‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ महाकवि देवकोटाका यी शब्द सापट लिएर ०७८ को सहकारीलाई सरसरती सम्झने र ०७९ मा स्वागत गर्नु पर्ने अवस्थामा चन्द्रमा छुने उद्देश्य राख्नु उचित नै हुन्छ। सहकारीमार्फत सदस्यको समृद्धिको उद्देश्य, सहकारीमार्फत गरिबी निवारणको उद्देश्य, सहकारीमार्फत साहुकारी विनाशको उद्देश्य चन्द्रमा छुने उद्देश्य हैनन् र ?
भन्नुको तात्पर्य सहकारीका हिजोका दिन पनि तीनै उद्देश्य पुरा हुने आशा गर्दागर्दै बितेका थिए । उद्देश्य पुरा भए नभए पनि हुने आशा चाहिँ मार्न मिलेन । बचत गर्ने उद्देश्य पुरा भए पनि फिर्ता पाउने आशाका त्यान्द्रा चुँडिएका थिएनन् । अबका दिन पनि त्यही आशादित त्याँन्द्राहरु चुँडिने छैनन् बरु केही मोटाउलान् आशा झन् मोटो आकारको बन्ला तर चन्द्रमा छुने आशा चुलिँदै जानेछन् ।
०७९ आशा गर्नुपर्ने अवस्थाको आकार साँघुरो बन्ने दिन आउला भन्ने आशा नै गरौँ । र अपेक्षा गर्ने ठाउँ नभए पनि आशा गर्नु, भर नपर्नु भन्ने उक्तिलाई चरितार्थ बनाउने छैनन् भन्ने आशा गरौँ । विगतदेखि बचत फिर्ता नपाएर सडकमा आन्दोलन गर्ने उमेरले सत्तरी नाघेका ती चाउरिएका अनुहारमा नयाँ वर्षको आगमनसङै बचत फिर्ता पाएको खुसीले अनुहारका मुजा फुकाउने आशा गरौँ ।
सदस्यलाई उद्यमी बनाउने बहानामा ब्याजको बोझ बोकाएर सदस्यले सहकारीलाई धारे हात लगाउने दिनको अन्त्य भएर समृद्धिको सास फेर्ने दिनको उदय हुने आशा गरौँ । बाझिएका ४७ वटा कानुन सहकारीमैत्रि बनाउनेमा सहकारी अगुवाहरूको अगुवाइ हुने अपेक्षा नभए पनि आशा गरौँ ।
कार्यक्रममा रातो गलबन्दी भिरेर आसन र भाषणको भरमा नेताको पगरी गुतेका नेतामा सदस्यको आँखामा देखिएका आँसुको बारेमा पनि बोल्ने आँट आउने आशा गरौँ । नेफ्कून, कास्कून, प्रोस्कून, लस्कून कुनै कुनले गुन लगाउनुको सट्टा खुन चुसेका प्रारम्भिकको सतिसराप बैगुनीले हेक्का नराखे पनि आगामी दिनमा राखिदिने आशा चाहिँ गरौँ ।
दूर दराजका सहकारीले लाखौँ खर्चेर सहरबाट झिकाएका सहकारीका नेता र प्रस्तोताको घण्टौँसम्म पैसा तिराएर भाषण सुनाएर सदस्यलाई दिक्क लगाउने परम्पराको अन्त्य भई सदस्यका समस्यामा घण्टौँ समय खर्चने सदाशयताको विकास हुने आशा गरौँ ।
‘तेरो घरमा सहकारी पसिजाओस्’ भनेर शत्रुलाई सराप्ने दिनको अन्त्य भएको दिनको रूपमा नयाँ वर्षको आगमन होस् भनेर कामना गर्ने दिन पनि आउनेछ भनेर आशा गरौँ । वर्ष ०७९ कालागि चुनौतीका चाङ चुलिएका छन् त्यही चाङमाथि चढेर चटक देखाउने नेता भन्दा चुनौतीलाई चानचुन नठानी अवसरका रूपमा चाँडो बदल्ने चटकीदार बन्ने आशा गरौँ ।
