बागमती प्रदेश सहकारी मन्त्रालय भन्छः सहकारी अभिलेख नष्ट भए, अद्यावधिक गर्नुहोला

बागमती प्रदेश सहकारी मन्त्रालय भन्छः सहकारी अभिलेख नष्ट भए, अद्यावधिक गर्नुहोला :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरुको अभिलेख नष्ट भएकोले अद्यावधिक गर्न सूचना जारी गरेको छ । मन्त्रालयले नियमन क्षेत्रभित्रका सहकारी संघ संस्थाहरूलाइ बिवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा तोडफोड र आगजनी हुँदा मन्त्रालयका भौतिक संरचना र सहकारी संघ–संस्थासम्बन्धी केही अभिलेख नष्ट भएको जनाएको छ। मन्त्रालयले आफ्नो नियमन क्षेत्रभित्रका सबै सहकारी संघ–संस्थालाई आवश्यक प्रमाणित कागजातहरू पेश गरी अभिलेख पुनः संग्रह र वार्षिक साधारणसभाको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको हो ।

अद्यावधिक प्रक्रिया हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र रहेको सहकारी तथा गरिबी निवारण महाशाखाबाट गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सहकारी संस्था अद्यावधिकका लागि आव २०८१ / ८२ को साधारण सभाको उपस्थिति र निर्णयको प्रमाणित प्रतिलिपि, बहालवाला सञ्चालक समिति सदस्यहरूको फोटो, हस्ताक्षर, तीन पुस्ते विवरण र नागरिकता प्रतिलिपि चाहिने जनाएको छ ।

त्यसैगरी संस्थाको स्वीकृत विनियम र दर्ता प्रमाणपत्रको प्रतिलिपि, आव २०७९ / ८० र ०८० / ८१ का साधारण सभा विवरण, लेखा परीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्ति विवरण का साथै पछिल्ला दुई कार्यकालका सञ्चालक समितिका सदस्यहरूको फोटो, हस्ताक्षर, तीन पुस्ते विवरण र नागरिकता प्रतिलिपि समावेस गर्न सूचनामा उल्लेख छ ।

त्यसैगरी कर चुक्ता प्रमाणपत्र वा म्याद थप पत्र, कोपोमिस प्रणालीमा अद्यावधिक विवरण पेश गरेको प्रमाण, मन्त्रालयको वेबसाइटमा रहेको “सहकारी अद्यावधिक विवरण भ्ल्त्च्थ् २०८१–८२” फारम भरेको प्रमाण । यसैगरी वेबसाइटबाट डाउनलोड गरी भरेको “सहकारी वार्षिक विवरण अद्यावधिक कागजात–२०८२” फारम र सम्बन्धित प्रमाणपत्र र रजिष्ट्रारले निर्देशन अनुसार माग गर्न सक्ने अन्य आवश्यक विवरणहरू पेश गरी अभिलेख पुनः संग्रह गर्न भनेको छ ।



Leave a comment