एक दर्जन सहकारी नाराको उपलब्धि के ?

एक दर्जन सहकारी नाराको उपलब्धि के ? :: Sahakari Akhabar

काठमाडौँ । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइन्छ । हरेक वर्ष दिवसको नारा तय गरेर सहकारीलाई दिशानिर्देश गरे पनि नाराको मर्म अनुरूप सहकारीले काम नगर्दा नारा, नारामा मात्रै सीमित भएका छन् ।

सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासङ्घले थिम (नारा) तय गर्छ । महासङ्घले विगतदेखि नै दिवसका लागि नारा तय गर्दै आएको छ । तर त्यस अनुरूप के कति काम भयो भनेर कुनै लेखाजोखा भने गरिएको छैन । नारा औपचारिक कार्यक्रममा मात्रै सीमित भएकाले यस्ता नाराले सार्थकता पाउन सकेको छैन ।

महासङ्घले विगतमा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, आर्थिक विकास र समाज रूपान्तरण, आयात प्रतिस्थापन र सामाजिक न्याय, दिगो आर्थिक विकास तथा सामाजिक न्याय, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम र पर्यटनका लागि सहकारी, मर्यादित व्यवसाय र प्रविधिमा सहकारी, आर्थिक उन्नतिका लागि सहकारी लगायत नारा तय गरी सकेको छ ।

५५ औँ देखि ६४ औँ राष्ट्रिय सहकारी दिवस सम्म आइपुग्दा दर्जन बढी नाराको रचना गरिएपनि नारा औपचारिकतामा मात्रै सीमित भएका छन् । तय गरिएका नारा अनुरूप कति काम भयो भनेर महासङ्घले समीक्षा पनि गरेको छैन । सहकारीहरू पनि त्यसरी कार्य योजना बनाएर अघि बढ्न सकेका छैनन् ।

महासङ्घका अध्यक्ष मीनराज कँडेलले नारा अनुसार उपलब्धि हासिल गर्न कार्य योजना बनाएर अघि बढ्ने बताए । ‘यस वर्ष कति सहकारीलाई प्रविधि प्रयोग गर्न सकिन्छ भनेर गृहकार्य गर्दै छौं’ उनले भने ।

त्यसो त सहकारीले प्रविधि मार्फत वित्तिय सेवा प्रवाह गर्नुलाई प्रविधिको प्रयोग बुझेको छ । तर सहकारीले सदस्यलाई दिने वित्तीय बाहेकका सेवा पनि आधुनिक प्रविधि मार्फत दिन सकिन्छ ।

अहिले वित्तीय सेवा प्रवाहमै प्रविधि प्रयोग गर्ने सहकारी पनि निकै कम छन् भने व्यवसाय गर्ने सहकारीको सङ्ख्या पनि न्यून छ । महासङ्घले यस वर्ष ६४ औँ सहकारी दिवसका लागि ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । यो उद्देश्य हासिल गर्न महासङ्घले कार्य योजना बनाउन लागेको अध्यक्ष कडेलले बताए ।

महासङ्घले गत वर्ष ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी नारा तय गरेको थियो । उक्त नारा पूर्णरुपमा असफल भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले अर्थतन्त्र नै तहसनहस भएपछि उक्त नारा नारामै सीमित हुन पुगेको हो । कोभिडले लाखौँको रोजगारी खोसिएको छ । पर्यटन क्षेत्र ध्वस्त भएको छ ।

नारा तय गरिए पनि सहकारी मार्फत रोजगारी सिर्जना गर्न र पर्यटनमा लगानी बढाउन कुनै भूमिका खेलिएको छैन । सहकारीको सङ्ख्याको तुलनामा रोजगारी निकै कम छ । पर्यटनमा केही मात्रै सहकारीले लगानी गरेका छन् । देशभर ३० हजार सहकारीले ८८ हजार ३ सयलाई मात्रै रोजगारी दिएका छन् ।

यसरी औसतमा हिसाब गर्दा एक सहकारीले तीन जनालाई मात्रै रोजगारी दिएका छन् । महासङ्घले कोभिडपछि रोजगारी सिर्जना गर्नतर्फ हालसम्म पनि कुनै ठोस योजना ल्याउन सकेको छैन ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले यस वर्षदेखि तथ्यांक आउने गरी कार्य योजना बनाउन लागिएको बताए । ‘बजेट, कार्यविधि र कार्यक्रम बनाएर दिवसको भोलिपल्टदेखि नै उपलब्धि खोज्न थाल्ने छौँ’ उनले भने ।

एक दशकका सहकारी नारा

६४ औँ ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’

६३ औँ ‘मर्यादित श्रम र पर्यटनमा सहकारी’

 ६२ औँ ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

६१ औँ ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

६० औँ ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

५९ औँ ‘आर्थिक विकास र समाज रूपान्तरणका लागि सहकारी’

५८ औँ ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’

