एजेन्सी । विश्व सहकारी अभियानको शीर्षस्थ निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को चुनावी साधारणसभाको मिति नजिकिदै गर्दा सहकारीमा चुनावी सरगर्मी बढेको छ । जुन १९ देखि २२ सम्म युरोपली मुलुक स्पेनको सेभिलियामा आयोजना हुने चुनावी साधारणसभामा अध्यक्षका लागि तीन जनाको दावेदारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
वर्तमान अध्यक्ष एरियल ग्वार्को सहित अष्ट्रेलिया तथा फ्रान्सका गरी तिन जनाको उम्मेदवारी परेको छ । त्यस्तै सञ्चालकका लागि २२ जनाको उम्मेदवारी परेको छ । तर, हालसम्म उम्मेदवारहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
हाल आइसीए संचालक तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष रहेकी ओमदेवी मल्लले कार्यकालमा भने उम्मेदवारी नदिने घोषणा गरिसकेकी छिन् । तर, छिमेकी देश भारतबाट संचालन चयन भएका इफ्कोका आदित्य यादवले भने एक कार्यकाल दोहोर्याउने भन्दै आफ्नो प्रचारप्रसार अघि बढाएका छन् ।
आएसीएको साधारणसभा अन्तर्गत मतदान कार्यक्रम २० जुनका लागि तय गरिएको छ । त्यसका लागि उम्मेदवारी दर्ताको अन्तिम मिति अप्रिल २० मै सकिएको छ । आइसीए सञ्चालक समितिमा अध्यक्षबाहेक ४ उपाध्यक्ष (४ वटा क्षेत्रीय संगठनका अध्यक्षहरु), युवा प्रतिनिधि (लैङ्गिक समितिका अध्यक्ष) र १५ सदस्यहरु रहनेछन् ।
अध्यक्ष र १५ सञ्चालकहरु (एउटा राष्ट्रबाट एक जना मात्र) साधारण सभाबाट निर्वाचित हुनेछन् भने बाँकी आ–आफ्नै क्षेत्रबाट चुनिनेछन् । ४ वर्षे पदावधि रहेको सञ्चालक समितिमा एकपटक मात्र दोहोरिन पाउने प्रावधान छ । यसअघि सन् २०१७ नोभेम्बर १७ मा मलेसियाली राजधानी क्वालालम्पुरमा सम्पन्न आइसीएको चुनावी साधारण सभाबाट ग्वार्कोको अध्यक्षतामा सञ्चालक समिति चयन भएको थियो ।
उक्त साधारण सभाबाट आइसीए इतिहासमै पहिलो पटक नेपालको सहकारी अभियानबाट मल्ल सदस्य निर्वाचित भएकी थिइन् । यसवर्ष आइसीएको साधारणभाको आयोजक स्पेनी श्रमिक सहकारीहरुको केन्द्रीय संघ स्पेनीस कन्फेडेरेशन अफ वर्कर कोअपरेटिभ्ज् (कोसेटा) रहेको छ ।
कोभिड–१९ को महामारीका कारण २ वर्ष भर्चुअल रुपमा वार्षिक भेला गरेको आइसीएकाले कोभिड–१९ महामारीपछिको पहिलो भौतिक सभा र निर्वाचनको समेत कार्यक्रम तय गरेपनि यसलाई महत्वका साथ हेरिएको छ । स्पेनी सहकारी अभियानले यो वर्ष आइसीएको चुनावी साधारण सभालाई लक्षित गरी सहकारीः समय अहिले हो (कोअपरेटिभ्ज्ः द टाइम इज् नाउ) नारा तय गरेको छ ।
Leave a comment