मधुसुधन पाठक : नाम एक, पहिचान अनेक

मधुसुधन पाठक : नाम एक, पहिचान अनेक :: Sahakari Akhabar

सहकारी अखबार । व्यक्तिले कुनै एक समयावधिमा कति वटा क्षेत्रमा योगदान गर्न सक्ला ? एक, दुई या तीन ! अझ सामान्य व्यक्तिले त एउटा समय अवधिमा आफूलाई एउटै काममा सीमित राख्ला ।

तर, यो मान्यता भन्दा अलग रूपमा आफूलाई अगाडी बढाइरहेका व्यक्ति हुन् मधुसुधन पाठक । काभ्रेमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाएका उनले छोटो अवधिमै आफूलाई सहकारी कर्मी, कलाकार, उद्यमी तथा समाजसेवीसम्मको भूमिकामा स्थापित गर्न सफल भएका छन् ।

‘विभिन्न क्षेत्रमा योगदान दिन सकिन्छ भनेर मल्टी माइन्ड चलाएको छु’ उनी भन्छन्, ‘यसबाट मल्टी सेक्टरलाई एकै पटक लिड गर्न र आफूलाई स्थापित गर्न सकिन्छ ।’

 

पहिलो रोजाइ सहकारी

भिन्न–भिन्न भूमिकामा स्थापित भए पनि पाठकका लागि सबैभन्दा रुचि भएको र समय दिएको क्षेत्र सहकारी हो । त्यसैले त उनी १४ वर्षदेखि सहकारी कर्मीका रूपमा आफूलाई अघि बढाइरहेका छन् ।

औपचारिक रूपमा विश्वविद्यालयमा विज्ञान तथा व्यवस्थापन अध्ययन गरेका उनी हाल सहकारी कर्मीका रूपमा जेष्ट सासकोमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । पाठकको अनुभवमा २०२८ सालदेखि २०६३ सम्म सहकारीमा नातावाद हाबी भयो ।

सात जना सञ्चालक हुँदा धेरै एकाघरकै मिलेर सहकारी चलाउने प्रवृत्तिले समस्या सिर्जना भएको र अब सङ्ख्या भन्दा गुणस्तरमा जोड दिनुपर्ने समय आएको छ । सहकारीमा धेरै प्रकृतिका काम गरे पनि बचत तथा ऋणले मात्रै सहकारी चलायमान भएको उनको बुझाइ छ ।

सहकारी बलियो बनाउन निक्षेप भन्दा सेयरमा विशेष ध्यान दिनुपर्ने उनी सुनाउँछन् । ‘१० खर्ब सेयर पुँजी भएको संस्था बनाउन सकिन्थ्यो तर निक्षेप बढाउने, सेयर नबढाउने गर्नु किमार्थ राम्रो होइन ।’

१ करोड सेयर पुँजी भएको संस्थाले २० करोडसम्म निक्षेप उठाएको र त्यस्ता संस्थाहरूको नियमन, सुपरिवेक्षणमा सम्बन्धित निकायको ध्यान नपुग्दा संस्था समस्यामा परेको उनी बताउँछन् ।

सहकारीले श्रम एकीकरण गर्नुपर्ने भए पनि त्यसो गर्न नसकेकोले पाठकलाई पनि पिरोल्ने गरेको छ । श्रम, पुँजी एकीकृत गर्नुपर्नेमा लोभ, लालच, द्वन्द्व, राजनीति गर्ने भएकाले सहकारीले प्रगति गर्न नसकेको उनको बुझाई छ ।

सहकारी कर्मीका रूपमा पाठक सहकारी संस्थामार्फत सदस्यलाई उद्यमी बनाउन पाउँदा औधी खुसी हुन्छन् । तल्लो वर्गका सदस्यको जीवनस्तर सुधार गर्न पाइने भएकाले पनि उनी आफूलाई अन्य भूमिकामा भन्दा सहकारीलाई बढी महत्त्व दिएको उनले बताए ।