५७ औँ ‘सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय’

५६ औँ ‘स्वाधीन अर्थतन्त्रका लागि सहकारी’ 

५५ ‘आर्थिक उन्नतिको आधार सहकारी’

‘सहकारीलाई व्यावसायिक बनाउन के के गर्ने, मर्यादित तथा सुशासनयुक्त बनाउन र प्रविधि भित्र्याउन के के गर्ने भन्ने छलफल गर्दैछौं’ उनले भने,‘अर्को वर्ष तथ्याङ्क आउने छ ।’ सञ्चालक उप्रेतीले गत वर्ष कोभिडले पर्यटनमा काम हुन नपाएको बताए । त्यस अघिका नारा अनुसार काम भए पनि तथ्याङ्क सार्वजनिक नभएको उनको भनाइ छ ।

‘श्रम सधैँ कार्यान्वयन गर्ने पक्ष हो’ उनले भने,‘श्रम ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार कर्मचारीलाई सेवा सुविधा दिन यस्तो नाराले सघाएको छ ।’ महासङ्घले केन्द्रीय सङ्घ, प्रदेश, जिल्ला सङ्घमार्फत प्रारम्भिक सहकारीसम्म नारा अनुसार काम गराउने रणनीति लिएको छ ।

एक दशक अवधिको सहकारी दिवसको नारा हेर्दा अर्थतन्त्रमा सहकारी अब्बल रूपमा स्थापित हुनुपर्ने हो । तर सहकारी आन्दोलनले अपेक्षाकृत काम गर्न सकेको छैन । एक अर्थले भन्नुपर्दा सहकारी अभियान जहाँको त्यही देखिएको छ ।

महासङ्घले लगातार तीन वर्षसम्म ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गर्याे। ६०, ६१ र ६२ औँ दिवसमा । एकै नारा तय भए पनि दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका बढेको पाइँदैन । महासङ्घले तीन वर्षसम्म एउटै नारा तय गर्नु महत्त्व दिएको बुझ्न सकिन्छ ।

तर उसले उक्त अभियान सार्थक बनाउन सहरीमार्फत के के काम भयो भनेर समीक्षा गर्न सक्नुपर्थ्यो, त्यसो गरेको पाइँदैन । दिगो विकासमा मुख्य लक्ष्य गरिबी निवारण र रोजगारी सिर्जनामा सहकारीको भूमिका न्यून छ ।

सहकारीले विभिन्न बाहानमा चर्को व्याज लिने, सदस्यको शोषण गर्ने गरेकाले ऋण लिने व्यक्ति उद्यमी बन्न नसकी गरिबीको मारमा परेको देखिन्छ । आर्थिक विकास र सामाजिक रूपान्तरणमा सहकारी नारा तय गरिए पनि त्यस तर्फ सहकारीले खासै काम गर्न सकेको छैन । सहकारीले देखिने गरी कुनै पनि क्षेत्रमा उदाहरणीय काम गर्न सकेका छैनन् ।

बचत तथा ऋणमै सहकारी फोकस छन् । सहकारीका सदस्यले समेत ऋण लिएर व्यावसायिक भन्दा अन्य क्षेत्रमा लगानी गर्ने गरेकाले आर्थिक विकासमा सहकारीको भूमिका कम देखिएको छ ।

एक दशक अघि ‘आर्थिक उन्नतीको आधार सहकारी’ नारा तय गरिए पनि अर्थतन्त्रमा सहकारी कमजोर बन्दै गएको छ । संविधानले तीन खम्बाका रुपमा सहकारीलाई आत्मा सात गरे पनि सहकारीले आर्थिक उन्नति हुने गरी काम गर्न सकेका छैनन् । जसले गर्दा सहकारीले अर्थतन्त्र उकास्न कछुवाको जस्तो गतिको भूमिका पनि खेलेको पाइँदैन ।

महासङ्घले तय गरेको नाराले आयात प्रतिस्थापन र स्वाधीन अर्थतन्त्रमा सहकारीलाई जोड्न खोजेको देखिन्छ । तर नेपालको व्यापार घाटा दिनप्रतिदिन चुलिँदो छ । कृषि क्षेत्रमै २ खर्ब भन्दा बढीको आयात भइरहेको छ ।

सहकारीले उत्पादन नै गर्न सकेका छैनन् । कृषि तथा बहुउद्देश्यीय सहकारी पनि बचतमै लाग्ने गरेकाले सहकारीमार्फत उत्पादन बढ्न सकेको छैन । जसले गर्दा आयात प्रतिस्थापनमा सहकारीको योगदान देखिएको छैन । कृषि सहित पर्यटन, उद्योग, सेवा क्षेत्रमा सहकारीले काम गर्न सके मात्रै दिगो आर्थिक विकास हुनुका साथै सामाजिक न्याय स्थापित हुन सक्ने देखिन्छ ।



Leave a comment