काठमाडौं । ‘टाई सुट लगाएर, गाडीमा बसेर सररर खेतबारीमा जाने, टाई सुट फुकालेर ड्रेस लगाएर काम गर्ने, त्यसपछि फेरी टाई सुट लगाएर गाडीमै घर फकर्ने, होटेलमा बसेर खाजा÷खाना खाने’ यो परिकल्पना हो विराटनगरका सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाको ।
उनी कृषक भन्ने वित्तीकै झुत्रेझाम्रे नै हुनपर्छ भन्ने छैन, उनीहरुको लाईफ स्टाईल पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम नहोस् भन्ने उद्देश्य सहित कृषिको व्यवसायीकरणको योजना बोकेर अघि बढेका छन्, जसको माध्यम बनेको छ सहकारी ।
युवालाई कृषिमा आकर्षित गर्ने, कृषिलाई प्रविधियुक्त बनाउने योजना सहित थापाको नेतृत्वमा २०७७ चैतमा सचेतना कृषि सहकारी संस्था दर्ता भयो । संघियता लागु भईसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो सहकारी जसलाई सहकारीकै मर्म र सिद्धान्त अनुसार अघि बढाउनुपर्छ भनेर थापा लागि रहेका छन् ।
‘कृषि सहकारी भनेर दर्ता भएपनि धेरैले बचत तथा ऋणको नै कारोबार गरिरहेका छन्’, उनले भने, ‘कृषिलाई प्रविधिमैत्री बनाउने, युवालाई कृषिमा आकर्षित गर्ने र उपभोक्ताले विषादीरहित तरकारी खाने वातावरण सिर्जना गर्ने उदेश्य पुरा गर्न लागिरहेका छौं ।’
आफ्नो सिपलाई सबैसँग बाड्छु
थापाले घरको छतमा तरकारी खेति गरेका छन् । उनको छत तथा थोरै जग्गामा धेरै किसिमका तरकारी पाउन सकिन्छ । उनले नयाँ नयाँ प्रविधिको प्रयोग गरेर खेति गर्छन । कौशी खेति गर्न चाहनेहरुलाई निशुल्क तालिम पनि दिने गरेका छन् । थोपा सिचाईको बारेमा पनि सिक्न चाहनेहरुलाई निशुल्क सिकाईरहेका छन् । व्यक्तिगत रुपमा गरेको कामलाई ब्यापक बनाउनका लागि सहकारीको योजना अगाडी आएको हो ।
‘भारतबाट तरकारी आउँछ, विषादी धेरै हुन्छ तर हामी त्यही खाईरहेका छौ’, उनले भने, ‘हाम्रो स्वास्थ्यमा पारेको असरको बारेमा ख्याल गर्दैनौ । मेरो चाहना हो कसैको भान्सामा विषादी नभित्रीयोस् । त्यसको लागि सहकारी मार्फत काम गर्ने लागेको हुँ ।’ सहकारीमा १५० जना शेयर सदस्य पुगिसकेको बताउँदै उनले विस्तारै सहकारीको उदेश्य पुरा हुने विश्वास व्यक्त गरे ।
थापा कृषिलाई युवा आकर्षित हुने पेशाको रुपमा स्थापित गर्ने प्रयासमा छन् । ‘कृषि पेशा गर्ने सबै झुत्रेझार्मे हुनुपर्छ भन्ने छैन’, उनले भने, ‘उसको लाईफ स्टाईल देख्दा अरुलाई नै कृषि पेशा गर्ने हुटहुटी जागोस् ।’ युवालाई कृषिमा आकर्षित गर्न नयाँ नयाँ प्रविधिको आवश्यक पर्छ ।
‘म त्यही नयाँ नयाँ प्रविधि मार्फत खेति गर्न सिकाईरहेको छु’, उनले भने, ‘विउविजन किन्दा ध्यान दिनुपर्ने कुराहरु, खेत पुरै नखनी तरकारी खेति गर्न सक्ने प्रविधि, बारी नहुनेले कौशीमा गर्न सक्ने प्रविधियुक्त खेति, थोपा सिचाई यस्ता प्रविधिको बारेमा सिकाउने मेरो चाहना हो ।’
Leave a comment