सहकारी शिक्षा : आधुनिक र वैज्ञानिक बनाउनु पर्छ

सहकारी शिक्षा : आधुनिक र वैज्ञानिक बनाउनु पर्छ :: Sahakari Akhabar

काठमाडौँ । सहकारी क्षेत्रको प्रभावकारिता बढाउनका लागि शिक्षालाई आधुनिक र वैज्ञानिक बनाउनु पर्ने सरोकारवालाहरुको भनाइ छ ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरले शुक्रवार भर्चुअल रुपमा आयोजना गरेको सहकारीको पाठ्यक्रम स्तरोन्नतीका लागि सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारी शिक्षा, सूचना, तालिम र अनुसन्धानमुलक क्रियाकलापहरुलाई आधुनिक एवं वैज्ञानिक बनाउदैलानु पर्ने बताएका छन् ।

डिभिजन सहकारी कार्यालयहरु खारेज भएपछि सहकारी क्षेत्र अन्यौलग्रस्त बनेको उनीहरुको भनाई छ । स्थानीय तहमा कर्मचारीको अभाव, भएका कर्मचारीहरु पनि सहकारी सम्बन्धमा दक्ष नभएका कारणले सहकारीको प्रवद्र्धन हुन नसकेको सहभागीहरुले बताए ।

‘सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउदै देशमा विद्यमान गरिवी निवारणमा सहकारीको योगदान बढाउनका लागि स्थानीय तहलाई सवल, सक्षम बनाउनुका साथै बजेट विनियोजन गर्ने र त्यसलाई कार्यान्वयनमा जोड दिनु पर्छ ।’

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, सहकारी विभाग, प्रदेश सहकारी विभाग तथा सहकारी अभियानका निकायहरुबीच समन्वय गर्दै सहकारीको प्रवद्र्धन हुने खालका पाठ्यक्रम तयार पारेर स्थानीय तह मार्फत परिचालन गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका थिए

कार्यक्रममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य पार्वती अर्यालले सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको तालिमको पाठ्यक्रम सम्बन्धमा अवधारणापत्र प्रस्तुत गरेकी थिइन ।

सहकारी क्षेत्रलाई व्यवस्थित, प्रभावकारी र प्रतिफलमुखी बनाउनका लागि सहकारीको पाठ्य सामग्रीलाई समयानुकुल बनाउन सातै प्रदेशका प्रदेश सहकारी विभाग, स्थानीय तह र सहकारी अभियानसंग सुझावका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिइन ।

कार्यक्रममा पूर्व सचिव विष्णु प्रसाद लम्सालले अवधारणा पत्रमा टिप्पणी गर्दै तालिम मार्फत सहकारी क्षेत्रमा क्रियाशिल सहकारीकर्मीहरुको ज्ञान, सीप र व्यवहार परिवर्तनमा जोड दिए । उनले सहकारी शिक्षामा सफल सहकारीहरुका उदाहरणहरुलाई समेत समेट्नु सुझाव दिए ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार उदय बहादुर पराजुलीले तालिमले सहकारी संघ संस्थाहरुको योजना निर्माणमा सुधार ल्याउनु पर्ने बताए ।



Leave a comment