काठमाडौं । सहकारी अभियानको अभिभावकिय जिम्मेवारी निर्वाहगर्दै अभियानलाई सहि दिशानिर्देश गर्नुपर्ने राष्ट्रिय सहकारी महासंघ यतिखेर अभिभावक विहिन भएर कामचलाउको काँधमा रहेको छ । सहकारी अभियानको सर्वोच्च निकाय महासंघमा यतिखेर अध्यक्ष तथा महाप्रवन्धक दुवै कामचलाउ मात्र छन् ।
महासंघकी अध्यक्ष ओमदेवी मल्ल दशैं अघिनै पारिवारिक भ्रमणमा अमेरिका गएपछि संघका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यसैगरी महासंघका महाप्रवन्धक सुरेश थापाले नियुक्ति लिएको ६ महिना पनि नपुग्दै राजिनामा दिएपछि कार्यवहाक महाप्रवन्धकको जिम्मेवारी बरिष्ठ अधिकृत गोपिकृष्ण भण्डारीले पाएका छन्।
थापाले २०८१ माघमा पदभार ग्रहण गरेका थिए भने भण्डारीले ०८२ साउन २ गते जिम्मेवारी पाएका हुन् । महासंघमा संचालहरु बिच आन्तरिक द्धवन्द्धका कारण अभियानको सहि नेतृत्व हुन नसकेको आरोप खेपिरहेकै समयमा अध्यक्ष मल्ल अमेरिका गएपछि महासंघ अभिभावक विहिन जस्तै बनेको हो ।
यता संचालक र ब्यवस्थापन बिचको मनमुटावले महाप्रवन्धक सुरेश थापा अघिकी महाप्रवन्धक चित्राकुमारी सुब्बाले महासंघबाट अवकास लिएपछि महाप्रवन्धकको पहिलो बरियतामा रहेका बाबुल खनाललाई राजिनामा दिन बाध्य पारेर दोश्रो बरियतामा रहेका नायव महाप्रबन्धक सुरेश थापालाई महाप्रवन्धक नियुक्त गरेको थियो ।
महासंघले कर्मचारी प्रशासन कार्यविधि बिपरित दोश्रो बरियतामा रहेका थापालाई जिएम नियुक्ति गरेपछि चित्रा सुब्बा पछि महाप्रवन्धकको पहिलो बरियतामा रहेका नायव महाप्रवन्धक बाबुल खनालले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । थापाले ६ महिना पुरा नहुँदै महाप्रवन्धकबाट राजीनामा दिएपछि अहिले महासंघ महाप्रवन्धक बिहिन भएको हो ।
कामचलाउको मौकामा चौका
महासंघमा यतिखेर कामचलाउ अध्यक्ष बनेका रमेश पोखरेलको दैनिकी भेटघाटमा ब्यवस्त हुँदैगएको छ । उनको भेटघाट सहकारीका बास्वविक समस्या समाधान गर्नेभन्दा पनि नियमक निकायका निर्देशन मापदण्ड रोक्नेतर्फ केन्द्रीत रहेको छ । उनी कार्यवहाक अध्यक्ष भएपछि सहकारी विभाग, मन्त्रालय र राजनीतिक दलका नेताकोमा संचालक लिएर पुग्ने गरेको देखिन्छ ।
पछिल्लो पटक उनी सहकारी विभागले जारी गरेको सहकारीमा दोहोरो पद कार्यन्वयन गर्न नदिन बढी लागिपरेको देखिन्छ । सहकारी ऐनले सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने ब्यवस्था गरेको छ । स्वार्थ बाझिने भन्दै सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा ब्यवस्था छ ।
पोखरेल कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएपछि ऐनको उक्त ब्यवस्था कार्यान्वयन गर्न नदिन सकृय रुपमा लागेका छन् । उनी यतिखेर महासंघका दोहोरो पदधारी संचालक लिएर सहकारी विभागदेखि मन्त्रालयसम्म धाउन थालेका छन् । पोखरेल आफूभने तेहेरो पदमा बसेर सहकारीबाट लाभ लिइरहेका छन् ।
