सहकारी बैङ्कको वित्तीय साक्षरता, बाल क्लबले सिकाएको पाठ

सहकारी बैङ्कको वित्तीय साक्षरता, बाल क्लबले सिकाएको पाठ :: Sahakari Akhabar

बाल क्लबमा आबद्ध विद्यार्थीले ऐच्छिक रुपमा उक्त संस्थामा खाता खोली दिगो रूपमा बचत गर्न समेत सक्ने छन् । बैङ्कले विभिन्न विद्यालयमा बाल क्लब गठन गर्दै वित्तीय साक्षरता सिकाइरहेको छ । यसबाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।

दाङ । माध्यमिक विद्यालय रझेना दाङमा कक्षा ९ मा अध्ययनरत भूमिका डाँगी गएको सोमबार कार्यक्रममा सहभागी हुन उत्साहित थिइन । विद्यालयको परीक्षा सकेर एउटा कार्यक्रममा सहभागी हुँदा उनलाई आत्म ज्ञान भयो ।

राष्ट्रिय सहकारी बैङ्क दाङ शाखाको टोली उनको विद्यालयमा पुग्दै गर्दा उनलाई कार्यक्रमबारे राम्ररी थाहा थिएन । तर वित्तीय साक्षरताबारे सुन्दै गर्दा उनलाई कौतुहलता जाग्दै थियो । उनी बैङ्कका तालिम अधिकृत प्रशिक्षक नारायण बेलिबासेले दिएको वित्तीय साक्षरतासम्बन्धी कक्षा चाखपूर्वक सुन्दै थिइन् ।

चाडपर्वको बेला भूमिकाको एक हजार भन्दा बढी बचत हुन्छ । दसैँ, तिहार, या अरू कुनै पर्वमा आमाबुवा, मावलीहरू तथा आफन्तले टिका लगाउँदा १ हजार भन्दा पनि बढी जम्मा हुने गरेको सुनाउँछिन् ।

‘तर सबै पैसा खाएरै सकिन्थ्यो,’उनले भनिन्,‘वित्तीय साक्षरता कक्षा सुनेर धेरै कुरा बुझ्न पाएँ ।’ अब त्यसरी पैसा खर्च नगर्ने, बचाएर राख्ने सोच पलाएको उनले बताइन् ।

१ घण्टा बढी वित्तीय साक्षरता कार्यक्रमपछि सहकारी अखबारसँग कुरा गर्दै भूमिका भन्दै थिइन्, ‘अब जथाभाबी खर्च गर्न हुन्न, थोरै भए पनि बचाउनुपर्छ भन्ने सिके ।’

उनका बुबा आर्मीमा छन् । आमा गृहणी हुन् । तीन सन्तानमध्ये उनी जेठी हुन् । आर्थिक अवस्था कमजोर भएका कारण बोर्डिङ स्कुल नपाएको उनले बताइन् । मावि रझेनामा अंग्रेजी माध्यमबाट पनि पढाइ हुने भएकाले अङ्ग्रेजीमा खासै समस्या नहुने विद्यार्थीहरूको अनुभव छ ।

भूमिका घोराहीको बडहरा बस्छिन् । रोल्पाबाट बसाइ सरी आएका उनका परिवार सामान्य आर्थिक हैसियतका हुन् । वित्तीय साक्षरताको कक्षाले नयाँ दृष्टिकोण ल्याएको उनले सुनाइन् ।

१५ वर्षीय भूमिकाले भनिन्, ‘अब अनावश्यक खर्च गर्दिन, भरसक बचाउने कोसिस गर्ने छु ।’ चाहनामा होइन आवश्यकतामा खर्च गर्ने बानीको विकास गर्न उनले प्रतिबद्धता जनाइन् ।

आम्दानी, बचत र खर्चबारे परिवारमा आमाबुबासँग अनुभव साटेर पारिवारिक बजेट बनाउन सघाउने उनले बताइन् । ‘लेखा विषय पढ्दा सहकारीबारे सामान्य जान्ने, बुझ्ने मौका पाएकी थिएँ’ उनले भनिन्, ‘वित्तीय साक्षरताले सहकारी र वित्तीय ज्ञान प्राप्त भएकोमा खुसी लागेको छ ।’

