हाइलाइट

तारे होटलका घोषणापत्रमा नसमेटिएको पिडा 

तारे होटलका घोषणापत्रमा नसमेटिएको पिडा  :: Sahakari Akhabar

सोमबार काठमाडौंको एक तारे होटलमा दुई दिने राष्ट्रिय सहकारी गोष्ठी सकियो । आयोजक र सहभागीले ठूलै युद्ध जितेझैगरि थकित मुद्रामा सामाजीक सञ्जालमा १२ बुँदे घोषणा सहित गोष्ठी समापनको ग्ल्यामरस् फोटोहरु पोष्ट्याउन पनि भ्याए । लाग्छ अव पृथ्वीमा ठूलै हलचल हुनेछ, दैनिक बहने अक्सिजनको गती परिवर्तन हुनेछ ।

सूर्यले आकार परिवर्तन गर्नेछ ! यस अघि पनि यस्ता तीन वटा तारे गोष्ठी सम्पन्न गरेको संघले हरेक पटक रेडिमेड १२ बुँदे घोषणा जारी गर्दै आएको छ । यस अघिका बुँदे घोषणाले कुनै उथलपुथल नगरेको हुनाले नयाँ १२ बुँदेले पनि बजेटमा ८० लाखको योगदान बाहेक अन्य उपलब्धी हाँसिल गर्छ भन्नेमा शंका गर्ने आधार छ ।

सहकारी शिक्षा तथा तालिमका नाममा वर्षेनी करोडौँ खर्च हुन्छ, चाहे त्यो गोष्ठीका नाममा होस वा वर्षे रणनीति निर्माणलगायतका कार्यक्रम ! लघु गोष्ठी होस् वा वृहत गोष्ठी ! शिक्षा, तालिम, गोष्ठी आजभोली विकृतिमा बदलिएको छ । गोष्ठी रिफ्रेसमेन्टको बहाना बनेको छ ।

अधिकांश नियामक निकाय र सरोकारवालाहरु यस्ता कार्यक्रमको मतियार बनेका छन् । गोष्ठीको उपादेयीता र उपलब्धीको हिसाव राख्ने कसले ? सिमित ब्यक्तीलाई मात्र हुने फाइदामा तै चुप मै चुप । बास्तबिक लाभग्राहीले के पायो कसले निसाफ गर्ने ? घोषणाका बुँदाको खात लागेका छन्, समस्या ज्यूँका त्यूँ छन् ।

राजधानीलगायत मोफसलका तारे होटलका हल सहकारीका गोष्ठीजस्ता कार्यक्रमले भरिभराउ हुँदै गर्दा सहकारीको उजुरी बोकेर पिडितहरु कहिले सहकारी विभाग त कहिले प्रशासनको दैलो चाहारीरहेका हुन्छन् । उनीहरुको गुनाँसो सुनिदिने गोष्ठी सेमिनारको आयोजना गर्ने कसले ? न नियामकलाई नै चासो न त बन्द कोठामा बाचन गरिएका कार्यपत्रले पिडितको भाषा बोल्छ । पैसामा किनिएका कार्यपत्रमा पैसा हराएका ती बचतकर्ताको गुनासो खै ?

केही दिन अघि मात्र प्रहरी परिसर गौशालामा सहकारीले बचत फिर्ता नदिएको उजुरी परेको छ । चाबहिलमा रहेको नमस्ते गोसाइकुण्ड बचत तथा ऋण सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएपछि पिडितहरुले सहकारीका संचालकलाई पक्रेर प्रहरीकोमा बुझाएका छन् ।

वर्षौदेखि बचतकर्ताले आफूले जोहो गरेको रकम सहकारीले नदिएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका छन् । सहकारीका अभिभावक संघहरुले बाराम्बार गरिरहने तारे सेमिनारको घोषणामा त्यस्ता पिडितहरुको विषय उठाएको खै ? १२ वटा बुँदामा बचत फिर्ता नपाएका सदस्यको समाधानका बुँदा खै ? ।

सहकारी विभागमा १४१ वटा सहकारी विरुद्ध उजुरी छ । ओरेण्टल, सिभिल, गुडवील, आनन्दनगरलगायतले पूर्व सचिवलगायतको पैसा कुम्ल्याएका छन् । राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेका मानिसले संचालन गरेको सहकारीले पनि सर्वसाधारणको बिल्लीवाठ बनाएका छन् ।

संसदमा सहकारीको बहस हुँदैन, भएपनि राजनीतिक घेरामा परेको सहकारीलाई महत्वपूर्ण विषय बनाइदैन । दिनानुदिन सहकारी पिडितको संख्या बढ्दो छ । विकृति चुलिँदो छ । तारे होटलमा सहकारीका सभा सम्मेलन र गोष्ठी टुटेका छैनन् ।

