नेफ्स्कून ३४औं वर्षमा
काठमाण्डौँ । संयुक्त राष्ट्र संघका छैठौं महासचिव (सन् १९९२–१९९६) डा.बुत्रोस बुत्रोस घालीका अनुसार “सहकारी व्यवसाय, ठूलो संख्यामा मानव समुदायलाई गरिबी विरुद्ध विजय प्राप्त गर्दै उत्पादन मुलक रोजगारीका साथै वृहत् सामाजिक सद्भाव कायम गर्ने अभियानसँग साक्षात्कार गराउने उपयुक्त र प्रभावकारी संगठनात्मक माध्यम बन्न सक्दछ ।”
विश्व साझा मञ्चको हालसम्मका महासचिव हरुमध्ये बढी विद्धता कमाएका घालीले सहकारी प्रारुप मार्फत जनउभार र विश्व अपेक्षाहरुको सम्बोधनको प्रत्याभूति हुन सक्ने संक्षिप्त तर शक्तिशाली अभिव्यक्ति सार्वजनिक गरेका थिए । पुँजीवादी अर्थव्यवस्था विरुद्ध धावा बोल्दै सहकारी अर्थ व्यवस्था प्रतिको यो उनको वकालत थियो ।
संयोग कस्तो थियो भने नेपालमा प्रजातन्त्र पूर्नस्थापना पश्चात नयाँ सहकारी ऐन जारी भएपछिको अवस्थामा घालीको अभिव्यक्ति सार्वजनिक भएको थियो । अर्को संयोग पनि थियो, त्यसको मात्र करिब ३ वर्ष अघि नेपालका बचत तथा ऋण सहकारीहरुको एकमात्र शीर्ष निकाय नेफ्स्कूनको जन्म भएको थियो ।
सहकारीको अन्तर्राष्ट्रिय माहोलले एक प्रकारको उचाई प्राप्त गरिसकेको समयमा नेपाल भर्खर वामे सर्दै थियो । तत्कालिन राष्ट्रिय सहकारी संघ गर्भमै थियो, नेफ्स्कून स्थापनाभएपनि विधिवत् दर्ता भएको थिएन । सीमित प्रारम्भिक सहकारीहरु निरंकुशताको छड्के नजरमा परेका थिए ।
२००७ सालको राजनीतिक परिवर्तन पछि जारी २०१६ सालको ‘सहकारी संस्था ऐन’ र ‘सहकारी संस्था नियमहरु,२०१८’ ले सहकारीहरुको विकास र प्रवर्धनमा खासै भूमिका खेलेनन् । २०४८ सालमा जारी नयाँ सहकारी ऐनले भने बिस्तारै सहकारीमय वातावरण सृजना गरेको थियो ।
- नेफ्स्कूनको स्थापना नेपालको सहकारी अभियानको ‘ब्रेक थ्रु’ घटना थियो । जम्मा २९ सय ५० रुपैयाँबाट बचत अभियान अघि बढेको थियो ।
नेपालमा सहकारीको संख्यात्मक विकासमा सहयोगी कानुन जारी भएको र त्यसैलाई टेकेर २०५० साल भदौ २९ गते नेफ्स्कून विधिवत् दर्ता भएको थियो । मुलुकका केन्द्रीय निकायहरु मध्येको जेठो, नेफ्स्कून सहकारी तथा बचत ऋण सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता, सिद्धान्त पालना गर्दै स्थापित भएको थियो ।
देशभर छरिएर रहेका बचत समुह हरुलाई गोलबद्ध गराउँदै वैकल्पिक अर्थ प्रणालीको सहकारी सम्भावनालाई मूर्त रुप दिने काम यसले थालनी गर्यो ।
नेपालका रोचडेली अगुवाहरु (बखानसिंह गुरुङ र उनको समुह) ले जग बसाले पनि छरिएर रहेका साना थैलीहरुलाई बचत ऋण सहकारी संस्थामा परिणत गर्दै उनीहरुलाई अभिभावकत्व प्रदान गर्न कोदालो खन्ने काम स्वर्गीय भोजराज घिमिरेको अगुवाईमा भएको पाइन्छ ।
