्न सक्छु भनेर मात्रै हुँदैन रहेछ । एउटा संस्था र त्यहाँका कर्मचारीलाई कसरी कामप्रति आकर्षित गर्ने भन्ने कुरा चाहीँ नेतृत्वमा रहेको व्यक्तिमा निर्भर हुदोरहेछ,’ उनी भन्छिन्, ‘म आउनु भन्दा अगाडी संस्था जसोतसो चलिरहेको थियो तर, अहिले सबै सिस्टम परिवर्तन गर्दिएकी छुँ, व्यवस्थापनको पाटोलाई नेतृत्वले औँला नउठाउने ढंगले संचालन गर्नुपर्छ, म त्यसैको प्रयासमा छु ।’

एक हजार २ सय ७६ जना सेयर सदस्य रहेको सहकारीले दैनिक करिब २ लाख वचत गर्ने गरेको छ । लकडाउनदेखि आजसम्म संस्थाबाट वितृष्णा भएर वचत गर्नेको संख्या नघटेको राईले बताइन् । एउटा सहकारीलाई विश्वासको ठाउँ बनाउन वचतलाई संस्थाको भन्दा पनि सदस्यको पसिनाको कमाइ हो भन्ने धारणा राखेर काम गर्नुपर्ने उनी बताउँछिन् । सदस्यहरुको बचत समयमा नै फिर्ता गर्न सके संस्थाप्रतिको भरोसा नटुट्ने उनको बुझाई छ ।

यसका लागि आफैँले फराकिलो सोच र साहसिक निर्णय लिन सक्नुपर्ने सञ्जुको सिकाई छ । ‘व्यक्तिगत रुपमा आफूले सोचेर मात्रै पुग्दैन, सोचले परिवर्तन आउँदैन,’ उनले आफ्नो जीवनको भोगाईलाई नेतृत्वमा बदलेपछि आएको सार सुनाइन्, ‘परिवर्तन ल्याउनलाई चौघेराबाट निस्केर केही काम गरेर प्रमाणित गर्नुपर्छ । मैले सहकारीको व्यवस्थापनलाई चुनौति सम्झेर नेतृत्व गरे । यो मेरा लागि उपलब्धी हो । सबै महिलाले आ–आफ्नो ठाउँबाट नेतृत्व गर्ने हो भने असम्भव केही छैन ।’

राईको सफलतामा पुरुषहरुको साथ सहयोग पनि उत्तिकै छ । पुरुषलाई अलग राख्नु, उनीहरुसँग सल्लाह नगर्नु समस्याको समाधान नभएको पनि उनको बुझाई छ । एकले अर्कोलाई कमजोर सम्झेर विभेद गर्नेभन्दा पनि एक अर्कोको बलियो साथलाई बोकेर हिड्दा सफलतामा पुगिने उनी बताउँछिन् । ‘मेरो जीवनको सफलता मेरो बलियो शक्ति हो, कमजोरी देखाएर, कोट्याएर कोही कँही पुग्दैन’, उनले भनिन्, ‘पुरुषको बलियो साथलाई सँगै लिएर अगाडि बढ्दा सबै कुराको व्यवस्थापन गरेर अगाडि बढ्न सकिन्छ । हामी यसैमा केन्द्रित हुनुपर्छ । कसैको खुट्टा तानेर कसैलाई सफलता मिल्दैन ।’



Leave a comment