नेपालको संविधानले अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ मानेको क्षेत्र सहकारी । पौने पाँच खर्ब बचत परिचालन र ७३ लाख जनता आबद्ध भएको क्षेत्र सहकारी । साढे ४ खर्ब ऋण परिचालन गरेको क्षेत्र सहकारी। तीस हजारको सङ्ख्यामा ७७ वटै जिल्लामा फैलिएको संस्थाबाट ८८ हजारले प्रत्यक्ष रोजगारी पाएको क्षेत्र सहकारी, के बदमास हुन सक्छ र ?
तपाई हामीलाई आपत् पर्दा गर्जो टार्ने अनि बचतको बानी बसाल्ने छवि बनाएको सहकारी, सुत्केरीको माइती र नानीको न्वारनको साइत जुराउने सहकारी बदमास हुन सक्छ र ? राहतको पोका घरघरमा पुर्याउने अनि जन्मदिन सम्झाइदिने पनि सहकारी ? बदमास कसरी हुन सक्छ र !
हिजो बचतमा तपाइले खोजेको ब्याज अनि रोजेको कर्जा घरमै ल्याइदिने सहकारी, नानी बाबुको शिक्षामा लगानी गरिदिने, साहु महाजनको पन्जाबाट फुकाईदिने सहकारी कसरी बदमास हुनसक्छ र ! आफूले खोजेको अनि आफैले रोजेको संस्थामा आफै मालिक हुन पाउने सहकारी, हक अधिकार अनि कर्तव्यको बराबरी हिस्सा बोकेको सहकारी बदमास हुन सक्छ र ?
आफ्नो लागि आफै निर्णय गर्ने अधिकार रहेको, समूह र समाजकालागि मरिहत्ते गर्ने संस्था सहकारी बदमास हुन सक्छ र ? ४४ प्रतिशत महिलालाई चुलोबाट चौघेरामा ल्याउने, स्वरोजगार र आत्मनिर्भरको वकालत गर्ने सहकारी साँच्चै बदमास हुन सक्छ र !
गर्भदेखि स्वर्गसम्ममा पनि सदस्यकै चासो गर्ने सहकारीले बदमासीको ट्याग भिरिरहनु पर्छ र ? कुरीति र कुसंस्कारलाई निमिट्यान्न बनाउन, संस्कृति जर्गेनाको पाइला चालेको सहकारी बदमास हुन सक्ला र ? कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतमा लगानी गरेको सहकारी, वित्तीय सेवाको निर्विकल्प बनेको सहकारी बदमास हुन सक्छ र ?
सदस्यको आर्थिक उपार्जनमा सहयोगी अनि समाजको कुलोमा सँगै बग्ने करेसोमा सँगै उम्रिने अनि ओछ्यानदेखि रछानसम्म सँगै हुने सहकारी बदमास हुन सक्छ र ? सिला टिपेर बाला झुलाउन सिकाउने, मर्दाको मलामी र पर्दाको जन्ती जस्तै छिमेकी भावनको सहकारी बदमास हुन सक्ला र ?
नुन खान सहकारीले लगाएको गुनमाथि सदस्यले घुन लगाउने बैगुनी काम नगरे विपतको भरोसा बन्ने सहकारी बदमास हुन सक्छ र ? सहकारीको मर्मलाइ मारेर बढी ब्याजलाई मात्र महत्त्व दिने, सदस्यको पैसालाई मास्न मरिहत्ते गर्नेहरू पो बदमास हैनन् र ! सहकारी कसरी बदमास हुन सक्छ ?
सहकारी ब्याजको भण्डार, राजनीतिको ओडार, लुटको धन फुपूको श्राद्ध सम्झने हुडारहरुको बथानहरू पो बदमास हुन त ! इमानदारीताका साथ कर्म गर्ने र मर्म बुझ्ने हरुकोलागि आस्थाको केन्द्र भरोसाको बिन्दु हैन र सहकारी । कसरी हुनसक्छ बदमास ।
मर्म अनुसार नगर्नु नै बदमासी हो र नगर्ने बदमास हो । कर्तव्य पुरा नगर्ने सदस्य बदमास हो । जिम्मेवारी पुरा नगर्ने सञ्चालक बदमास हो, सहकारी बदमास कसरी हुन सक्छ र ! कानुन कार्यान्वयन नगराउने नियामक बदमास हो । अनि कानुन पालना नगर्ने पालक बदमास हो, सहकारी कसरी बदमास हुनसक्छ ।
सहकारी बुझ्न नखोज्ने सदस्य र बुझाउन नचाहने सरोकारवाला बदमास हो । सहकारीको नाममा सदस्यको वनवास गराउने संचालक र सहकारी सम्पत्ति चिट्ठा परेको सम्झने सदस्य बदमास हो । पौरख गर्ने उद्यमी सदस्य र सहकारीको कर्जा अपचलन नगर्ने जाँगरिलो सदस्यको लागि सहकारी कसरी बदमास हुन सक्छ ।
सचेत सदस्यले संस्थाको समस्यामा साथ दिने र हरदम निगरानी गर्ने सदस्यको लागि सहकारी कसरी बदमास ? मोल मोलाइको भाउमा ब्याज मात्र खाने दाउका सदस्य अनि सहजीकरण र अभिभावकत्वको जिम्मेवारी लिएका जिम्मेवारी विमुख सहकारीका माउहरू पो बदमास ! सहकारी कसरी बदमास र ! कि कसो त ! जय सहकारी
Leave a comment