सहकारी, पार्टीको पेवा हैन र सहकारीका नेता हाकिम पनि हैनन्, नोकर हुन भन्ने शुभ समाचारले निराशा बनाएको भए, नेता हैन सदस्य भएर मालिकको दर्जा पाउने हिम्मत आउला भन्ने आशा गरौँ । अस्तित्व जोगाउनै मुस्किल भएका केन्द्रीय सङ्घ नामका पार्टीका कार्यालयहरुले सहकारीका सदस्यको हितका कुरामा चासो दिने र नेता नामका कार्यकर्ताले सहकारीको साख जोगाउन नेताकोमा निगुरमुण्टी ‘न’ बन्न नगई नमस्तेको ‘न’ को दर्जा पाउने छन् भन्ने आशा गरौँ ।
दोहोरो सदस्यताको भ्रम छर्न सक्नेलाई दोहोरो पदको कुरा उमार्ने शक्ति मिलोस् । छरपस्ट छरिएका सहकारीका समस्या बग्रेल्ती रहेका सहकारी नेतालाई निराकरण कालागि दामासाहीले भाग लगाइदिएर दम जाँच गर्ने की ! आसन राशन र भाषणमा भाग खोज्नेलाई समस्या समाधानको पनि भाग लगाउने आशा गरौँ ।
सुशासनको पाटोमा फेल भएकाहरूसँग शुल्क तिरेर सुशासनको पाठ सिक्ने परिपाटी अन्त्य हुने आशा गरौँ । सदस्यको पैसा फिर्ता नदिएको गुनासो लिएर आएको भिडलाई घुर्चिएर ब्याजदर बढाउने जुलुसले नियामक निकाय घेर्ने दिनलाई कालो दिनको रूपमा घोषणा गर्ने दिनको आशा गरौँ ।
सहकारीका कार्यालयलाई पार्टीको भातृ सङ्गठन बनाउनबाट जोगाउने सहकारी अगुवाहरूमा सद्बुद्धि आउने आशा गरौँ । सहकारीका माउ निकायहरूलाई साहु नभएर बाउ बन्ने हिम्मत नव वर्षले दिनेछ भन्ने आशाका त्यान्द्रा चुँडिन नदिनु पनि अवकादिनमा उपलब्धि नै हुनेछ ।
सहकारी, पार्टीको पेवा हैन र सहकारीका नेता हाकिम पनि हैनन्, नोकर हुन भन्ने शुभ समाचारले निराशा बनाएको भए, नेता हैन सदस्य भएर मालिकको दर्जा पाउने हिम्मत आउला भन्ने आशा गरौँ । अस्तित्व जोगाउनै मुस्किल भएका केन्द्रीय सङ्घ नामका पार्टीका कार्यालयहरुले सहकारीका सदस्यको हितका कुरामा चासो दिने र नेता नामका कार्यकर्ताले सहकारीको साख जोगाउन नेताकोमा निगुरमुण्टी ‘न’ बन्न नगई नमस्तेको ‘न’ को दर्जा पाउने छन् भन्ने आशा गरौँ ।
हैन भने ०७९ ले यी र यती काम गर्न नसक्ने हो र आशाका त्याँन्द्राहरु झनै मोटाउने वा चुँडिने अवस्था आयो भने नमस्तेको ‘न’ हैन नो नेताको ‘न’ भन्ने दिन आउन नदिने आशाका साथै कामना पनि गरौंं । नियामकले खुर्ची थाप्ने नियमनको बहाना सहकारी अहितको नहुने ती सदस्यको आशाका त्यान्द्रा अझै चुँडिने छैनन् । नव वर्षमा निराशाको ‘न’ हैन आशाका त्यान्द्रा नचुँडिने भरोसाको ‘भानु’ बन्ने शक्ति मिलोस् । सबैको उद्देश्य चन्द्रमा छुने बनोस्, शुभकामना !
Leave a comment