‘भद्रगोल’ र ‘सक्कीगोनी’ का सिते बा

पाठक सानै उमेरमा कलाकारितामा रुचि राख्थे । कक्षा ९ पढ्दादेखि नै नाटक लेख्ने, अभिनय गर्ने जस्ता क्रियाकलापबाट कलाकारितामा लागेका थिए। तर, उनी कलाकारका रूपमा स्थापित परिचय भने हास्य टेलिसिरियल भद्रगोलको सिते बा बाटै भएको छ । भद्रगोलको भाग ९ बाट सित बाको भूमिका सुरु गरेका उनी अहिले सक्किगोनि सिरियलमा सोही भूमिकामा छन् ।

सिते बा अहिले पाठकलाई सबैले सम्झिने भूमिका बन्न पुगेको छ । धेरै दर्शकले उनको भूमिकालाई रुचाएका कारण उनी समय मिलाएर हरेक इपिसोडमै आउने गरेका छन् । ‘कलाकारिता मेरो औधी मन पर्ने विधा हो’ पाठकले आफ्नो योजना सुनाए, ‘अभिनयका साथसाथै सम्पादन तथा निर्देशनको भूमिकामा पनि आउने चाहना छ’

उद्यममा आक्रामक

पाठकले पहिलो रोजाइ सहकारी भए पनि सँगसँगै उनी विभिन्न उद्यमशील काममा समेत आक्रामक ढङ्गले अघि बढेका छन् । कलाकारितामा स्थापित भएको आफ्नो नाम ‘सिते बा ग्रुप अफ कम्पनी’ का माध्यमबाट उनी कृषि, पर्यटन, फिटनेस, रेस्टुरेन्ट, ट्राभल, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा लगानी बढाउँदै लगेका छन् ।

यस कम्पनीमा सय बढी व्यक्ति जोडिएका छन् । छिट्टै पब्लिक लिमिटेडमा जाने तयारी भएको पाठकले बताए । कृषि र पर्यटनमा विशेष महत्त्व दिएर सिते बा ग्रुप अफ कम्पनीले लगानी गरेको पाठकले बताए ।

‘कृषि उपजभन्दा सिसी बेच्दा फाइदा हुन्छ, त्यस कारण जहाँ कृषि फार्म हुन्छ, त्यहाँ हामी होमस्टे÷रेस्टुरेन्ट सञ्चालन गर्छौ ।’ कम्पनीले काठमाडौँको टोखा र लमजुङमा फार्म सञ्चालन गरेको छ ।

पाठकले उद्यमशीलता बुवादेखि नै सिकेका हुन् । परिवारका अग्रजहरू नै कृषि, पर्यटनमै रहेकाले उनी पनि यसमा आकर्षित भए । खरायो, बाख्रा, भैसीपालन गर्ने, समुदायबाट धान खरिद गरेर चामल बिक्री गर्ने बुबाको कामबाटै कृषि उद्यमका लागि प्रेरणा मिलेको पाठकले बताए ।

‘आफै केही गरौं भन्ने मनसायले उद्यमशीलतामा सफलता प्राप्त हुँदै गएको हो’ उनले भने । कृषिसँगै पर्यटन, फिटनेस, रेस्टुरेन्ट, ट्राभल, पेलिक्लिक लगायतमा कम्पनीले लगानी गरेको छ। ग्रुपको भगिनी कम्पनीमार्फत कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा लगानी बढाउँदै लगेका छन् ।

यसका साथै सेयर बजार, रियल स्टेट , खनिज तथा खाद्य उद्योगमा काम अघि बढेको छ । हजार जना संलग्न गराउने सोचका साथ अघि बढेको कम्पनीमा ५/१० लाख लगानीबाट युवाहरूलाई जोड्दै लैजाने उनको नीति छ ।

‘धेरैलाई जोडेर ग्रुप अफ कम्पनीबाट व्यवसाय गर्दै छौँ’ पाठकले भने, ‘ग्रुपको लगानी ७ करोड र ५ करोड ऋण लिएर लगानी गरेका छौँ ।’ पाठकको अनुभवमा कृषि सम्भावना भएको क्षेत्र भए पनि अहिलेसम्म कृषि उत्पादनको मूल्य राम्रो नहुँदा कृषक लाभान्वित हुन सकेका छैनन् ।

