काठमाडौं । संघिय सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रभावकारी काम गर्न नसकिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाले बनाएको यस्तै प्रकृतिको समिति पनि समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न असफल भएको छ ।
नगरपालिकाले नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापनका लागि न्यायाधिश छन्दप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन समेत गरेको थियो । तर, समितिले संस्थाको छानविन गरेर प्रतिवेदन बनाउने बाहेक कुनै काम गर्न नसकेपछि नगरपालिकाले संस्था फेरि सदस्यहरुलाई नै जिम्मा लगाउने भएको हो।
नगरपालिकाले सहकारी हस्तान्तरणका लागि फागुन २० गते साधारणसभा समेत बोलाएको छ । साधारणसभाबाट नयाँ संचालक समिति गठन गरी उक्त समितिलाई नै जिम्मेवारी दिने नगरपालिकाको तयारी छ ।
नगरपालिकाले सहकारीलाई २०७७ असोजमा समस्याग्रस्त घोषणा गर्दै पूर्व न्यायाधिश आचार्यको संयोजकत्वमा समिति गठन समेत गरेको थियो । समितिले संस्थाको छानविन गनुका साथै चार वर्षको लेखा परीक्षण मात्र गरेको छ । समितिको नगरपालिकामा बुझाएको प्रतिवेदनकै आधारमा नयाँ संचालक समिति चयन गर्ने कार्यक्रमसहितको साधारणसभा बोलाइएको हो ।
नगरपालिकाका वडा सदस्य पुरुषोतम नेपालले नयाँ सन्देश सहकारीमा २०७६ जेठदेखि छानविन सुरु गरेको जानकारी दिए । वडा सदस्य नेपालकै संयोजकत्वमा छानबिन समिति गठन भयो । समितिले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसँग छलफल समेत ग¥यो । तत्कालीन समयमा सञ्चालकहरुले ७ करोड भएमा निक्षेपकर्ताको रकम फिर्ता गरी संस्था पुनः सञ्चालन गर्न सकिने बताएका थिए ।
‘मेयरको परामर्शमा नयाँ सन्देशका पदाधिकारीसँग बसेर राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतसँग ऋण दिलाएर संस्था सञ्चालन गराउने पहल ग¥यौं’ नेपाल भन्छन्, ‘उनीहरुले ७ करोड भएमा संस्था सञ्चालन गर्न सकिने बताएपनि उनीहरुको कुरा विश्वास गर्न नसकिने भएपछि काम हुन सकेन ।’
त्यसपछि नगरपालिकाले संघीय सहकारी विभागलाई चिठी लेख्यो । तर विभागले नियमनको क्षेत्राधिकारभित्र पर्ने भएकाले आफैं व्यवस्थापन गर्न प्रतिउत्तर पठायो । त्यसपछि नगरपालिकाले सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गर्दै समस्याग्रस्त व्यवस्थापन समिति समेत गठन ग¥र्यो । समितिले प्रतिवेदन बनाएर बुझाएको र त्यसैका आधारमा अब गठन हुने सञ्चालक समितिले बाँकी काम पूरा गर्ने नेपाल बताउँछन् ।
‘संस्थाको नाममा सम्पत्ति नभए पनि सचिव लगायतको नाममा सम्पत्ति देखिएको छ’ उनले भनिन् ‘नयाँ सञ्चालक समितिले जग्गा रोक्का गर्ने, ऋण असुल गर्ने र बचत फिर्ताको काम गर्नेछ, यसमा नगरपालिकाले सहजिकरण गर्नेछ ।’
तर, बचतकर्ता प्रदीप क्षेत्री भने व्यवस्थापन समितिले ऋण उठाउने र निक्षेपकर्तालाई पैसा फिर्ताको काम गर्न नसकेको बताउँछन् । ‘समितिले प्रतिवेदन पेश गर्नेबोहक अरु काम केही पनि गरेको छैन’ उनले भने ।
व्यवस्थापन समितिका संयोजक छन्दप्रसाद आचार्यले भने नगरपालिकाले म्याद नथपेकाले ऐन र नियमावलीमा तोकिए अनुसार काम गर्न नसकिएको बताए । ‘समितिले पहिले ६ महिना र त्यसपछि ३ महिना लगाएर अध्ययन गरेको थियो’ उनले भने, ‘समय नपुगेकाले कर्जा उठाएर निक्षेप फिर्ता गराउने काम गर्न भ्याएनौं ।’
बचतकर्ता क्षेत्रीले भने कर्जा तिर्न केही सदस्य आएपनि समितिले नलिएको बताउँछन् । ‘नगरपालिकासँग केही कुरा मिलेन कि उहाँहरुले कर्जा लिन मान्नुभएन । ४० जना जति ऋण तिर्न आएपनि समितिले लिन मानेन ।’
सञ्चालक समिति गठन गरी नगरपालिका तथा प्रहरीको समन्वयमा ऋण असुल गरी सदस्यहरुको बचत फिर्ता गर्ने योजना बनाइएको छ । समितिको प्रतिवेदन अनुसार सहकारीमा २ हजार ५ सय सदस्यको २६ करोड रुपैयाँ डुबेको छ ।
संस्थाले १५ करोड कर्जा असुल गर्न बाँकी देखिएपनि बाँकी रकम भने संचालकहरुले नै अनियमितता गरेको भेटिएको छ । तर, सञ्चालकले मिलेमतोमा आफन्तलगायतलाई ऋण दिएकाले कर्जा उठाउन समेत चुनौती हुने देखिएको छ । नगरपालिका सहकारी शाखा प्रमुख गीता ठगुन्ना बचतकर्ताकै पहलमा अनुसन्धान गर्न सहज हुने भएकाले नयाँ संचालक समिति गठन गर्न लागिएको बताउछिन् ।
‘संस्थाको नाममा सम्पत्ति नभए पनि सचिव लगायतको नाममा सम्पत्ति देखिएको छ’ उनले भनिन् ‘नयाँ सञ्चालक समितिले जग्गा रोक्का गर्ने, ऋण असुल गर्ने र बचत फिर्ताको काम गर्नेछ, यसमा नगरपालिकाले सहजिकरण गर्नेछ ।’
तर, संस्थाले नयाँ बचत भने तत्कालै उठाउन नपाउने उनले जानकारी दिइन् । सहकारीका अध्यक्ष सानु ठकुरी, उपाध्यक्ष राजकुमार ठकुरी, सचिव अबिन परियार र कोषाध्यक्ष सुरेन्द्र ठकुरी विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा समेत चलिरहेको छ । उनीहरु हाल पूर्पपक्षका लागि जेलमा छन् ।
Leave a comment