सहकारी दिवसको नारा प्रभावकारी बनाउने कसरी ? 

सहकारी दिवसको नारा प्रभावकारी बनाउने कसरी ?  :: Sahakari Akhabar

रेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा नारा (थिम) तय हुन्छ । यो धेरै अघि देखिको प्रचलन हो । तर, तय गरिए नारालाई प्रभावकारी कार्यान्वयनमा भने कसैको ध्यान पुग्न सकेको छैन ।

संविधानमा सहकारीलाई अर्थतन्त्रको आधार स्तम्भका रूपमा स्वीकार गरे पनि सरकारको प्राथमिकतामा छैन । जुनसुकै पाटीको सरकार आए पनि सहकारीलाई प्राथमिकता दिएका छैनन् । सहकारी भाषण गर्ने थलो मात्रै बनिरहेको छ ।

सहकारीको सञ्जाल देशभर फैलिएको छ । तर, सहकारीले आफ्नो शक्ति चिनेको छैन । के गर्ने भन्नेमा अझै अलमलिइरहेको छ । सहकारीको यति ठुलो सञ्जाल हुँदा पनि उल्लेख्य काम गर्न सकिरहेको छैन । सहकारीसँग अथाह शक्ति छ तर आफ्नो शक्ति आफैलाई थाहा छैन ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिम अघिल्लो वर्ष नै तय गरिएको थियो । तर, त्यस अनुरूप के गर्ने भन्ने व्याख्यात्मक टिप्पणी आउन सकेन । जसले गर्दा नारा गफ र भाषणमै सीमित भयो । नारा कार्यान्वयन गर्न राष्ट्रिय सहकारी महासङ्घले स्पष्ट खाका ल्याउनुपर्छ ।

सहकारीमा सुशासन हराएको छ । सहकारीलाई मर्यादित व्यवसायका रूपमा स्थापित गर्न आफै जागरूक हुनुपर्छ । यो भित्रका दूषित कुरा हटाउन सक्नुपर्छ । सहकारीभित्र रहेका फोहोर हटाउने सहकारीले नै हो । अरू कसैले हटाउन सक्दैन ।

सहकारीका सञ्चालक जागरूक हुनै पर्छ । सहकारी शुद्धिकरणका लागि अभियानै चाल्नुपर्ने छ । मर्यादित हुन सहकारी पारदर्शी हुन जरुरी छ । यी कुरा अघि बढाउन सकिएमा पक्कै पनि सहकारी व्यवसायलाई प्रश्न गर्न कसैले पनि सक्दैन ।

सहकारीमा प्रविधि अहिलेको आवश्यकता हो । प्रविधिबिना संसार शून्य छ । प्रविधि आत्मा सात गर्नु अपरिहार्यता भइसकेको छ । सहकारीले झन् प्रविधि प्रयोग नगरी सुखै छैन । सहकारीको सङ्ख्या धेरै भइसक्यो । भौतिक रूपमा सहकारी भिजिट गरेर अनुगमन गर्न नसकिने परिस्थिति सिर्जना भएको छ ।

त्यस कारण पनि प्रविधिबाटै अनुगमनको व्यवस्था हुनुपर्छ । तर अहिलेसम्म त्यस्तो अभ्यास भइसकेको  छैन । कोपोमिस पनि प्रभावकारी हुन सकेको छैन । सबै सहकारीमा कोर बैङ्किङ नभई नहुने भइसकेको छ । अन्तर सहकारी कारोबार, मोबाइल बैङ्किङ सहकारीका लागि नभई नहुने प्रविधि भइसके । प्रविधि प्रयोगमा सरकारले प्रोत्साहन गर्नुपर्छ । 

राष्ट्रिय सहकारी विकास बोर्ड बेकम्मा बनेको छ । उसले प्रभावकारी कदम चाल्न सकेको छैन । अभियानकै सक्रियतामा बनाइएको सहकारी नीति २०६९ कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा हरेक वर्ष तय गरिने थिम भाषण गर्नका लागि बाहेक अरू कुनै उपलब्धि हासिल हुन नसकेको यथार्थता हाम्रो सामु छ ।

राज्यबाट मात्र होइन, सहकारी अभियानबाटै सहकारीलाई वास्ता गरिएन । भाषण गर्ने ठाउँ मात्रै बन्यो । सहकारीलाई ट्र्याकमा ल्याएर समाजवादतर्फ जाने बाटो तय गर्न सरकार चुकेको छ । त्यसका लागि सरकार तथा राजनीतितक दलहरू क्रियाशील हुनै पर्छ । सहकारी अभियन्ताले ठोस कार्य योजना बनाएर काम गर्नुपर्छ । 

तर, अभियान रजिस्ट्रारको स्वागत गर्ने, विदाइ गर्नमै रमाइरहेको छ । भाषण गर्ने, भाषण गर्न लगाउने भन्दा अरू अभियानले केही गर्न सकेको छैन । त्यसतै सहकारीका उच्च निकायहरू आफ्नो स्वार्थको कुरा गर्नेबाहेक अरूमा चासो दिन सकेका छैनन् । 

अभियानले नीतिमा प्रभाव पार्न सकेन । सहकारीको ‘स्ट्रन्थ’ कमजोर भएकाले नीतिमा प्रभाव पर्न नसकेको हो । नेतृत्व वर्गले प्रारम्भिक सहकारीलाई भिजन समेत दिन सकेको छैन । जसले गर्दा नारा त तय भयो, काम कसरी गर्ने, के गर्ने भन्ने अन्योल सधैँ रही रह्यो । 

राष्ट्रिय सहकारी विकास बोर्ड बेकम्मा बनेको छ । उसले प्रभावकारी कदम चाल्न सकेको छैन । अभियानकै सक्रियतामा बनाइएको सहकारी नीति २०६९ कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा हरेक वर्ष तय गरिने थिम भाषण गर्नका लागि बाहेक अरू कुनै उपलब्धि हासिल हुन नसकेको यथार्थता हाम्रो सामु छ ।

महासङ्घले विगतदेखि नै दिवसका लागि नारा तय गर्दै आएकामा त्यस अनुरूप के कति काम भयो भनेर कुनै लेखाजोखा गर्न हिम्मत गरेन । नारा औपचारिक कार्यक्रममा मात्रै सीमित भएकाले यस्ता नाराले सार्थकता पाउन नसकेको हो । नारा अर्थात् थिम अनुसार काम गर्न सरकार र सहकारी अभियानले संयुक्त कार्य योजना बनाएर योजनाबद्ध ढङ्गले द्रुतगतिमा अब बढ्नुको विकल्प छैन ।



Leave a comment