कक्षा ९ मै अध्ययनरत यादव श्रेष्ठले पनि वित्तीय साक्षरताले भविष्यप्रति चिन्तन गर्न सिकाएको बताए । ‘अबदेखि भविष्यबारे सोच्ने छु’ उनले भने, ‘आफूले कमाएको पैसा थोरै भए पनि बचाएर राख्ने छु, सानो बचतबाट बिस्तारै ठुलो हुने हो ।’ उमेरले सानो भए पनि सोच सानो राख्न नहुने उनले सुनाए ।

बाल क्लवको नेतृत्वकर्ताले एक वर्षसम्म नेतृत्व गरी विभिन्न रचनात्मक कार्यक्रम गर्नु पर्छ । सहकारीसँग सम्बन्धित हाजिरी जवाफ, वक्तृत्वकला लगायत अतिरिक्त क्रियाकलाप राख्न सक्छन् । त्यसका लागि आवश्यक पर्ने खर्च बैङ्क तथा सम्बन्धित संस्थाले उपलब्ध गराउने गरिएको बेल्बासलेले जानकारी दिए ।

विद्यार्थी विमला श्रेष्ठले वित्तीय साक्षरता कार्यक्रमले पैसाको महत्त्व सिकाएको भन्दै अब जथाभाबी खर्च नगर्ने बताइन् । चाहनामा हुने खर्च कटौती गरी आवश्यकतामा मात्रै खर्च गर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक लालमणि आचार्यले विद्यार्थीको सक्रियताले खुसी तुल्याएको बताए । ‘अरू कार्यक्रममा यसरी सक्रिय भएको देखेको थिएन’ उनले भने, ‘आफ्नो जीवनमा मेल खाएर होला वित्तीय साक्षरता कक्षाले विद्यार्थीलाई खुसी तुल्यायो ।’ 

विद्यालयका शिक्षक तथा बाल कल्वका संरक्षक झक्कुप्रशाद पौडेलले यस्ता वित्तीय साक्षरता निरन्तर अघि बढाइने बताए ।  ‘प्रभावकारी हुने गरी  कार्यक्रम हुनेछन्’ उनले भने ।

राष्ट्रिय सहकारी बैङ्क दाङ शाखा प्रमुख डिल्लीराज दाहालले दाङका धेरै विद्यालयमा वित्तीय साक्षरता र सहकारीबारे पढाएर बाल क्लब गठन गरिएको बताए । बित्तियरुपमा कसरी साक्षर हुने, बचत र ऋणको बारेमा बुझाउने क्रममा अधिकांश विद्यार्थी उत्साहित हुने गरेको उनले सुनाए ।

राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् बैङ्क दाङ शाखा व्यवस्थापन समितिका संयोजक भरत बुढाथोकीले थोपा थोपाबाट प्रगति हुने भन्दै वित्तीय साक्षरताले विद्यार्थीलाई रचनात्मक बनाउन सघाउने बताए । समय तालिका बनाएर विद्यार्थीसँग सहकार्य गरी कार्यक्रम गरिने उनले बताए ।

बैङ्कका तालिम अधिकृत नारायण बेल्बासेले विद्यालयमा वित्तीय साक्षरता सिकाउँदै बाल क्लब गठन गरिएको बताए । यसले विद्यार्थीलाई सहकारी र वित्तीय साक्षरता बुझ्ने अवसर पाउने उनको भनाइ छ ।

बाल क्लवको नेतृत्वकर्ताले एक वर्षसम्म नेतृत्व गरी विभिन्न रचनात्मक कार्यक्रम गर्नु पर्छ । सहकारीसँग सम्बन्धित हाजिरी जवाफ, वक्तृत्वकला लगायत अतिरिक्त क्रियाकलाप राख्न सक्छन् । त्यसका लागि आवश्यक पर्ने खर्च बैङ्क तथा सम्बन्धित संस्थाले उपलब्ध गराउने गरिएको बेल्बासलेले जानकारी दिए ।

बाल क्लबमा आबद्ध विद्यार्थीले ऐच्छिक रुपमा उक्त संस्थामा खाता खोली दिगो रूपमा बचत गर्न समेत सक्ने छन् । बैङ्कले विभिन्न विद्यालयमा बाल क्लब गठन गर्दै वित्तीय साक्षरता सिकाइरहेको छ । यसबाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।

रझेनामा भूमिका डाँगीको अध्यक्षतामा ९ सदस्य सहकारी बाल कवल गठन गरिएको हो । क्लबको उपाध्यक्षमा विमला श्रेष्ठ, सचिवमा यादव भण्डारी रहेका छन् । बाल क्लबको संरक्षकमा शिक्षक झक्कुप्रसाद पौडेल छन् ।




Leave a comment