उनी विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् जुन संस्था उनले स्वार्थ बाझिनेगरी बर्षैदेखि आफ्नै घरमा राखेर संचालन गरेका छन् । त्यसैगरी पोखरेल राष्ट्रिय सहकारी बैंकका पूर्व अध्यक्ष भएपनि उनले सहकारी बैंकबाट निवर्तमान अध्यक्षको रुपमा संचालक सरह सेवा सुविधा लिइरहेका छन् ।
पछिल्लो समय पोखरेल आफूजस्तै दोहोरो तेहेरो पदमा रहेका महासंघलगायत सहकारी बैंक र नेफ्स्कूनका संचालकहरु लिएर दोहोरो पद कार्यान्वयन गर्न नदिन दैनिक शक्तिकेन्द्र धाउन थालेका छन् । सहकारी महासंघ तथा बैंक र नेफ्स्कूनमा अधिकांश संचालकहरु कानुन विपरित दोहोरो तथा तेहोरो पदमा रहेका छन् ।
सहकारी विभागले दोहोरो पद कार्यान्वयन गर्न निर्देशन जारी गरेपनि अटेर गर्दैआएका सहकारी महासंघ, सहकारी बैंक र केन्द्रीय संघका संचालकहरुको विवरण माग गरेपछि त्यसको बचाउ गर्दै आएका पोखरेलले अध्यक्ष नभएको मौकामा सहकारी विभागलाई ध्यानाकर्षण पत्र पठाउँदै कार्यान्वयनको ठाडो चुनौती दिएका छन् ।
सहकारीका संघ संस्थामा हुनेगरेका विकृति रोक्ने काम गर्नुपर्ने सहकारीको माउ निकाय महासंघ आफै नियम मिच्नेलाई संरक्षण गर्ने र विकृती ढाकछोप गर्ने निकाय बन्दैगएको छ । सहकारीका पिडित बचतकर्ता सडकमा बचत फिर्ताको माग गर्दै उत्रिएपनि सहकारी महासंघको ध्यान त्यता छैन ।
सहकारी विभागले २०८१ साल असार १९ गते दोहोरो पद ३० दिन भित्र कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो । लामो समयसम्म पनि कानुन कार्यान्वयन नगरेपछि सहकारी विभागले असार ३२ गते एकिकृत निर्देशन जारी गर्दै दोहोरो पद कार्यान्वयन गर्न भनेपनि त्यो लागु हुनसकेन ।
पुनः सहकारी विभागले सहकारीका माउ निकायलाई पत्र पठाउँदै केन्द्रीय संघ र सहकारी बैंक तथा सहकारी महासंघका संचालकको बिवरण पठाउन परिपत्र गरेपछि सहकारी नेताहरु सहकारी विभाग प्राधिकरण र मन्त्रालय धाउन थालेका छन् ।
पोखरेल नेकपा एमालेको सहकारी विभागका सदस्य तथा कोशी प्रदेश कमिटि सदस्य रहेको र सहकारी महासंघ, बैंक तथा केन्द्रीय संघहरुमा दोहोरो पदमा रहेका अधिकांश नेकपा एमाले निकट रहेकाले पनि पोखरेलले दोहोरो पद कार्यान्वयन नगर्न लविङ गरिरहेको स्रोतले बताएको छ ।
दोहोरो पदका सम्बन्धमा विभागले नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकलाई २०८२ भदौ १३ गते शुक्रबार पत्रमार्फत स्पष्टीकरण सोधेको थियो । विभागले दोहोरो पदको विषय कानूनमा उल्लेख भएको भन्दै उक्त व्यवस्थाको कानूनी कार्यान्वयनमा सहजीकरण गर्न महासंघ, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र मन्त्रालयलाई बोधार्थसहित पत्र पठाएको थियो । यद्यपि, त्यसमा आवश्यक सम्बोधन नभएपछि विभागले ताकेता पत्र समेत पठाएको थियो ।
Leave a comment