अरनिको सहकारीको सन्तती संरक्षण बचत कोष स्थापना

अरनिको सहकारीको सन्तती संरक्षण बचत कोष स्थापना :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको अरनिको बहुउद्देश्यीय सहकारीले नयाँ बचत योजना ल्याएको छ । सहकारीले सञ्चालनमा ल्याएको सन्तती संरक्षण बचत कोष निकै प्रभावकारी देखिएको छ ।

सहकारीले बार्षिक २० हजार तिर्नेलाई १६ बर्षपछि साढे ९ लाख भुक्तानी दिने सहकारीका सचिव गोपाल प्रसाद पाण्डेले जानकारी दिए । त्यसैगरी बार्षिक ४० हजार बचत गर्नेलाई १९ लाख र बार्षिक ५० हजार जम्मा गर्नेलाई २३ लाख दिने पाण्डेले बताए । सबैको अवधि १६ बर्ष नै रहेको सहकारीले जनाएको छ ।

सहकारीका नियमित शेयर सदस्यहरुले मात्र सन्तती बचत कोषमा जम्मा गर्न पाउनेछन् । पछि शेयर सदस्यका छोराछोरीलाई पढ्नको लागि सहज होस् भन्ने उद्देश्यले सहकारी यस्तो स्किम ल्याएको सचिव पाण्डेको भनाई छ ।

त्यसैगरी सहकारीले क्रमागत बचत खाता पनि सञ्चालन गरेको छ । जुन खातामा शेयर सदस्यले ५ लाखसम्म जम्मा गर्न पाउनेछन् । त्यसमा १२ प्रतिशत व्याज सदस्यलाई दिने गरेको सहकारीका अध्यक्ष हरिभक्त सिटौलाले जानकारी दिए ।

सहकारीले मृत्यु राहत कोष सञ्चालनमा ल्याएको छ । अहिले काष्ोमा २५ लाख रहेको र अब बढाउँदै जाने अध्यक्ष सिटौलाले बताए । सिटौलाका अनुसार अहिले शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च भनेर ६० हजार सहयोग गरिरहेको सहकारीले अब १ लाख पुर्याउने लक्ष्य राखेको छ ।

सहकारीको शेयरपुँजी ४ करोड ६० लाख ८४ हजार रहेको छ भने बचत २५ करोड रहेको छ । २३ करोड ऋण लगानी गरेको छ । सहकारीको कारोबार ७० करोड पुगेको छ । सहकारीले आफ्नै भवन बनाएको छ । १ करोड २१ लाखमा १० धूर जग्गा किनेर सहकारीले १ करोड ३५ लाखमा ४ तले घर बनाएको छ । 

पेट्रोल पम्पमा लगानी
सहकारीले पेट्रोल पम्पमा पनि लगानी गरेको छ । २ करोड लगानीमा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ । विराटनगरको आयल निगम नजिकै रहेको अरनिको बहुउदेश्यीय सहकारी संस्थाद्धारा सञ्चालित पेट्रोल पम्पको आफ्नै १० कठ्ठा जग्गा पनि रहेको छ ।

एकै पटकमा ६ वटा गाडिमा तेल भर्न सकिने सुविधा रहेको पेट्रोल पम्पको दैनिक ८ देखि ९ हजारसम्म तेल विक्री हुन्छ । बार्षिक २४ करोड बराबरको तेल विक्री हुने गरेको सहकारीका अध्यक्ष सिटौलाले बताए । सहकारीले बार्षिक २० लाखसम्म नाफा कमाउने गरेको उनको भनाई छ ।

२०६७ सालमा सहकारीले पम्प किनेर सञ्चालनमा ल्याएको हो । २०६८ साल देखि सरकारले सहकारीलाई पेट्रोलपम्प सञ्चालनको लागि लाईसेन्स दिन बन्द गरेको छ । सहकारीले अहिले पेट्रोल पम्प सञ्चालन गर्न पाउँदैनन् ।

सहकारीले पेट्रोल पम्पसँगै विजुली गाडि चार्ज गर्ने चार्जिङ स्टेशन पनि सञ्चालन गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण विजुली गाडि नचलेकाले स्टेशन सञ्चालन नगरेको अध्यक्ष सिटौलाले जानकारी दिए । गाडि सञ्चालनमा आएभने चार्जिङ स्टेशन सञ्चालन गरिने सहकारीले जनाएको छ ।

सहकारीले सहकारी संस्थामा ७ जनार र पेट्रोल पम्पमा ९ जना गरी १७ जनालाई रोजगारी दिएको छ । सहकारीले अहिले बार्षिक ३२ लाख राजस्व सरकारलाई  तिर्ने गरेको छ । 




Leave a comment