सहकारी अभियानमा मेरो यात्रा वि.स. २०५२ साल माघ ६ गतेबाट सुरु भएको हो । स्थानीय महिला दिदीबहिनीहरूलाई बचत गर्ने बानी विकास गर्न र ऋण परिचालन गरी आय आर्जनमा भूमिका बढाउन भरतपुर नगरपालिका–११ र १२ का दिदीबहिनीहरू मिलेर प्रभात महिला बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका हौँ ।
उक्त संस्थामा मैले तीन कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्षको रूपमा काम गरे । त्यसपछि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेर २०६७ साल पुसमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको सञ्चालक सदस्यमा निर्वाचित भए । अहिले सङ्घको उपाध्यक्षको जिम्मेवारीमा छु ।
सहकारी यात्राका क्रममा २०५३ सालमा जिल्ला बचत तथा ऋण सहकारी संघ चितवन स्थापना गर्दाको संस्थापक सदस्य हुँदै, सञ्चालक र सचिवमा बसेर काम गरे । अहिले सल्लाहकारका रूपमा रही निरन्तर सङ्घको वृद्धि विकासमा काम गरिरहेको छु । यसै गरी जिल्ला सहकारी सङ्घ चितवनमा पनि सल्लाहकारको भूमिकामा छ्युँ ।
सहकारी अभियानकै योगदानका कारण महिलाको सामाजिक तथा आर्थिक अवस्थामा निकै सुधार आएको छ । बचत गर्ने बानीको विकास, आयआर्जनमा सक्रिय भूमिका, आर्थिक सक्षमताको विकासले महिलाको सामाजिक प्रतिष्ठा उच्च हुनुका साथै पारिवारिक उन्नति र निर्णायक भूमिकामा समेत पहुँच बढेको छ । यसै गरी आत्मबल भएका तथा रचनात्मक कार्य गर्न चाहने महिला दिदीबहिनीहरूले पुँजीको अभावमा खुम्चिएर बस्नुपर्ने अवस्था छैन ।
महिलाको वास्तविक अवस्था के छ ?
सहकारी अभियानमा महिला सहभागितामा ठुलो फड्को मारे पनि नेतृत्व निर्णायक तहमा भने महिलाको पहुँच न्यून नै छ । हाम्रो पितृसत्तात्मक समाजमा महिलाले पनि सक्छिन् र ! घरबाट छुट देलान् र ! कार्य सम्पादन गर्न भ्याउलिन (समय दिन सक्लिन्) र ! भन्ने जस्ता नकारात्मक सोचले जरो गाडीरहेको अवस्था छ ।
यसबाहेक महिलाहरूले दोहोरो तेहरो भूमिका निर्वाह गर्नु परिरहेको छ । सन्तान जन्माउनु, हुर्काउनु, परिवारको रेखदेख, सामाजिक राजनैतिक भूमिका र आयआर्जनका कामहरूसँगै गर्नुपरेकाले उनीहरू दबाबमा छन् । यस्ता विविध समस्याका कारण महिलाहरू अघि बढ्न सकेका छैनन् ।
सहकारीले लक्षित वर्गलाई अझै समेट्न सकेको छैन । ग्रामीण र विकट क्षेत्रमा काम गर्ने सहकारीहरूको अझै खाँचो छ । महिलाहरूलाई वित्तीय र प्राविधिक सहयोग आवश्यक छ । प्रविधिको प्रयोगमा महिलाहरूको पहुँच बढाउनु पर्ने देखिन्छ ।
सहकारी ऐनले नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिताको अनिवार्य प्रावधान भए पनि पूर्ण रुपमा पालना हुन सकेको छैन । सहकारीका सदस्यमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्वमा सहभागिता न्यून छ । सहकारी क्षेत्रका महिला साथीहरूले प्राप्त उपलब्धिको जर्गेना गर्दै आगामी दिन अझ सक्रियताका साथ कर्तव्य निर्वाह गर्नुपर्ने आवश्यकता छ ।
Leave a comment