झापा । सिम्रिक बचत तथा ऋण सहकारीले मृतक सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च र ऋण मिनाह गरेको जनाएको छ । संस्थाका विभागीय प्रमुखहरु एवं विभिन्न स्थानका सेवा केन्द्र प्रमुख तथा कर्मचारीहरुले सदस्यको घरदैलोमा पुगेर स्वास्थ्य उपचार राहत खर्च प्रदान गरेका हुन् ।
संस्थाको सुरुङ्गा सेवा केन्द्रका प्रमुख इन्दिरा भट्टराईका अनुसार सेवा केन्द्र अन्तरगतका सदस्य नरबहादुर गिरीको निधन भएकाले उनको नाममा बक्यौता रहेको एक लाख ९१ हजार १९३ रुपैयाँ कर्जा मिनाहा गरेको छ । स्वर्गीय गिरीको परिवारलाई भेटेर समवेदना अर्पण गर्दै कर्जा मिनाहाको पत्र प्रदान गरेको हो । साथै परिवारलाई काजकिरिया खर्चवापत १० हजार रुपैयाँसमेत प्रदान गरिएको सेवा केन्द्र प्रमुख भट्टराईले बताएकी छन् ।
यसैगरी बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य सुष्मा आचार्यले लिएको कर्जा ८६ हजार ५७३ रुपैयाँ बाँकी रहँदै गत कात्तिक २१ गते उनको निधन भएकाले ऋण मिनाहा गरेको छ । सेवा केन्द्र प्रमुख निर्मलकुमार चौहानका अनुसार कर्जा मिनाहाको पत्र स्वर्गीय सुष्माका छोरा आशिषलाई मंसिर २४ गते प्रदान गरेको छ ।
सुरुङ्गा सेवा केन्द्र अन्तरगत कै सदस्य नेत्रबहादुर विश्वकर्माको हड्डीको शल्यक्रिया गर्दा लागेको उपचार खर्चको आधा रकम २५ हजार रुपैयाँ पनि प्रदान गरेको छ । सेवा केन्द्र प्रमुख भट्टराईका अनुसार सदस्य कमला प्रसाईंका बुहारीको शल्यक्रिया गरी उपचार गर्दा लागेको खर्चवापत परिवार राहत अन्तरगत आठ हजार २४० रुपैयाँ प्रदान गरेको छ । सिम्रिकले जीवनका हरेक चरणमा सदस्यको साथ रहने प्रण गरे बमोजिम सुत्केरी पोषण सुविधा वापत सदस्य अस्मिता चेम्जोङलाई एक हजार ८०० र अर्जुन उप्रेतीको श्रीमतीलाई एक हजार ५०० रुपैयाँ प्रदान गरेको सेवा केन्द्र प्रमुख भट्टराईले जानकारी दिएकी छन् ।
विभागीय प्रमुख प्रेम बस्नेतका अनुसार कनकाई नगरपालिका ८ का इक्सा सुब्बालाई सुत्केरी उपचार खर्चवापत १५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख मिनबहादुर अधिकारीका अनुसार भद्रपुर १० का धनबहादुर लिम्बूको शल्यक्रिया गरी उपचार गर्दा लागेको खर्च राहत वापत २३ हजार ६५० रुपैयाँ प्रदान गरेको छ । मंसिर २४ गते लिम्बूको घरमा पुगेर उक्त सदस्य उपचार सुविधा प्रदान गरेको हो ।
यसैगरी, मेचीनगर ६ धुलाबारीका सदस्य डोल्मा तामाङका श्रीमान गणेशबहादुर तामाङको असामयिक निधनमा शेक व्यक्त गर्दै काजकिरिया खर्चवापत १८ हजार २०० रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख बस्नेत लगायत संस्थाका प्रतिनिधिहरु मंसिर २४ गते उक्त रकम लिएर तामाङ परिवारको घरमा गएका थिए ।
Leave a comment