सरकारी जागिरसँगै तरकारी खेती

सरकारी जागिरसँगै तरकारी खेती :: Sahakari Akhabar

तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन् । उनी सरकारी जागिरे सँगै तरकारी खेतीमा होमिएका छन् । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्राविधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिन्छन् । यसका साथसाथै उनी आफै पनि कृषिमा दिलोज्यान दिएर लागिपरेका छन् । 

०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका थापा आफैंले अर्गानिक रूपमा तरकारी खेती गर्छन् । ६ वर्षदेखि उनी करारको रूपमा काम गर्छन् ।बिदाको समयमा थापा तरकारी खेतीमा व्यस्त हुन्छन् । लसुने बजार नजिकै पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्छन् । 

समुद्री सतहदेखि करिब २ हजार ३ सय मिटर उचाइमा उनले नेचुरल हाइटेक निर्माण गरी अर्गानिक तरकारी खेती सुरु गरेका हुन् ।कृषि प्राविधिकको रूपमा लामो समय काम गर्दै आएका थापाले ज्ञान र अनुभव आफै अभ्यासमा उर्तान पाएकोमा खुसी छन् । 

‘मसँग भएको दक्षता र क्षमतालाई प्रयोग गरी अर्गानिक रूपमा तरकारी खेती गर्दै आएको छु,’उनले भने,‘मानव स्वास्थ्यका लागि स्वास्थकर हुनुको साथै बजारमा पनि राम्रो मूल्य पाउने भएकाले अर्गानिक तरकारी खेती गर्दै आएको छु,’ 

फिर्के साना किसान उघुउद्यम कृषि सरकारी संस्थामा आबद्ध थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत सहकारीको समन्वयमा १५ प्रतिशत लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गरेका छन् । उनले हाइटेकमा गोलभेडा, रायो, अकबरे, सयपत्री फूल, लसुनलगायतका तरकारी लगाएका छन् । हाइटेकमा बेमौसमी गोलभेंडा फलाउँदै आएका छन् । 

यस वर्ष एक सय ३० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडा बिक्री भएको थापाले बताए । उनकी श्रीमती सम्झनाले घरमै अनिस कृषि भण्डार सञ्चालन गर्दै आएकी छन् । घरमै रहेको कृषि भण्डारसँगै तरकारी खेतीमा पनि उनी सक्रिय छिन् ।

सम्झना भन्छिन्, ‘घरमै कृषि भण्डार सञ्चालन गर्दै आएकी छु । यो सँगै तरकारी खेती हाम्रो मुख्य आम्दानीको स्रोत हो । बजारमा घर भए पनि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी लिँदै आएका छौं ।’ तेह्रथुममा पछिल्लो समय अन्नबालीभन्दा पनि नगदेबालीलाई किसानहरूले जोड दिँदै आएका छन् ।





Leave a comment