तत्कालीन साझा केन्द्र लि.(हालको राष्ट्रिय सहकारी विकास बोर्ड जसलाई त्यसबेला साझा केन्द्रीय कार्यालय पनि भनिन्थ्यो) का कर्मचारीहरु समेतको सहभागितामा संस्थागत हुने कामभयो ।
आपसमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठन गरिएका बचत समूहहरुका प्रतिनिधिहरु (२१ नेफ्स्कून संस्थापक) को २०४५ साल साउन ३२ मा साझा केन्द्रीय कार्यालयमा बसेको बैठकले ‘बचत समूह राष्ट्रिय संघ तदर्थ समिति, नेपाल’ गठन गर्ने निर्णय गर्यो ।
२०४४ सालतिर युनिटेरियन सर्भिस कोअपरेशन अफ क्यानाडा (युएससी क्यानाडा) को आयोजना तथा एशियाली ऋण महासंघ (आकू) को सहयोगमा काठमाडौंमा आयोजना गरिएको बचत समूहहरुको ३ दिने गोष्ठीले नेफ्स्कून स्थापनाको पृष्ठभूमि तयार पारेको थियो ।
सहकारी ऐन २०४८ को दफा ५ अनुसार ‘नेपाल बचत तथा ऋण सहकारी संघ’ (२०५३ फागुन ९ बाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.) को नाममा नेफ्स्कूनले कानुनी मान्यता सहित औपचारिक आकार ग्रहण गर्यो ।
नेफ्स्कूनको स्थापना नेपालको सहकारी अभियानको ‘ब्रेक थ्रु’ घटना थियो । जम्मा २९ सय ५० रुपैयाँबाट बचत अभियान अघि बढेको थियो ।
नेफ्स्कून स्थापना र विकासमा संस्थापकहरु सँगै विष्णु प्रसाद श्रेष्ठ, नारायण शर्मा गजुरेल, मोहनमान सैंजु, हरिदेव पन्त, शंकरराज जोशी, श्रीराम श्रेष्ठ, नारायणदास श्रेष्ठ विष्णु श्रेष्ठलगायत अन्य थुप्र्रैको सहयोग थियो ।
तत्कालिन ओकूका प्रथम उपाध्यक्ष (पछि अध्यक्ष) आयरल्याण्डका अगस्टिन गुस मुर्रे, आकूका तत्कालीन प्रबन्धक सोमचित, रञ्जित हितराजी, एलेनिता भि सानरुकी (लेनी), सेसी क्यानाडाका डा. टोनी, एलेन फ्लोएड, ग्रेग इलियट, जर्ज कुटिकल, बेन प्लामेल, सीसीएका स्रोत व्यक्ति केन डोलम्यान, कार्यक्रम अधिकृत सारा सिङ्मा, डा. फ्रान्सिस जेभिर, श्रीलंकाका क्रिवन्दनीया, कोरियाका ली, आइएलओका जर्मन परामर्शदाता साइमन आदिको सहयोग रहेको देखिन्छ ।
नेफ्स्कूनको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा बिष्णुप्रसाद श्रेष्ठ र श्रीराम श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । नेफ्स्कूनलाई सुरुमा अंग्रजीमा National Federation of Savings and Credit Unions (NAFSCUN) भनिन्थ्यो । पछि Nepal Federation of Savings and Credit Cooperative Unions (NEFSCUN) राखिएको बिष्णुप्रसाद श्रेष्ठको भनाइ छ ।
नेफ्स्कून गर्भ मै रहँदा सुत्रधार विष्णुप्रसाद श्रेष्ठमार्फत आकूसँग गाँसिएको सम्बन्ध सेतु विश्व ऋण परिषद् (ओकू) लगायत अन्य अन्तर्राष्ट्रिय सहकारी निकाय हरुसम्म जोडियो ।
