चीना थापा / विराटनगर । मोरङको ग्रामथान–२ झोराहाट, १० बर्ष अघिसम्म पातलो बस्ती थियो । गरिव र विपन्न परिवारको बसोबास रहेको गाउँका सर्वसाधारणलाई बैंकको काम गर्नका लागि भने विराटनगर नै आउनुपर्ने बाध्यता थियो ।
बैदेशिक रोजगारीमा गएका आफन्तले पठाएको पैसा लिन जोखिम मोलेर उनीहरु विराटनगर आउने गरेका थिए । तर, गाडी नचल्ने बाटोमा साईकलमा आएर बैंकबाट पैसा झिकेर घर फर्किदा कत्तिको त बाटोमै लुटिन्थ्यो ।
यहि समस्यालाई मध्यनजर गर्दै बैंकमा काम गर्ने आफन्तको सल्लाहमा स्थानीय चार जना युवा मिलेर दिया मनि ट्रान्सफर खोले । जसको कारोबार हेर्ने जिम्मेवारी थियो उमा घिमिरे र दिक्षा आचार्यलाई ।
एकातिर पातलो बस्ती र घना जंगलका कारण चोरको विगविगी, अर्कोतर्फ गरिव किसानको कच्ची घर । उनीहरुलाई पैसा जोगाउन नै समस्या थियो । त्यसपछि रेमिट्यान्सको पैसा पनि घिमिरे र आचार्यलाई नै राख्दिनु भन्थे । आफुलाई काम परेको बेला लैजाने भन्दै पैसा छाडेर जानेहरुको संख्या दिन दिनै बढ्न थाल्यो ।
जसका कारण लाखौं रकम उनीहरुले खल्तीमै राख्नुपर्ने बाध्यता आयो । त्यही समस्यालाई समाधान गर्ने सुरु गरिएको रेमिट बचत तथा ऋण हाल ग्रामथान गाउँपालिकै उत्कृष्ट र नमुना सहकारी बन्न सफल भएको छ ।
२५ जना महिलाहरुको सहभागितामा २०६९ सालमा सहकारी दर्ता गरी संचालनमा आएपछि घरमा पैसा राख्न नसक्नेहरुले सहकारीमा खाता खोलेर राख्न थाले । तर, सहकारीसँग कर्मचारी राख्ने क्षमता थिएन ।
नियमित रुपमा अध्यक्ष र सचिवले सहकारीको कार्यालय, हिसाव किताव समाल्न थाले । त्यसपछि उनीहरुलाई झन समस्या आयो । दुई जना मात्रले काम गर्न नभ्याउने, त्यसमाथि कतिपयले अब दुई ओटी आईमाईले पैसा कुम्ल्याएर हिड्छन् भन्ने जस्ता शंकालु कुरा ।
यस्ता टिप्पणी पर्वाह नगरी उनीहरुले कर्मलाई अगाडि बढाईरहे । त्यसैको फलस्वरुप सहकारीले गाउँपालिका कै उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
संस्थालाई सफल बनाउन शेयर सदस्यको सहयोग चाहिने सहकारीकी अध्यक्ष उमा घिमिरे बताउछिन् । ‘हाम्रो सहकारी समुदायमा आधारित छ, हाम्रो बाहिरका मानिस छैनन्’, उनले भनिन्, ‘सहकारीलाई समस्या छ भन्दा सदस्यले बुझिदिनुहुन्छ, त्यतिवेला धेरै प्रतिस्पर्धा पनि थिएन । त्यहि भएर पनि हामी सफल भयौं ।’
अहिले सहकारीहरुबीच नै अस्वस्थ प्रतिस्पर्धा बढेको घिमिरेको बुझाई छ । ‘हामी हाम्रा सबै छाता संघमा आवद्ध भएका छौं’, सहकारीको नीति नियम अनुसार नै चलेका कारण आजसम्म समस्या देखिएको छैन । पहिलाको दुःख सम्झिदा अब मजवुद भयौं, जस्तो समस्या नि हल गछौं जस्तो आँट आउँछ’ उनले भनिन् ।
सुरुमा सबैको पैसा खल्तीमा राख्दा आफैलाई समस्या आउने होकी भन्ने डर भएका कारण सहकारी सुरु भएको सचिव दिक्षा आचार्यको अनुभव छ । ‘हिसाव किताब बुझाउनु पर्ने लाखौं पैसा गोजीमा राख्दा लुटिने हो की भन्ने डर हुन्थ्यो’, उनले भनिन्, ‘अफिसमा काम गरिसकेपछि घर पुगेपछि अकै कुरा पुग्यो, फलानो लुटियो भन्ने जस्ता कुरा सुनिन्थ्यो ।
दुई जना मात्रले काम गर्न नभ्याउने, त्यसमाथि कतिपयले अब दुई ओटी आईमाईले पैसा कुम्ल्याएर हिड्छन् भन्ने जस्ता शंकालु कुरा । यस्ता टिप्पणी पर्वाह नगरी उनीहरुले कर्मलाई अगाडि बढाईरहे । त्यसैको फलस्वरुप सहकारीले गाउँपालिका कै उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ ।
सहकारी स्थापनासँगै सुरुमा धेरै दुःख भएपनि अहिले सवल संस्था बन्न सफल भएको आचार्यले बताइन् । ‘व्यवस्थापक सहित कर्मचारी बढाएको ५ बर्ष मात्र भएको छ, त्यो भन्दा अगाडि हामी आफ् खट्थ्यौं’ उनले भनिन्, ‘अहिले संस्थाको कारोबारलाई प्रविधिमैत्री बनाउने कोशिस गरिरहेका छौं ।’
सहकारीको हाल शेयर पुँजी ३ करोड ३५ लाख रुपैयाँ र बचत १४ करोड रहेको छ । विभिन्न कोषमा मात्र १ करोड भन्दा बढी रकम रहेको र १७ करोड ११ लाख रुपैया ऋण लगानी गरेको छ । सहकारीको अहिलेसम्म बाह्य ऋण नलिएको जनाएको छ ।
नेफ्स्कुन, जिल्ला संघ र जिल्ला बचत संघमा पनि आवद्ध रहेको संस्थालाई विगत ४ बर्षदेखि व्यवस्थापकका रुपमा रमेश पौडलेले हेर्दै आएका छन् ।
सहकारीको नियम कानुन र संस्थाको विनियममा उल्लेख भएअनुसारको काम कर्तव्य निर्वाह गर्ने हो भने सहकारीलाई सफलता उन्मुख बनाउन सकिने उनको अनुभव छ ।
सहकारी पूर्ण रुपमा समुदायमा आधारित भएका कारण सदस्यको चाहना अनुसार नै काम गरिरहेको र अहिलेसम्म सहकारीमा कुनै समस्या नआएको उनले बताए ।
सहकारीमा हाल १ हजार ९ सय ८८ जना शेयर सदस्य छन् । जसमध्ये महिला १ हजार १७५ जना र पुरुष ८१३ जना रहेको संस्थाले जनाएको छ ।
Leave a comment