सफलता चुम्दै जनसचेतन साकोस

सफलता चुम्दै जनसचेतन साकोस :: Sahakari Akhabar

दोलखा । दोलखाको मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले सफलता चुम्दै गइरहेको छ । संस्थाले क्यु आर कोड, मोबाइल बैंकिङ र फण्ड ट्रान्सफर जस्ता प्रविधिमैत्री सेवा समेत प्रदान गर्दैै आएको छ । 

संस्था २९ औँ वर्षसम्म पुग्दा संस्थाले वित्तीय फड्को मारेको छ । संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले २०५० साल आश्विन २२ गते ३४ जना शिक्षक, कर्मचारी, व्यवसायी र सामाजिक अभियन्ताहरुको पहलमा संस्था स्थापना भएको स्मरण गरे । 

त्यसयता संस्था निरन्तररुपमा सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर वृद्धि गरी समुन्नत समाज निर्माण गर्ने लक्ष्यसाथ अघि बढेको बताए । संस्थाको छैठौंं रणनीतिक व्यवसायिक योजनाबाट ‘प्रविधियुक्त प्रतिष्पर्धी सुरक्षित वित्तीय संस्था’ को रुपमा अघि बढेको हो । 

संस्थाका वस्तु तथा सेवालाई गुणस्तरीय, दिगो, भरपर्दो, विश्वासिलो र परिणाममुखी बनाउन सहकारी ब्राण्डमा प्रवेश गरेको छ । संस्थाले २०६५ सालमा एक्सेस ब्राण्ड कार्यक्रममा र २०६९ मा ब्रोञ्ज तथा २०७३ मा सिल्भर ब्राण्ड प्राप्त गरेको थियो ।

संस्थाले सदस्य सुरक्षा कार्यक्रम, छात्रवृत्रि, जनसचेतन आजीवन सहारा सम्मान तथा पुरस्कार, प्राकृतिक प्रकोप र स्वास्थ्योपचारमा आर्थिक सहयोग जस्ता थुप्रै सामाजीक कार्यक्रम गरेको छ ।

संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई जनसचेतन आजिवन सहारा वापत मासिक ५ सय रुपैया उपलब्ध गराउँछ । २०७७।७८ सम्म सो सुविधा लिने सदस्यको संख्या ७७ पुगेको छ। 

संस्थाले भीमेश्वर नगरपालिका ६ को मुनाल साकोस, काभ्रे जिल्लाको बनेपामा रहेको रसिक बहुउद्देश्यीय सहकारीलाई एकिकरण गरी, संस्थाको कार्यक्षेत्र ५ जिल्लामा विस्तार गरेको छ । संस्थाले जिल्लाको उत्तरी क्षेत्रमा वित्तीय सुविधा र पहुँचका हिसाबले दुर्गम रहेको त्यहाँका बासिन्दालाई पहुँच पु¥याउन लघुवित्त कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । 

संस्थाले कार्यक्षेत्रभित्र सदस्यको माग र चापका आधारमा सदस्यता वृद्धि गर्ने, सदस्यको सन्तुष्टि मुल्यांकन गर्ने, स्थिरिकरण कोषमा सहभागिता जनाउने गरेको छ । त्यस्तै एटिएम कार्ड जारी गरी सदस्यको आम्दानी वृद्धिका लागि व्यवसायिक तालिम सञ्चालन  गरेको  छ । 

१८ देखि ४५ वर्ष उमेर समूहका सदस्यको उद्योग स्थापना गरी सञ्चालन गरेमा अन्य ऋणको तुलनामा २ प्रतिशत छुुट दिने योजना अघि सारेको छ । नयाँ बुहारी स्वागत गर्ने र सदस्यमा उद्यमशीलता विकास गरेको समेत संस्थाले जनाएको छ ।

संस्थाको लगानीमा १० वटा व्यवसायिक योजना बनाई सदस्यहरुलाई उपलब्ध गराउने अध्यक्ष चौलागाईंले बताए । संस्थाले आश्विन १ देखि ९ गतेसम्म दुई चरण गरेर मुख्य कार्यालय र १५ वटा सेवाकेन्द्रमार्फत वार्षिक प्रतिवेदन वितरण तथा सदस्य उपस्थिति खुल्ला गरी २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मीनप्रसाद दाहालले  २०७७।७८ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेसंस्थाले गत असार मसान्तसम्म ३१ हजार २६३ सदस्यमार्फत १४ करोड ३३ लाख ८३ हजार शेयरपुँजी संकलन गरेको उनले बताए ।

त्यसैगरी संस्थागत पुँजी १६ करोड ३७ लाख ७९ हजार, बचत संकलन १ अर्ब ३५ करोड ९७ लाख, ऋण लगानी १ अर्ब ३८ करोड ६३ लाख, सञ्चालन बचत ३ करोड ३९ लाख ६८ हजार गरी कुल सम्पत्ति १ अर्ब ९३ करोड ६४ लाख पुगेको सभालाई जानकारी दिए । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सदस्यको वित्तीय सेवाका लागि जनसचेतन एक विश्वासिलो र सुरक्षित संस्था बनेको उल्लेख गरे । प्रविधियुक्त प्रतिस्पर्धी सुरक्षित वित्तीय सहकारी संस्था भन्ने परिकल्पना पुरा गर्न संस्थाले बनाएको नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन आफुहरु लागि परेको उनको भनाई छ ।

सहकारी बैंक भन्दा फरक रहेको र सदस्य र समुदायलाई सेवा पु¥याउने भएकाले महामारीका अवस्थामा पनि १५ वटै सेवाकेन्द्रमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आएको उनले उल्लेख गरे ।





Leave a comment