काठमाडौं । गढीमाई नगरपालिका बरियारपुर बारामा रहेको पालनपोषण बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित क्षेत्रको पुनःउत्थानकालागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको हो ।
संस्थाको सहयोगले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि टेवा पुग्नेछ भन्ने पूर्ण विश्वासका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।
राहत तथा उद्धारका लागि सरकारले गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै संस्थाले विपद्का कारण प्रभावित नागरिकहरुको पुनःस्थापनामा सहयोग हुने अपेक्ष गरिएको संस्थाले जनाएको छ । कोषमा सहकारीका सदस्य, संचालक समिति तथा विभिन्न उपसमिति र कर्मचारीहरुको तर्फबाट सहयोग गरिएको संस्थाको भनाइ छ ।
साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवालगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।
Leave a comment