औपचारिक रुपमा भने नेफ्स्कूनले २०५५ मा आकूको र २०७४ मा ओकूको सदस्यता प्राप्त गर्यो । क्यानेडियन सहकारी संघ (सीसीए) ले झण्डै २ दशक र आइरिस बचत तथा ऋण सहकारी संघ (आइरिस लीग अफ क्रेडिट युनियन ) ले करिब ७ वर्ष नेफ्स्कूनलाई प्रत्यक्ष सहयोग गरेको देखिन्छ ।
एग्रिटेरा नेदरल्याण्ड्सले २०६० सालदेखि त्यहाँको लघु बिमा संघको प्राविधिक सहयोगमा नेफ्स्कूनका सदस्यहरु लक्षित लघु बिमा कार्यक्रम प्रवर्धनमा सहयोग गरेको पाइन्छ । त्यहाँको कोडी संस्थाले पनि संघमार्फत सहकारी डिप्लोमा कोर्ष उपलब्ध गराएको थियो ।
भारत स्थित कृषि बैंकिङमा अन्तर्राष्ट्रिय सहयोग एवम् तालिम केन्द्र (सिक्ट्याव, सन् २००४ बाट) ले लघुवित्त कृषिमा आधारित तालिम तथा शिक्षाकाकार्यक्रम हरुमार्फत वर्षेनी अभियान कर्मीहरुको सीप र क्षमता विकासमा सहयोग पाइन्छ ।
बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (सीसीयूलबी), गरिबसँग बैंकिङ (अष्ट्रेलिया, सन् २०१६बाट ) सँग अन्तर्राष्ट्रिय आबद्धता थपिए ।
दक्षिण कोरियाली बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय (नाकूफोक), श्रीलंकाली बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ (सान्सा)।
तथा युरोपियन युनियन, युकेएड, मर्सिकोर, लायन्स क्लब इन्टरनेशनल, सुरक्षित आप्रवाशन परियोजना (सामी), अन्तर्राष्ट्रिय श्रम संगठन नेपाललगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हरुसँग यसको सहकार्य र सम्बन्ध विस्तार भएको देखिन्छ ।
तुलनात्मक रुपमा आज राजनीतिक, कानुनी रनीतिगत सहजता छ । अन्तर्राष्ट्रिय सम्बन्धहरु विस्तार र प्रगाढ भएका छन् । यद्यपि, आज अनपेक्षित चुनौती बनेर उभिएको कोभिडका ‘बाईप्रडक्ट’ हरु भने थपिदैं र लामो समयसम्म रहने छन् ।
नेफ्स्कूनले असल अन्तर्राष्ट्रिय अभ्यासहरु समेटेर सदस्य साकोसहरुको दिगो संस्थागत विकास, प्राविधिक सक्षमता, वित्तीय सुशासन, मानव संशाधन व्यवस्थापन, व्यवस्थापकीय उत्कृष्टतामा प्रत्यक्ष सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ ।
आकूको सहयोगमा नेपालमा पल्र्स अनुगमन प्रणालीको जग बसाल्न १५ वटा साकोसको सहभागितामा लागू गरिएको इन्डेकूवा परियोजना, २०५८ सालमा लघुवित्त कार्यक्रम, २०६० सालमा इन्डे साकोस ।
२०६४ साल पछि तालिम र शिक्षाको क्षेत्रमा आकूको सहयोगमा साकोसका सञ्चालक, व्यवस्थापक, ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिमहरु सीयूडीसीसी, सीयूएमसीसी, सीयूएलसीसी आदि सुरुवात भएको पाइन्छ ।
त्यस्तै, २०६४ सालदेखि एक्सेस् ब्रान्डिङ कार्यक्रम, साकोस ऐन र स्थिरीकरण कोषका सम्बन्धमा बहस पैरवी गरेको पाइन्छ । प्रोबेसन कार्यक्रम, विभिन्न मार्गनिर्देशिका पनि जारी गरी लागू गरिएको देखिन्छ । कर्बस कार्यक्रम, जिल्ला संघ साझेदारी कार्यक्रम, आधारशिला कार्यक्रमलाई निरन्तरता दिएको छ ।
