काठमाडौं । छड्के निरीक्षण (सर्पाइज इन्स्पेक्सन) भनेको, पूर्व सूचना नदिई, अचानक रूपमा गरिने निरीक्षण वा अनुगमन हो । यसको उद्देश्य, वास्तविक अवस्था बुझ्नु, नियम–कानूनको पालना भइरहेको छ कि छैन जाँच गर्नु र अनियमितता वा त्रुटिहरू पहिचान गर्नु हो।
यस्तो निरीक्षण गर्दा सम्बन्धित पक्षले तयारी गर्ने अवसर नपाउने भएकाले बास्तविक कामकाजको अवस्था स्पष्ट रूपमा देख्न सकिन्छ । तर बागमती प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले छड्के निरिक्षणकालागि पहिलानै सूचना जारी गरेको छ।
कार्यालयले बैशाख ९ गते बुधबार कार्यक्षेत्र भित्रका सहकारी संघसंस्थालाई छड्के निरिक्षण गरिने भएकोले आवश्यक सहकारी सम्बद्ध कागजातहरू पूर्णरूपमा तयार गरीराख्न सूचना जारी गरेको हो । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सहकारी ऐन, २०७६ को दफा (७५) बमोजिम नियमित तथा सघन अनुगमन साथै छड्के निरीक्षण समेत गरिने हुँदा आवश्यक सहकारी सम्बद्ध कागजातहरू पूर्णरूपमा तयार गरी राख्नुहुन साथै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रतिवेदन प्रणाली तथा कोपोमिस प्रणाली समेत अद्यावधिक गर्नुहुन अनुरोध छ।
यस सम्बन्धमा थप जानकारीका लागि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।’ त्यसैगरी उक्त कार्यालयको नियमन क्षेत्र भित्रका धेरै संघ संस्थाले वार्षिक विवरण पेश नगरेकोले कार्यालयले माग गरेका विवरणहरू प्रमाणित गरी सहकारी अद्यावधिक गर्न भनेको छ।
तोकिएको अवधिभित्र विवरण पेश नगर्ने सहकारी संघ संस्थालाई प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम कारबाही, जरिवाना तथा दर्ता खारेजी समेत हुने सूचनामा उल्लेख छ । कार्यलयको तथ्याङ्क अनुसार ०८२को माघ १५ गतेसम्म ७८० संघसंस्थाले प्रत्यक्ष र ११९ संघसंस्थाले हुलाक तथा अन्य माध्याम मार्फत संस्थाको विवरण बुझाएको देखिन्छ । प्रदेशको कार्यक्षेत्र अन्तर्गत ३ हजार २३० सहकारी संघसंस्था रहेको जनाइएको छ।

Leave a comment