काठमाडौं । बसुन्धरामा रहेको रोयल बहुउद्देश्यीय सहकारीले सदस्यको एक लाख ऋण मिनाह गरिदिएको छ । संस्थाले सदस्यको मृत्यु भएकाले परिवारले ऋण तिर्न नपर्ने सहकारीको सावाँ ब्याजनै मिनाह गरेको हो । त्यसैगरी ऋणी सदस्यको परिवारलाई विमा बापतको दुई लाख रुपैंया पनि बाल बचामा संस्थामा बचत गरिदिएको जनाएको छ ।
फागुन ११ गते संस्थाको लघुवित्त कार्यक्रमको सेवाकेन्द्र रोयल हिट्टिटोल महिला विकास केन्द्रका सदस्यहरुको भेलामा संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले सदस्य लक्ष्मी तामाङले संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाह गरी विमा बापत पाएको रकम बचत गरिदिने निर्णय भएको घोषणा गरे ।
उनले भने ‘सदस्य तामाङले संस्थालाई तिर्नु पर्ने सावाँ ८० हजार २ सय ८६ रुपैंया र ब्याज ११ हजार ९ सय २३ रुपैंया दुवै मिनाह गर्ने तथा विमा बापत पाएको २ लाख पनि बच्चाहरुको नाममा संस्थामा बचत गरिदिने ।’
उनले सदस्यका बच्चा नाबालिक भए पछि रकम झिक्न पाउने र बचतमा पाएको ब्याजले पढाइमा सहयोग पुग्ने बताए । अरु वित्तिय संस्थाले सदस्यको मृत्यु भएमा पनि ऋण असुल्ने भए पनि सहकारीले मानवताको ब्यबहार पनि गर्नु पर्ने भएकोले संस्थाले ऋण मिनाह गरी विमा रकममा पनि कुनै रकम कट्टा नगरी बच्चाको भविश्यकालागि बचत गरिदिएको बताए ।
रोयल हिट्टिटोल महिला विकास केन्द्रकी संयोजक रमिला तामाङले सहकारीले गरेको योगदानको प्रसंसा गर्दै नसोचेको सहयोग पाएकोमा खुसी ब्यक्त गरिन । उनले भनिन् ‘सहकारी पनि अन्य संस्था जस्तै होलान भनेको हैन रहेछ, सहकारीको सहयोगले हाम्रो सोचमानै पविर्तन ल्याएको छ । अरु संस्थाले ऋण छुट, मिनाह गरेको छैन जसरी पनि लिन्छ तर सहकारीले ऋण मिनाह गरेर पनि विमा बापतको सम्पूर्ण रकम दिएको छ हामीलाई त भगवान आए जस्तो लाग्यो ।’
नौ नम्वर वडा महिला जनप्रतिनिधि सुमित्रा केसीले रोयल सहकारीले गरेको सामाजिक कार्यले महिलाहरुमा सहकारीप्रतिको सोचमा परिवर्तन ल्याएको बताइन् उनले भनिन् ‘सहकारीको यो कार्यको प्रसंसा गर्ने कुनै शब्दनै छैन, मन देखिनै सहकारीले गाउँमा भएका महिलाहरुको उत्थानको लागि गरेको योगदान र सहकार्र्य सह्रानिय छ ।’
सदस्य लक्ष्मी तामाङको २०७५ साल पुष ४ गते आफ्नै घरमा आगोलागी हुँदा श्रीमान सहितको निधन भएको थियो । उनका एक छोरा र एक छोरी रहेका छन् । कार्यक्रममा संस्थाका लघुवित्त प्रमुख सुरेन्द्र विक लगाएत केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।
Leave a comment