अक्कुमा नेफ्स्कून बैकल्पिक संचालक

अक्कुमा नेफ्स्कून बैकल्पिक संचालक :: Sahakari Akhabar

काठमाडौं । एसियाली ऋण महासंघ (अक्कु) मा नेपालको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बैकल्पिक संचालकमा परेको छ । थाइल्याण्डको राजधानी बैंककमा बुधबार भएको साधारणसभामा नेपालको तर्फबाट नेफ्सकूनका अध्यक्ष परितोष पौड्यालले उम्मेदवारी दिएका थिए । तर, उनी निर्वाचनमा पराजित भई बैकल्पिक संचालकमा परेका हुन् । 

अक्कुको प्रावधान अनुसार उम्मेदवारी दिएकामध्येबाट सबैभन्दा कम भोट ल्याउने दुई जना बैकल्पिक संचालकको रुपमा छनोट हुने ब्यवस्था छ । तर, नेपाल र बंगलादेशको बराबर भोट भएपछि पुनः भएको निर्वाचनमा नेपाल एक नम्बर र बंगलादेश २ नम्बरको बैकल्पिकमा परेको हो । 

कार्यकाल समाप्त अगावै कुनै संचालकहरुले छोडेमा मात्र वैकल्पिक संचालकले काम गर्न पाउने ब्यवस्था छ । अक्कुको संचालकका लागि यसपटक नेपालबाट नेफ्स्कून अध्यक्ष पौड्यालसँगै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको समेत उम्मेदवारी परेको थियो ।

एउटा देशबाट २ वटा उम्मेदवारी दिन नपाउने ब्यवस्था भएकाले उप्रेतीले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘यसअघि नेपालबाट नेफ्स्कूनको प्रतिनिधित्व भइसकेकाले यस पटक बैंकलाई अवसर दिन मैले अनुरोध गरेको थिए’ उप्रेतीले भने, ‘परितोषजीले नमानेपछि दुवै जनाको उम्मेदवारी खारेज हुने र देशकै बेज्जत हुने भएपछि मैले फिर्ता लिएको हुँ ।’

यस अघि नेपालबाट अक्कुमा ऋषिराज घिमिरे अध्यक्ष र मिनराज कडेल प्रथम उपाध्यक्षसम्म पुगेका थिए । साधारणसभाबाट अक्कुको अध्यक्षमा कोरियाका योनसुक किम पुनः निर्वाचित भएका छन् । यसै गरी थाइल्याण्डका डा. वीरा बोंगसान प्रथम उपाध्यक्ष, ताइवानका ली चुन फेन कुलेरोक द्धितिय उपाध्यक्ष, फिलिपिन्सका निकोलस एम भ्यालेन्टाइन सचिवमा र भारतका ओमप्रकाश कोयटे कोषाध्यक्षमा निर्वाचित भएका छन्।

यो पनि पढ्नुहोला

एक्सेसमा आवद्ध सहकारीमै सुशासन कमजोर रहेको अक्कुको टिप्पणी

सहकारीकर्मीको जम्बो टोली थाइल्याण्डबाट रित्तो हात फर्किदै



Leave a comment