काठमाडौँ । रोजगारी सिर्जनामा सहकारीको भूमिका निकै कम देखिएको छ । सहकारीको सङ्ख्या उल्लेख्य भए पनि सहकारी मार्फत अत्यन्त थोरैलाई मात्र रोजगारी दिएको पाइएको छ । सहकारी विभागका अनुसार २९ हजार ८ सय ८६ सहकारी छन् । ती सहकारीले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएका छन् ।
रोजगारीको औसत दर हेर्दा एक सहकारीले ३ जनालाई मात्र रोजगारी दिएको देखिन्छ । ठुला सहकारीले ५ सय जनालाई रोजगारी दिएको बताइन्छ । त्यो भन्दा बढी रोजगारी सिर्जना गर्ने सहकारी खासै नभएको सहकारीका अगुवाहरू बताउँछन् ।
विभागका अनुसार सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने प्रदेश १ देखिएको छ । प्रदेश १ मा सहकारी मार्फत औसत रोजगार दर, एक सहकारीले ४ जनालाई रोजगारी दिएको पाइन्छ । प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारी छन् । ती सहकारीले २० हजार ६ सय ८५ जनालाई रोजगारी दिएका छन् ।
अन्य प्रदेशको तुलनामा प्रदेश १ का सहकारी राम्रा र ठुला मानिन्छन् । झापामा मात्रै १ अर्ब भन्दा बढीको कारोबार गर्ने सहकारी १० भन्दा बढी छन् । सबैभन्दा कम रोजगारी सिर्जना गर्ने सुदूरपश्चिम प्रदेश देखिएको छ ।
यस प्रदेशका एक सहकारीले १.३६ जनालाई मात्रै रोजगारी दिएको पाइन्छ । यहाँ २ हजार ६० सहकारी छन् । ती सहकारीले २ हजार ८ सय १५ जनालाई रोजगारी दिएका छन् । रोजगारी धेरै सिर्जना गर्ने दोस्रो प्रदेशमा बागमती प्रदेश देखिएको छ । बागमती प्रदेशले औसतमा एक सहकारी मार्फत ३.२५ जनालाई रोजगारी दिएको छ । बाग्मतीमा १० हजार ४ सय १८ सहकारी छन् । ती सहकारीले ३३ हजार ८ सय ९२ जनालाई रोजगारी दिएका छन् ।
त्यस्तै प्रदेश २ का एक सहकारीले २.७१ जनालाई रोजगारी दिएको देखिन्छ । यस प्रदेशमा ४ हजार १ सय ५३ सहकारीले १० हजार ८ सय ४३ जनालाई रोजगारी दिएका छन् । कर्णाली प्रदेशका एक सहकारीको भागमा २.३० जनालाई रोजगारी दिएको देखिन्छ । यस प्रदेशमा १ हजार ९ सय ६८ सहकारी रहेकोमा ४ हजार ५ सय ३४ जनालाई रोजगारी दिएको देखिन्छ ।
विभागले पछिल्लो समयमा तथ्याङ्क सार्वजनिक गरे पनि करिब ३ वर्षसम्म (सहकारी तथ्याङ्क २०७४ पछि) तथ्याङ्क अपडेट गर्न सकेको थिएन । उक्त तथ्याङ्क अनुसार सहकारीले ६० हजार ५ सय १७ जनालाई रोजगारी दिएका थिए । त्यस तथ्याङ्क अनुसार सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने बचत तथा ऋण सहकारी संस्था देखिएका छन् । बचत सहकारीले ३५ हजार ४ सय ४७ जनालाई रोजगारी दिएको देखिन्छ ।
लुम्बिनी प्रदेशका सहकारीमा एउटा संस्थाले १.८६ जनालाई रोजगारी दिएको पाइएको छ । यस प्रदेशमा ३ हजार ७ सय ५५ सहकारी रहेकोमा ६ हजार ९ सय ६९ जनालाई रोजगारी दिएका छन् । गण्डकी प्रदेशका सहकारीमार्फत एक सहकारीले २ जनालाई रोजगारी दिएको देखिन्छ । यस प्रदेशमा ३ हजार ६ सय ७१ वटा सहकारीले ७ हजार ३ सय ३८ जनालाई रोजगारी दिएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी विभागले निकालेको पछिल्लो तथ्याङ्क नमिल्दो रहेको बताउँदै सहकारीले १ लाख भन्दा बढीलाई रोजगारी दिएको बताउँदै आएका छन् । उनको भनाइलाई आधार मान्दा पनि प्रत्येक सहकारीको भागमा ३.३४ जनालाई मात्रै रोजगारी दिएको पाउन सकिन्छ ।
सहकारी उत्पादनशील तथा बजारीकरणमा केन्द्रित नहुँदा रोजगारी सिर्जनामा पनि न्यून देखिएको हो । उत्पादनमा केन्द्रित भएर रोजगारी सिर्जना गर्ने सहकारी खोज्दा भेट्टाउन मुस्किल पर्ने गरेको छ । सहकारीले १० खर्बको कारोबार गरेका छन् ।
विभागले पछिल्लो समयमा तथ्याङ्क सार्वजनिक गरे पनि करिब ३ वर्षसम्म (सहकारी तथ्याङ्क २०७४ पछि) तथ्याङ्क अपडेट गर्न सकेको थिएन । उक्त तथ्याङ्क अनुसार सहकारीले ६० हजार ५ सय १७ जनालाई रोजगारी दिएका थिए । त्यस तथ्याङ्क अनुसार सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने बचत तथा ऋण सहकारी संस्था देखिएका छन् । बचत सहकारीले ३५ हजार ४ सय ४७ जनालाई रोजगारी दिएको देखिन्छ ।
बहुउद्देश्यीय १२ हजार ८५, कृषिले ६ हजार ६ सय ८३, दूग्ध सहकारीले १ हजार ६ सय ५३ जनालाई रोजगारी दिएको छ । उपभोक्ताले ६ सय ७१, विद्युतमा ४ सय १८, तरकारी तथा फलफूलमा १ सय ३३, चियामा ४४, कफीमा १ सय २२, जडिबुटीमा ८७, मौरी पालनमा ५३, सञ्चारमा ५ सय ५६, स्वास्थ्यमा ८ सय ८०, जुनारमा ११ र अन्यमा १ हजार ६ सय ७३ जनाले रोजगारी पाएका छन् । तर पछिल्लो तथ्याङ्कमा रोजगारी सिर्जना सहकारीको प्रकृति छुट्टाइएको छैन ।
Leave a comment