काठमाडौं । कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्न थालेपछि अधिकांश सहकारीहरु आफ्ना सदस्यलाई कसरी सेवा प्रदान गर्ने भन्नेमा अलमल परेका छन् ।
बैंकर्स संघले शुक्रबारनै विज्ञप्ती जारी गरी डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । आइतबार चैत ९ गतेबाट डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने संघले जनाएको छ । एउटा बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्रका कुनै संस्थामा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने निर्णय गरेको छ ।
यता सहकारीको अभिभावक संघ राष्ट्रिय सहकारी महासंघले आइतबार पनि ढिलो समयमा प्रेस विज्ञप्ती जारी गरेको हुनाले वित्तिय कारोबार गर्ने संस्था अलमलमा परेका हुन् । जेष्ट आइडियोलाजी बचत तथा ऋण सहकारी न्युरोडका प्रमुख कार्यकारी संचालक हेम कार्कीले केन्द्रिय सहकारी संघ र महासंघको आधिकारिक धारणा र निर्देशन ढिलो आएकोले पर्ख र हेरको अवस्थामा काम भएको बताए । उनले भने हामी अभिभावकको सल्लाह र निर्णय पर्खिरहेका थियौ, उहाँहरको आधिकारिक धारणा आएपछि, कर्मचारीको पालो पालोमा सदस्यलाई निश्चित समयवाधी र निश्चित रकमको दायरा तोकेर सेवा दिन्छौं ।
यदी यसो गरिएन भने सदस्यकोमा गलत सन्देश जान्छ राज्यले बन्द रहने भनेपनि पनि हामी रिक्स मोलेर सेवा दिने सोचमा छौं । आलोपालो बचत तथा ऋण सहकारकिा अध्यक्ष सञ्जिव पौडेलले सदस्यहरुलाई जानकारी दिएर उहाँहरुकै सल्लाहमा संस्था पूर्णरुपमा सरकारले तोकेको मिति सम्म बन्द गर्ने जनाए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले तत्कालै प्रेस जारी गरी सम्पूर्ण सहकारी संघसंस्थाले आआफ्नो क्षेत्रबाट सहयोग र संयमित सुरक्षित भएर सेवा प्रदान गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गरेका छन् । यस अत्यवाश्यक सेवाको सूचीमा बैंक र बीमा समावेश रहेकोले बैंकिङ र बीमा सेवा भने सुचारु रहनेछ ।
त्यस्तै प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिने बताएका छन् । कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम नोट पनि हुन सक्ने भन्दै सम्भव भएसम्म नोट कारोवारको सट्टा कार्ड तथा विधुतिय कारोवारको माध्यम अपनाउन समेत आग्रह गरीएको छ ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले शुक्रबार विज्ञप्ति निकालेर अति (आवश्यक अवस्थामा बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न आग्रह समेत गरेका छन् । अत्यावश्यक सेवामा रहेको कारण बैंक र बीमा भने बन्द नहुने जनाएको छ । अत्यावश्यक सेवाको सूचीमा बैंकिङ क्षेत्र रहेको हुँदा यस क्षेत्र भने बन्द नहुने भएको छ ।
Leave a comment