काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सदस्यहरुको भेला गरी सहकारी सदस्यलाई नै हस्तान्तरण गरेको हो ।
नगरपालिकाको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नयाँ सन्देशलाई २०७७ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो । पूर्व न्यायाधिश छन्दप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो ।
समितिको सुझाव अनुसार नगरपालिकाले नयाँ समिति निर्माण गरी थप काम अघि बढाएको जनाइएको छ । नगरपालिकाले संस्थाका फागुन २० गते शेयर सदस्यहरुको भेला गराएर हितबहादुर मोक्तानको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ ।
संचालक समितिको उपाध्यक्षमा प्रदिप क्षेत्री, सचिवमा पुन्य प्रसाद स्नेही र कोषाध्यक्षमा सिद्धी साही चयन भएका छन् । त्यस्तै रामबहादुर श्रेष्ठ (सुनकाजी), माया तामाङ र विष्णु शाह ठकुरी सदस्यमा निर्वाचित भएका छन् ।
रामकुमार सुवेदीको संयोजकत्वमा तीन सदस्यीय लेखासुपरीवेक्षण समिति गठन भएको छ । समितिमा राजकुमारी श्रेष्ठ र उर्मिला तामाङ सदस्य छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा संचालित नयाँ सन्देश सहकारीले सदस्यको २५ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको गरेको छ ।
समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले नगरपालिकालाई उक्त सहकारी पुनः संचालन गर्न सुझाव दिएपछि नगरपालिकाले सदस्यहरुको भेला डाकेर संस्थामा नयाँ संचालक समिति गठन गरेको जनाएको छ ।नगरपालिकाले नव गठिन संचालक समितिलाई संस्थाको आर्थिक तथा संस्थागत प्रतिवेदन हस्तान्तरण गरेको छ ।
समितिको प्रतिवेदन अनुसार सहकारीका सदस्य २ हजार ५ सय छन् । रकम हिनामिना गर्ने यसअघिका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी, सचिव अबिन परियार र कोषाध्यक्ष सुरेन्द्र ठकुरी पूर्पपक्षका लागि जेलमा छन् ।
हालै उपाध्यक्ष चुनिएका क्षेत्रीले अब समस्या कसरी सल्टाउने भन्ने विषयमा गृहकार्य गरिरहेको बताए । ‘समस्या समाधानका लागि नगरपालिकासँग छलफल गरिरहेका छौं’ उनले भने,‘नगरपालिकाले कसरी सहयोग गर्छ, हामी कसरी अघि बढ्ने ?’
यो पनि पढ्नुहोला
नयाँ सन्देश सहकारीको सञ्चालक समिति गठन गर्दै नगरपालिका
Leave a comment