२०५२ सालको पहिलो रणनीतिक योजना, इन्डेकूवा परियोजना, २०५३ सालबाट सुरु भएको अन्तरलगानी कार्यक्रम, २०७० सालमा काठमाडौंमा सम्पन्न आकूको ३२ औं साधारणसभा, लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०७३, राष्ट्रिय महिला गोष्ठी २०७४, पहिलो, दोस्रो र तेस्रो साकोस शिखर गोष्ठी ।
त्यसैगरी प्रदेशस्तरीय सहकारी युवा सम्मेलन, लघुवित्त एवम् उद्यमशिलता विकास कार्यशाला गोष्ठी, साकोस एकरुपता प्रणाली (२०७१) लगायत प्रयासहरु ‘नेफ्स्कून माइलस्टोनहरु’ हुन् ।
यस्तै, आकूको अध्यक्षका रुपमा पहिलो पटक नेपालबाट नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे र प्रथम उपाध्यक्षको रुपमा पूर्व अध्यक्ष मिनराज कडेल निर्वाचित हुनु महत्वपूर्ण उपलब्धि लिएको छ ।
आरम्भका दिनमा अधिकांश प्रारम्भिक संस्थाहरु बलिया थिएनन् । नेफ्स्कून आफै शैशव अवस्थामा थियो । चुनौतीहरु दुइतर्फ नै थिए । हिजोको नेफ्स्कूनसँग अनुभव कम भए पनि अर्गानिक काम, योजना र रणनीतिहरु थिए ।
मुख्य कुरा पढेर भन्दा परेर नेफ्स्कूनले अनुभवको अपरिमित धन आर्जन सहित बलियो जग बसालेको थियो । आफ्नै भवन जोडेको थियो ।
व्यवस्था, अवस्था र आंकाक्षाहरुमा परिवर्तनको स्पष्ट बोधसँगै आजको नेफ्स्कूनसँग चुनौती हरुसँगै बग्रेल्ती सम्भावनाहरु छन् । कारोबार, सेवा केन्द्र र सदस्यहरु थपिएका छन् । दु्रततर भौतिक प्रगति भएको छ ।
खारिएका कार्यक्रम, कार्ययोजनाहरु रणनीतिहरु कार्यान्वयनमा छन् । हजारबाट सुरु भएको कारोबार अर्बमा, दुई अंकबाट सुरु भएको सदस्य संख्या ४ अंकमा र त्यही अनुपातमा वित्तीय सूचकहरु विस्तारित भएका छन् ।
तुलनात्मक रुपमा आज राजनीतिक, कानुनी रनीतिगत सहजता छ । अन्तर्राष्ट्रिय सम्बन्धहरु विस्तार र प्रगाढ भएका छन् । यद्यपि, आज अनपेक्षित चुनौती बनेर उभिएको कोभिडका ‘बाईप्रडक्ट’ हरु भने थपिदैं र लामो समयसम्म रहने छन् ।
योगदानको दृष्टिले संघ जेठो र ठूलो छ । बचत ऋण सहकारी हरुकालागि स्थिरीकरण कोष सम्बन्धी अपुरै भए पनि कानुनी व्यवस्था सहितको नयाँ सहकारी ऐन र नियमावली छ ।
साथै अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले घोषणा गरेको दोस्रो सहकारी दशक (सन् २०२०–२०३०) को People-Centered Path ‘जनता केन्द्रीत मार्ग’, संयुक्त राष्ट्र संघले सन् २०१५–२०३० सम्मकालागि घोषणा गरेको दिगो विकास लक्ष्य ।
विश्व ऋण परिषद् (ओकू) ले घोषणा गरेको Challenge 2025 ‘सन् २०२५ सम्मका चुनौती’ जस अन्तर्गत विश्वव्यापी क्रेडिट युनियनहरुको डिजिटाइजेशनको लक्ष्य, एशियाली ऋण महासंघ (आकू) को रणनीतिक लक्ष्यहरुलाई पनि आत्मसात् गर्दै नेफ्स्कून अघि बढ्नुपर्ने देखिन्छ ।
Leave a comment