सहकारी मन्त्रालयले सहकारी शिक्षा तालिमकै लागि कार्यक्रम गरिरहेको हुन्छ । आफूले मात्र नभ्याएर सहकारीको महासंघलाई समेत वर्ष भरि पुग्ने कार्यक्रम र बजेट दिएको छ । महासंघले वर्ष भरि भ्याइनभ्याई गरेर शिक्षा तालिमका कार्यक्रम गरेको हुन्छ । अझ सहकारी महासंघले भौतिक नभ्याएर भर्चुअल समेतको तालिका सार्वजनिक गर्छ । सहकारी विभागले बार्षिक वजेट छुट्याएर संघ र केन्द्रीय संघ अनि महासंघ मार्फत सहकारी शिक्षाकै कार्यक्रम गरेको पाइन्छ । महासंघलगाएतले सदस्यदेखि संचालकसम्म तारावाला की बिनातारे होटलमा छानी छानी रोजी रोजी तालिम शिक्षाका कार्यक्रम चलाइरहेको छ ।

अझै पनि सहकारीमा शिक्षाको कमी भएको विषयमा बहस चल्न छाडेको छैन । सहकारी शिक्षा कमीका कारण विकृति आएको गन्ने मान्नेकै अड्कल छ । नियामकले पनि सहकारीमा विकृति आउनुमा शिक्षाकै कमी भएको लख काटेका छन् । सहकारी कसले बुझ्नु पर्ने र जान्नु पर्ने त्यसको निक्र्यौल भने गर्न सकेको पाइएन ।

कसले सहकारी नबुझेर विकृति आएको हो ठम्याउन भने सकेका छैनन् । कसको लागि सहकारी शिक्षा कमी भएको हो त्यो पनि खुट्याइएको छैन । नीति नियम बनाउनेको लागि, नेतृत्व गर्नेको लागि, संचालन गर्नेको लागि, समितिको लागि, कर्मचारीको लागि वा सदस्यको लागि ? कसको लागि सहकारी शिक्षा कमी भएकोले सहकारीमा विकृति आएको हो, प्रश्न अनुत्तरित छ ।

सहकारी शिक्षा कमी भएर भन्ने हो भने राज्यदेखि प्रारम्भिक संस्थाले सदस्य शिक्षालगायत वृति विकासका नाममा करोडौं खर्च गरेका छन् । शिक्षा तालिम र गोष्ठिका नाममा भ्याइनभ्याई कार्यक्रम छ, करोडौं बजेट खर्च भएको छ । सहकारीहरुले शिक्षा नामको कोष नै छुट्याएको हुन्छ ।

सहकारी मन्त्रालयले सहकारी शिक्षा तालिमकै लागि कार्यक्रम गरिरहेको हुन्छ । आफूले मात्र नभ्याएर सहकारीको महासंघलाई समेत वर्ष भरि पुग्ने कार्यक्रम र बजेट दिएको छ । महासंघले वर्ष भरि भ्याइनभ्याई गरेर शिक्षा तालिमका कार्यक्रम गरेको हुन्छ । अझ सहकारी महासंघले भौतिक नभ्याएर भर्चुअल समेतको तालिका सार्वजनिक गर्छ ।

सहकारी विभागले बार्षिक वजेट छुट्याएर संघ र केन्द्रीय संघ अनि महासंघ मार्फत सहकारी शिक्षाकै कार्यक्रम गरेको पाइन्छ । महासंघलगाएतले सदस्यदेखि संचालकसम्म तारावाला की बिनातारे होटलमा छानी छानी रोजी रोजी तालिम शिक्षाका कार्यक्रम चलाइरहेको छ ।

सहकारी विभागलाई बजेटमै तालिम शिक्षाको लागि २ करोड ८१ लाख बजेट दिइएको छ । अर्को सहकारी प्रशिक्षण केन्द्र छ, जसले सहकारी शिक्षा तालिमकै मात्र काम गर्छ, यसकोलागि पनि बजेटमा ३ करोड ८१ लाख दिइएको छ ।

यस बाहेक सहकारीका केन्द्रीय संघहरुले बार्षिकरुपमा थरीथरीका गोष्ठि गरिरहेका छन् । पालिकादेखि प्रदेश र केन्द्रले बार्षिकरुपमा गरेको सहकारी गोष्ठिमा लाखौं खर्च गरिरहेका छन् । तर प्रश्न उही हो, खै ! सहकारी पिडितको विषय घोषणामा ? कि कसो त !



Leave a comment