Sahakari Akhabar

वडाअध्यक्ष स्याङतान: खुवा बेचैरै कमाउँछन् मासिक ८ लाख 

वडाअध्यक्ष स्याङतान: खुवा बेचैरै कमाउँछन् मासिक ८ लाख  :: Sahakari Akhabar

ललितपुर । राजनीतिक दलको नेता बन्ने अनि चुनाव जितेर जनप्रतिनिधि हुनैबित्तीकै अधिकांशको पेशा÷ब्यावसाय नै राजनीति हुने गर्छ । उनीहरु न कुनै आम्दानी हुने काम गर्छन् न त कुनै आयस्रोत नै । तर, उनीहरुको लवाई खुवाइदेखि जीवनशैली भने फरासिलो हुन्छ । यो आम प्रवृत्ती भन्दा अलग छन् महाङकाल गाउँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष संचमान स्याङतान । उनी राजनीति मात्रै गर्दैनन्, सँगै व्यवसायीक कृषिबाट आकर्षक आम्दानी समेत गर्छन् ।

‘वडा अध्यक्ष बन्ने मेरो चाहना थिएन, पार्टीले सम्झेपछि म पछि हट्न सकिन’ उनले जनप्रतिनिधि बन्नुको कारण खुलाए । तर, उनले आफ्नो कृषि पेशा ब्यावसाय भने छोडेनन्, जनताको सेवा गरेरै पनि कृषि पेशालाई निरन्तरता दिएका छन् ।

स्थानीय सहकारी शुभकामना बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख ऋण लिएका स्याङतान संगैको शिखर कृषि सहकारीका पनि सदस्य हुन् । सहकारीसंग स्थानीय तहले विभिन्न कृषि परियोजनामा सहकार्यकालागि कार्यक्रम ल्याएका छन् । उनी भन्छन् “सहकारी जनस्तरसम्म पुग्ने भएकोले स्थानीय तहका कार्यक्रम सहकारी मार्फत गर्ने हो भने लक्षित बर्गसम्म कार्यक्रम पुग्छ ।”

अध्यक्ष स्याङतानको भैंसिपालन 

स्याङतानले अहिले ११ वटा भैसी पालेका छन् । त्यसमा दुईवटाले दूध दिन्छन भने ९ वटा ब्याउने रहेका छन् । उनले १ लाख ५० हजारसम्म मूल्य तिरेर भैंसि किनेका छन् ।

यसैगरी १५ जना गाउँले किसानबाट समेत दुध संकलन गर्छन् । दैनिक तीन सय लिटर दुधबाट खुवा बनाएर मासिक ८ लाख रुपैयाँ आम्दानी गर्छन् ।

स्याङतान बिहान साढे ४ बजे उठेर ११ बजेसम्म भैसी गोठको काममै खटिन्छन् । त्यसपछि मात्र उनी जनप्रतिनिधिको भूमिकामा खटिन्छन् । ‘बिहानै घाँस काट्छु, अनि कार्यालयको समय सकेर पनि कृषि कर्ममै लाग्छु’ उनी भन्छन् ।

वडाअध्यक्षको जिम्मेवारी सम्हालेपछि उनको व्यवसाय भने खस्किएको छ । वडाअध्यक्ष हुनुअघि २५ वटासम्म भैसी पालेर मासिक ४० लाख आम्दानी गर्ने उनी अहिले समय दिन नपाएको गुनासो गर्छन् । ‘मैले २५ प्रतिशत समय मात्रै कृषि र ब्यावसायलाई दिन पाएको छु’ उनले भने । त्यसैले त उनी वडा अध्यक्षको जिम्मेवारीबाट मुक्त भएपछि ब्यावसाय चम्काउने उनको योजना छ ।

अध्यक्ष स्याङतानको फार्ममा खुवा पकाउँदै कामदार 

स्याङतान कृषक मात्र होइन्, कृषि उद्यमी पनि हुन् । उनले गाउकै १५ जना कृषकबाट दूध संकलन गर्छन् । अरुलाई पनि उद्यमी बन्न भैंसि पालनमा सहयोग पनि गरेका छन्। दैनिक ४ सय लिटर दूध संकलन गरी उनले ७० केजी खुवा उत्पादन गर्छन् । सिधै दूध बिक्री गर्नुभन्दा खुवा बनाएर बेच्दा फाइदा हुने भएकाले विगत १५ वर्षदेखि उनी खुवा बनाएर बिक्री गरिरहेका छन् ।

स्याङतानले बनाएको खुवा धार्नीको एक हजार २ सय रुपैयाँमा बिक्री हुन्छ । अहिलेसम्म यसको बजारको समस्या पनि छैन। हाल स्याङतानको खुवा उद्योग र भैंसीपालनमा २५ लाख लागत पुगिसकेको छ। उनले यसैबाट ३ करोड बढी आम्दानी गरीसकेकोे बताउँछन् । यसबाट गाउँमै ५० रोपनी जग्गा र ३ तले घर समेत बनाइसकेका छन् ।

स्याङतानले घरको काममा १० प्रतिशत मात्रै ध्यान दिन पाएको बताउँछन् । उनका छोरा र श्रीमतीले कृषि र व्यवसायको रेखदेख गर्छन्। ३ जनालाई उनले रोजगारी दिएका छन् । खाना, बस्न दिएर उनले प्रती ब्यक्ती २० हजार रुपैयाँ पारिश्रमिक दिन्छन् । शानका साथ स्याङतान भन्छन्, धेरैजसो नेताले आम्दानी हुने उद्यम/व्यवसाय नगर्ने तर बार्गेनिङ, कमिसन र प्रतिशत मागेर माग्छन्, म त दुःख गरेर कमाएको छु।
 



Leave a comment