‘कृषि उपज हेलिकप्टर चढेर विश्व बजारमा बेचिनुपर्ने तर कृषिमा लागत उठ्न नै धौधौ भइरहेको छ ।’ कृषिमा पुँजी, जमिन, श्रम र उत्पादन सरकारले एकीकरण गर्नै पर्ने र कृषिलाई पर्यटनसँग जोड्नुपर्ने उनले बताए ।

सधैँ चिटिक्क परेर हिँड्ने, मुसुक्क हाँसेर मात्र बोल्ने पाठक व्यवसायसँगै सामाजिक कामहरूमा पनि उत्तिकै सक्रिय छन् । ब्याडमिन्टन, टेनिस, फुटसललगायत खेलमा रुचि राख्ने पाठक आफूलाई कुनै क्षेत्रको जिम्मेवारी पाउँदा आनन्दसँग पूरा गर्ने गरी मल्टी ट्यालेन्ट बनाउनुपर्ने बत्ताउँछन् । ‘मेरो माइन्ड बनाउँदै छु । माइन्ड सेट गर्दैछु। कुनै पनि क्षेत्रको जिम्मेवारी आउँदा पूरा गर्न सक्छु ।’

‘कृषि र पर्यटन सँगै लग्दा फाइदा हुने भएकाले होमस्टे, फार्म स्टे सञ्चालनमा जोड दिएका छौँ’ उनी भन्छन्, । कृषि हेर्न आउने, बसेर खाने पनि पर्यटक भए । आन्तरिक पर्यटक नै हुन् । विदेशी पर्यटक पनि तान्न सकिन्छ । तर पहिला आन्तरिक पर्यटकको प्रवर्द्धन गर्नुपर्छ’ उनी भन्छन् ।

होमस्टे र फार्म स्टेमा विदेशी पर्यटक समेत भित्र्याउने पाठकको लक्ष्य छ । ‘बङ्गलादेशबाटै वर्षमा २० लाख बढी पर्यटक ल्याउन सकिन्छ । उनीहरूलाई आकर्षित गर्न सस्तोमा खान, घुमाउने टुर प्याकेज बनाइरहेका छौँ ।’ नेपाल पर्यटन बोर्ड सुतेर बसेको उनको बुझाइ छ ।

‘खाद्य वस्तु बिकाऊ छ । यहाँका प्राकृतिक सौन्दर्यतामा रमाउन सकिन्छ, तर सरकारले पर्यटक भित्र्याउन सकेको छैन ।’ कम्पनीमा लगानीकर्ता बढाउँदै लगे पनि पाठकले साझेदारी व्यवसाय चलाउन  ठुलो समस्या भएको बताउँछन् ।

रजिस्ट्रार कार्यालयले सञ्चालकसँग छलफल गरी साझेदारीमा  मनमुटाब कम गराउन भूमिका खेल्न सक्नुपर्ने सोच्छन् । ‘साझेदारी व्यवसाय गर्दा सबैको चेतना सोच, महत्त्वाकाङ्क्षा मिल्नुपर्छ ।’

सधैँ चिटिक्क परेर हिँड्ने, मुसुक्क हाँसेर मात्र बोल्ने पाठक व्यवसायसँगै सामाजिक कामहरूमा पनि उत्तिकै सक्रिय छन् । ब्याडमिन्टन, टेनिस, फुटसललगायत खेलमा रुचि राख्ने पाठक आफूलाई कुनै क्षेत्रको जिम्मेवारी पाउँदा आनन्दसँग पूरा गर्ने गरी मल्टी ट्यालेन्ट बनाउनुपर्ने बत्ताउँछन् । ‘मेरो माइन्ड बनाउँदै छु । माइन्ड सेट गर्दैछु। कुनै पनि क्षेत्रको जिम्मेवारी आउँदा पूरा गर्न सक्छु ।’



Leave a comment