Sahakari Akhabar

युक्रेन र रुसी सदस्यहरुलाई कोपरेटिभ्ज् युरोपकी अध्यक्षको पत्र

युक्रेन र रुसी सदस्यहरुलाई कोपरेटिभ्ज् युरोपकी अध्यक्षको पत्र :: Sahakari Akhabar

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को युरोपस्थित क्षेत्रीय संगठन कोअपरेटिभ्ज् युरोपकी अध्यक्ष सुसान वेस्थाउसेनले युक्रेन र रुसस्थित आफ्ना सदस्य संस्थाका नाममा पत्र लेखेकी छन् । पत्रमा उनले ती देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छिन् ।

उनले यस्तो विषम परिस्थितिमा दुबै देशका सहकारीकर्मी र निर्दोष आम नागरिकहरुको साथमा आफ्नो संगठन रहेको विश्वास दिलाएकी छिन् ।  युरोप महादेशमा पुनः युद्ध भएकोमा दुःख लागेको भन्दै उनले युद्धको विकल्पमा सहकारिताको भावना प्रवर्धनमा जोड दिएकी छिन् ।

अध्यक्ष सुसान वेस्थाउसेनको पत्र
प्रिय सदस्य तथा साथीहरु,

कोअपरेटिभ्ज् युरोप युक्रेनमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण विकसित परिस्थितबाट प्रभावित थुप्रै सहकारीकर्मीहरुसँगै आम नागरिकहरुको साथ रहेको छ । सहकारी अभियान घनिभूत सहकार्य, साझा समझदारी तथा पारस्परिक सम्मानको अभियान हो ।

सहकारीका मुख्य मूल्यहरुले प्रजातन्त्र, समानता, समता तथा सदस्यहरुप्रति ऐक्यबद्धतालाई केन्द्रमा राखेको छ । सहकारीको युरोपस्थित साझा संगठनको रुपमा कोअपरेटिभ्ज् युरोप युक्रेनी मात्र नभई रुसी सदस्य संस्थाहरुको साथमा रहेको अवगत गराउन चाहन्छु ।

सहकारिता र सहकार्यले राजनीतिक तथा साँस्कृतिक व्यवधानहरु हट्ने र सुरक्षा र समृद्धि प्रवर्धन हुनेमा कोअपरेटिभ्ज् यूरोप विश्वस्त छ । हाम्रो महादेशमा फेरि एक पटक युद्ध भएकोमा गहिरो दुःख लागेको छ । हामी शान्तिको आव्हान गर्छौ ।

लाखौ निर्दोष व्यक्तिहरुले भोग्न सक्ने सम्भावित प्रताडना रोक्न समस्याको कुटनीतिक समाधान निकाल्न दुबै पक्षलाई आग्रह गर्छौं । युक्रेनमा विकसित घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं ।

बिस्थापित भएकाहरुलाई हरसम्भव सहयोग पुर्याउन स्थानीय संघ संस्थाहरुसँग हामी सम्पर्कमा नै छौं । युरोप मात्र नभई विश्वभरका सम्पूर्ण सहकारीकर्मीहरुलाई युद्ध प्रभावितहरुलाई मानवीय सहायता उपलब्ध गराउने अभियानमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पनि हार्दिक आग्रह गर्दछौं ।



Leave a comment