काठमाडौं । बचत संघहरुले गर्दै आएको अन्तर सहकारी कारोबारमा रोक लगाउन नयाँ मापदण्ड ल्याइने भएको छ । सहकारी संस्थाहरुको वृति विकास र तालिम शिक्षामा जोड दिनुपर्ने सहकारीका छाता संगठनहरु वित्तिय प्रतिष्पर्धामा लागेपछि सहकारी प्राधिकरणले वित्तिय कारोबारमा रोक लगाउन कानुन ल्याउन लागेको हो ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखिकरण मापदण्ड जारी गरेसंगै संघहरुलाई वित्तिय कारोबारमा रोक लगाउनेगरी छुट्टै मापदण्ड जारी गर्ने तयारी गरेको जनाएको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखिकरण मापदण्ड असोज १० गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखिकरण मापदण्ड २०८२ उल्लेख गरेकोले त्यसमा बचत ऋणको काम गरिरहेका छाता संगठनहरु नपर्ने जनाएको छ । प्रारम्भिक संस्था जस्तै जिल्ला, प्रदेश र केन्द्रीय संघहरुले पनि बचत तथा ऋणको काम गरिरहेका छन् ।
संघहरुले सहकारी ऐनमा भएको सहकारी संस्थाले सदस्य संग बचत संकलन र ऋण लगानी गर्ने भन्ने ब्यवस्थाका आधारमा वित्तिय कारोबार गरिरहेको पाइन्छ । ऐनमा सहकारी संस्था भन्नाले संघ र सहकारी बैंकलाई समेत जनाउने छ भन्ने उल्लेख गरेकोले यसैका आधारमा खर्बौको कारोबार गर्दै आएका छन् ।
प्राधिकरणले संस्थाहरुले संघमा रहेको बचतलाई तरलतामा गणना गर्न नपाइने र कारोबारलाई दुई वर्ष भित्र ब्यवस्थापन गर्न भन्दै मापदण्ड जारी गरेसंगै संघहरुले विरोध गर्दै आएका थिए । त्यससंगै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले पनि संघमा राखेको बचतलाई तरलतामा गणना गर्न रोक लगाएको छ ।
संघहरुलाई वित्तिय कारोबार गर्न नपाउने ब्यवस्था गर्न प्राधिकरणले छुट्टै मापदण्ड जारी गर्नु पर्छ भन्ने विषयमा छलफल भइरेको प्राधिकरणका अध्यक्ष खगराज शर्माले बताए । उनले भने, ‘बचत संघहरुले गरेको वित्तिय कारोबार रोक्नु नै पर्छ भन्ने सवैको आशय र राय पनि छ, त्यसका लागि छलफल हुँदैछ, संघको लागि छुट्टै निर्देशन जारी गर्न छलफल गरिरहेका छौं ।’
पहिलो चरणमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था मात्र दर्ता हुनेछन् भने यसमा संघहरु आवद्ध हुन पाउने छैनन् । संस्था अभिलेखिकरणका लागि प्राधिकरणले तोकेको अनलाइन पोर्टलमार्फत विवरण बुझाउनुपर्ने जनाएको छ ।
संस्थाहरुले बुझाउनुपर्ने विवरणका तीन खण्ड रहेका छन् । आधारभूत विवरण, वित्तीय विवरण र अन्य । प्राधिकरणले तोकेको अनलाइन पोर्टल तयारीको क्रममा रहेको र सो पूर्ण रूपमा तयार भएपछि ६० दिनको म्याद दिएर संस्थाहरूलाइ दर्ता अभिलेखिकरणको लागि सूचना जारी गर्ने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी प्राधिकरणको अनलाइन सफ्टवेयर निर्माणाधीन रहेको र यही असोज महिना भित्र बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनलाइन दर्ता अभिलेखीकरण प्रणाली सुरु गर्ने जनाएको छ । प्राधिकरणले अभिलेखीकरण दर्ता तथा संचालन इजाजत पत्र लिनका लागि कारोबारका आधारमा शुल्क समेत तोकेको छ ।
कति लाग्छ शुल्क ?
गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार कूल सम्पत्ति वा कूल पूँजि तथा दायित्वः
२ करोडसम्म भएमा १ हजार
२ करोड भन्दा बढी १० करोडसम्म ३ हजार
१० करोड भन्दा वढी २५ करोडसम्म ५ हजार
२५ करोड भन्दा बढी ५० करोडसम्म ७ हजार
५० करोड भन्दा वढी १ अर्बसम्म १० हजार
१ अर्व भन्दा बढी कारोबार भएमा १५ हजार शुल्क लाग्ने जनाएको छ ।
त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनलाइन मार्फत बझाउनुपर्ने विवरणहरु पनि सार्वजनिक गरेको छ ।
आधारभूत विवरणः
१,सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या ।
२,वेबसाइट र सफ्टवेयरको नाम ।
३,शेयर सदस्य संख्या र कूल शेयर रकम ।
४,कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति ।
५,सञ्चालक समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं, व्यक्तिगत प्यान नं, नागरिकता नं र जारी जिल्ला र राष्ट्रिय परिचयपत्र नं, पदावधि (शुरु मिति र अन्तिम मिति )
६,लेखा सुपरिवेक्षण समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं), व्यक्तिगत प्यान नं, नागरिकता नं र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं, पदावधि शुरु मिति र अन्तिम मिति ।
७, प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रवन्धकको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं, व्यक्तिगत प्यान नं, नागरिकता नं र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं, पदमा कार्यरत अवधि ।
८,सञ्चालनमा रहेका इकाई सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं)
९,कार्यक्षेत्र ।
१०, सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर प्रमाणपत्र ।
११,अद्यावधिक करचुक्ता प्रमाणपत्र ।
१२,रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम)
१३, रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम)
१४, रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम)
वित्तीय विवरणः गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१, शेयर पूँजी ।
२, जगेडा तथा कोषहरु (जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोष, सहकारी प्रवर्धन कोष अन्य कोष ।
३, कूल जोखिम भारित सम्पत्ति तथा पूजी कोषको विवरण (प्राथमिक पूँजी कोष अनुपात र कूल पूँजी कोष अनुपात)
४,सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी ।
५,कूल निक्षेप (साधारण, नियमित र आवधिक) र कूल ऋण प्रवाह (असल, कमसल, शंकास्पद, खराब, तथा कूल ऋण नोक्सानी व्यवस्था (बर्गीकरण अनुसार)
६,ऋण पुनर्तालिकीकरण (रकम र संख्या)
७, निष्कृय कर्जा रकम र अनुपात ।
८, कूल सम्पत्ति र कूल दायित्व ।
९,कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च ।
१०, खुद नाफा नोक्सान ।
११, लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नं, र आइक्यान सदस्यता नं ।
अन्य विवरणः
१,पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत ।
२, गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या ।
३, संघहरुसँगको आवद्धताको विवरण ।
४, विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नं, मिति ।
५, विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं, मिति ।
६, कार्यकारी प्रमुखको स्वघोषणा पत्र ।
Leave a comment