हाइलाइट

सहकारीले किन र कसरी लिने कर्जासूचना केन्द्रको सदस्यता, कतिलाग्छ शुल्क

सहकारीले किन र कसरी लिने कर्जासूचना केन्द्रको सदस्यता, कतिलाग्छ शुल्क :: Sahakari Akhabar

काठमाडौं । पछिल्लो समय सरकारले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई कर्जासूचना केन्द्रको सदस्यता अनिवार्य गरेपछि सहकारीहरुले केन्द्रको सदस्यता लिन चासो देखाएका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गर्नु अनिवार्य रहेको सहकारी ऐनमा ब्यवस्था छ।

केन्द्रले सहकारीलाई आवद्ध गराउने भएपछि सहकारीले पनि सूचनाकेन्द्रको सदस्यताको लागि चासो देखाउन थालेका हुन् । केन्द्रले माघ ७ गते सूचना जारी गर्दै बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो । यस अघि सहकारी बैंकसहित ५ वटा सहकारी सूचना केन्द्रमा आवद्ध भइसकेका छन् ।

केन्द्रको पछिल्लो सूचना पछि २२ वटा सहकारीले सदस्यता लिइसकेका छन् भने अन्य सहकारीहरु पनि प्रकृयामा रहेको जनाइएको छ । सहकारीलाई सूचना केन्द्रमा आवद्ध हुन सहकारी नियमन प्राधिकरणमा अनिवार्य दर्ता हुनुपर्ने ब्यवस्था छ । सहकारी नियमन प्राधिकरणको सदस्यता लिएका सहकारीले मात्र कर्जा सूचनाकेन्द्रमा आवद्ध हुनपाउनेछन् ।

सहकारी नियमन प्राधिकरणमा बचत ऋणको मुख्य कारोबार गर्ने सवै सहकारी आवद्ध हुनुपर्ने छ । ३३ हजार सहकारी मध्ये ९० प्रतिशत सहकारीको मुख्य कारोबार बचत ऋण भएको प्राधिकरणको अनुमान छ । हाल प्राधिकरणमा ३१० वटा संस्थाले मात्र संचालन इजाजतपत्र पाएका छन् ।

कसरी हुने सहभागिताः

कर्जासूचना केन्द्रले सदस्यता संस्थाहरूको लागि दर्ता प्रणालीकालागि Member Institution(s) Registration System (MIRS) सञ्चालनमा ल्याइएको छ । यस प्रणालीमार्फत सहकारी संस्थाहरूले सदस्यताका लागि अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।
अनलाइन आवेदन पेश गर्दा आवश्यक कागजातहरूः
१ कर्जा सूचना केन्द्रलाई सम्बोधन गरिएको आवेदनपत्र
२ सञ्चालक समितिको निर्णय र स्वीकृतिपत्र
३ राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्तापत्र
४ सहकारी दर्ता प्रमाणपत्र
५ प्यान दर्ता प्रमाणपत्र

सदस्यता शुल्कः

सदस्यता दर्ता शुल्क १ हजार १३० र ( मु.अ करसहित )

अनलाइन प्रणालीः

सहकारी सदस्यता दर्ताका लागि देहायको https://mirs.cibnepal.org.np/ प्रयोग गर्नुपर्ने हुन्छ । उक्त अनलाइन प्रणाली कर्जा सूचना केन्द्रमा सदस्यता दर्ताका लागि मात्र प्रयोग गर्नसकिने र कर्जा सूचना प्रतिवेदन उत्पन्न, कालोसूचीकरण वा अन्य सेवा प्रयोजनका लागि यो प्रणाली प्रयोग गर्ननमिल्ने जनाएको छ। त्यसैगरी थप जानकारी, स्पष्टीकरण वा प्राविधिक सहयोग आवश्यक परेमा cooperative@cibnepal.org.np मा सम्पर्क गर्न सकिने सूचना केन्द्रले जनाएको छ ।

सहकारी कर्जा सूचनाकेन्द्रमा गएपछि के हुन्छ ?

पहिलो चरणमा सहकारी संस्थाहरुले कर्जा सूचनाकेन्द्रमा शुल्क तिरेर आवेदन दिएपछि केन्द्रले दर्ता नम्बर र दर्ता गरिएको पत्र पठाउँछ । केन्द्रले संस्थाको नाम केन्द्रमा दर्ता गरिएको व्यहोरा सहितको पत्र पठाउँछ । पत्रमा ‘अन्य बैंक र वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहनेछ’, उल्लेख गरिएको हुनेछ ।

यस प्रकार सहकारी कर्जा सूचनाकेन्द्रमा आवद्ध भएपछि पहिलो चरणको मात्र काम सम्पन्न हुन्छ । अव सहकारीले सूचना केन्द्रसंग मिलेर बैंक वित्तिय संस्थाले जस्तै सहकारीका ऋणी सदस्यका बारेमा जानकारी दिने र ऋण लिन चाहने सदस्यको बारेमा जानकारी लिन सक्नेछ ।

सहकारीको ऋण लिएर नतिरेर लामो समयदेखि भाखा नाघेका ऋणी सदस्यलाई कालो सूचीमा राख्ने समेत प्रकृया अगाडी बढाउनसक्ने छ । कर्जा सूचना केन्द्रमा आवद्धता हुनुलाई केन्द्रले पहिलो चरणको काम सकिएको र दोस्रो तथा महत्वपूर्ण चरण सुरु भएको बताएको छ ।

आवद्ध हुने बित्तिकै कर्जा सूचना आदानप्रदान भैनहाल्ने, आवद्ध हुने बित्तिकै कालोसूचीमा पनि राखिहाल्न नमिल्ने सूचनाकेन्द्रको भनाइ छ । त्यसकालागि सूचनाकेन्द्र संग भएको टेक्निकल इन्फ्रास्ट्रक्चर जस्तै प्राविधिक पूर्वाधार सहकारी संस्थाहरुसँग पनि हुनु जरुरी छ ।

कोर बैंकिङ सिष्टम (सीबीएस) चलाइरहेका सहकारीहरुले सूचनाकेन्द्रसँग मिल्ने वा सूचनाकेन्द्रलाई आवश्यक पर्ने डाटा वा सूचनाहरु छुट्टाएर अनलाइनमार्फत उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसैगरी ऋण लगानीसँग सम्बन्धित सम्पूर्ण कागजी रुपमा लेखिएका दस्तावेजहरु पनि अब सबै अनलाइन सिस्टममा राख्नुपर्छ ।

त्यसैगरी ऋण लगानीसँग सम्बन्धित सबै कागजातहरुलाई पहिला कम्प्युटरमा व्यवस्थित सिष्टममा उतार्नु पर्छ र कर्जा सूचना केन्द्रसँग मिल्ने सिष्टम सहकारीले पनि स्थापना गर्नुपर्छ । डिजिटल सूचना आदानप्रदानका लागि टेक्निकल्ली सहकारीहरु तयार हुनुपर्छ ।

सहकारीहरु कर्जा सूचना केन्द्रमा आवद्ध भएपश्चात दोस्रो चरणमा के कस्ता काम कसरी गर्ने भन्ने विषयमा प्राविधिक ज्ञानका लागि सूचनाकेन्द्रले तालिम दिन्छ र अनिमात्र बैंक वित्तिय संस्थाले जस्तै सहकारीले पनि काम गर्नपाउनेछन् ।



Leave a comment