नेफ्स्कून हिजो, आज र भोली

नेफ्स्कून हिजो, आज र भोली :: Sahakari Akhabar
कुनै पनि संगठनको विकास एक्कासि हुँदैन । उसको विकासको गति क्रमबद्ध नै हुने गर्दछ । नेफ्स्कूनको जीवनचक्रलाई  हेर्ने हो भने पनि ४ वटा चक्रबाट यो अगाडि बढेको पाईन्छ ।

१.नवदित अवस्था Nascent.

२. स्थापनाको अवस्था Establishment.

३ विकासको अवस्था. Development.

४ परिपक्कताको अवस्था  Maturity.

नेफ्स्कूनको इतिहास २०४४ साल देखि प्रारम्भ हुन्छ । यत्रतत्र छरिएको बचत समुहहरु र ति समुहहरुलाई बचत अवधारणाको शिक्षा, एकाकार गर्दै सहकारीको मार्गमा हिँडाउनु त्यसबेलाको चुनौतिपूर्ण काम थियो ।

त्यस कार्यलाई ठोस मार्गदर्शन दिन एशियाली ऋण महासंघको प्रत्यक्ष संलग्नतामा बचत अवधारणाको प्रचार प्रसार, बचत समुहहरुको प्रवद्र्धन र विकासको फलस्वरुप नै २०४५ साल श्रावण ३२ गते बचत समुह राष्ट्रिय संघ तर्दथ समिति भोजराज घिमिरेको अध्यक्षतामा गठन भयो ।

यसै मितिको आधारमा श्रावण ३२ लाई नेफ्स्कून स्थापना दिवसको रुपमा मनाउँदै आईएको छ । त्यो समिति २०४५ साल मंसिर ७ गते बचत तथा ऋण समूह राष्ट्रिय तर्दथ समितिमा रुपान्तरण भयो ।

२०४७ साल असार २८ गते बचत तथा ऋण राष्ट्रिय संघमा परिणत भयो । २०४७ साल आश्विन २४ गते राष्ट्रिय बचत तथा ऋण सहकारी संघमा परिणत भयो । २०५० साल भाद्र २९ गते सो संघ नेपाल बचत तथा ऋण सहकारी संघको रुपमा सहकारी विभागमा दर्ता भयो ।

यस पछि २०५३ साल फागुन ९ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको रुपमा स्थापित हुन गयो । प्रारम्भका दिनमा संगठन विस्तार तथा प्रवद्र्धनका कार्यहरु  तिब्र रुपमा अगाडि बढे ।

२०४८ सालको सहकारी ऐन आए पछि जव बचत तथा ऋणका संस्थाहरु खुल्न थाले तव ति संस्थाहरुलाई संघमा आवद्धता गराउने कार्य अगाडि बढ्यो ।

२०५५ साल देखि संस्थाहरुमा आवश्यक नीतिहरुको विकास पल्र्सको महत्व, संस्थाहरुको दिगोपनाका बिषयमा बहस तथा छलफल हुन थाल्यो । यस अवधिमा नेफ्स्कूनको आन्तरिक जीवन आर्थिक रुपमा कमजोर थियो ।

२०६३ साल देखि नफ्स्कूनले पल्र्स शिक्षा, तालिम तथा शिक्षाका कार्यक्रमहरु अगाडि बढायो । अन्तर लगानी कार्यक्रम, फिल्ड कार्यालय बिस्तार, नव प्रर्वतनहरुको हस्तान्तरण तथा आन्तरिकीकरण गर्दै गुणस्तर सुनिश्चितता कार्यक्रममा फड्को मार्यो ।

त्यस पछाडि  पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रममा आफ्नै कार्यक्रमको रुपमा अगाडि बढायो । २०७१ साल देखि साकोस एकरुपता प्रणाली आगाडि बढाउँदै स्थिरीकरण कोषको बहसलाई तिव्रता प्रदान गर्यो ।

यस अवधिमा जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम  सञ्चालनमा ल्यायो । २०७४ सालमा सहकारी ऐन आउँदा सो ऐन मार्फत स्थिरीकरण कोषको सम्बोधन मात्र होईन सो ऐनले धेरै ठाउँमा नेफ्स्कूनलाई सम्बोधन गर्यो । 

नेफ्स्कून अहिले आत्मनिर्भर बन्दै आफ्नै जग्गा तथा भवन, देशभर फिल्ड कार्यालयहरु, अन्तर लगानी सेवा मार्फत सदस्य संस्थाहरुलाई प्रतिश्पर्धात्मक  वित्तीय सेवा प्रदान गरिरहेको छ ।

अबका दिनमा नेफ्स्कून एक परिपक्क संघको रुपमा स्थापित हुन जरुरत छ । इतिहासमा आर्दश नेतृत्वबाट सम्हालिदै आएको यो संघमा धेरैको मेहनत र पसिना बगेको छ ।

साकोसहरुको भरोसाको केन्द्रको रुपमा यो स्थापित हुन जरुरत छ । सक्षम तथा स्वार्थ रहित, दुरदर्शी तथा गर्व बोध गर्दै इतिहास बोक्न सक्ने नेतृत्व हुनु आवश्यक छ ।

आगामी दिनमा नेफ्स्कूनले सदस्य सेवालाई प्राथमिकता, सदस्य विस्तारमा जोड, प्रविधी युक्त साकोस, संघन अनुगमन, स्थिरीकरण कोष मार्फत संस्थाहरुको स्थलगत तथा गैर स्थलगत अनुगमनको लागि पहलकदमी गर्नु छ।

राज्यबाट गुणस्तर कार्यक्रमको स्वामित्व, घनिभूत तालिम तथा शिक्षा, प्रशिक्षक प्रशिक्षण कार्यक्रम, शिक्षालयको स्थापना, आधारभूत साकोस  प्रवद्र्धन कार्यक्रम, साकोस एकरुपता प्रणालीको निरन्तरता र जोखिम तथा गुणस्तर कार्यक्रमको विस्तार तथा सरलीकरण गर्नु आवश्यक छ ।

कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण तथा व्याजकरमा पहलकदमी लिनु आवश्यक छ । नेफ्स्कून आफै पनि व्यवसायिक व्यवस्थापनको माध्यमबाट गुणस्तरीयता तर्फ आगाडि बढ्नु आजको आवश्यकता हो । नेफ्स्कूनको ३४औं स्थापनाको अवसरमा उन्नति, प्रगतिको हार्दिक शुभकामना ।




Leave a comment