हाइलाइट

एनएमसीको सिइओमा सूर्यप्रसाद रिमाल छनोट

एनएमसीको सिइओमा सूर्यप्रसाद रिमाल छनोट :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सूर्यप्रसाद रिमाल छनोट भएका छन् । संस्थाको सञ्चालक समितिको भदौ १० गते सम्पन्न बैठकबाट रिमाललाई प्रमुख कार्यकारी अधिकृत पदमा असोज १ गतेदेखि लागू हुनेगरी नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लक्ष्मीप्रसाद उप्रेतीले राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित भएपछी गत जेठमा राजिनामा दिएका थिए ।

रिक्त रहेको उक्त पदकालागि संस्थाले गत असार १५ गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । असार मसान्तसम्म समय सिमा निर्धारण गरी आवेदन माग गरिएकोमा तोकिएको समय सिमाभित्र दर्ताभएका आवेदनहरुमध्येबाट प्रारम्भिक सूचीका लागि छनोट गरिएको थियो । प्रारम्भिक सूचीमा पर्न सफल उम्मेद्वारहरुका बिच भदौ ६ र ७ गते सम्पन्न व्यावसायिक योजना प्रस्तुति तथा अन्तर्वार्तामा रिमाल प्रमुख कार्यकारी अधिकृत पदमा छनोट भएका हुन् ।

विगत १५ वर्षभन्दा बढी सहकारी क्षेत्रको अनुभव बटुलेका रिमाल पछिल्लो समय राष्ट्रिय सहकारी बैंकको स्तरीकरण विभाग प्रमुखको रुपमा कार्यरत थिए । बेलबारी नगरपालिका–६, मोरङ निवासी रिमालको प्राध्यापनको समेत अनुभव रहेको छ । एकलाख ७० हजारभन्दा बढी सदस्य रहेको देशकै प्रमुख सहकारी संस्थाहरुमध्येको एक यस संस्थाको कार्यक्षेत्र झापा, इलाम र मोरङ रहेको छ । संस्थाले बचत तथा ऋण, डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल व्यवसाय र चिया उद्योग सञ्चालन गरेको छ।



Leave a comment