काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीका साधारण सभामा नियमक जान र सहकारी नेतालाई भाषणमा रोक लगाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै सहकारीको साधारण सभामा नियमक निकायका पदाधिकारी, कर्मचारी सहभागी नहुन र सहकारीका नेता गएर भाषण नगर्न निर्देशन जारी गरेको हो ।
प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको साधारण सभामा सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन वा सुपरीवेक्षणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित कुनै पनि निकायका गैरसदस्य कर्मचारी वा पदाधिकारी सहभागी नहुने र नगराउन निर्देशन जारी गरेको छ । त्यस्ता पदाधिकारीहरूको सहभागिता भएमा स्वार्थ मानिने निर्देशनमा उल्लेख छ ।
त्यसैगरी साधारण सभामा गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथिका मन्तव्यजस्तो औपचारिक कार्यक्रममा समय व्यतीत नगरी सीधै साधारण सभाको छलफल एजेन्डामा प्रवेश गर्न निर्देशन जारी गरेको छ ।
साथै सहकारी संस्था आबद्ध रहेको माथिल्लो संघबाट कुनै परामर्श आवश्यक परेमा वा सदस्य शिक्षा दिनु परेमा न्यूनतम संख्यामा मात्र गैर सदस्य प्रतिनिधि वा स्रोत व्यक्तिलाई साधारण सभाको प्रारम्भमै परामर्श वा सदस्य शिक्षा प्रदान गर्ने गरी आमन्त्रण गर्न सकिने जनाएको छ।
साधारण सभामा नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने अवस्थामा निर्वाचन उपसमिति सहित निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने जनशक्तिलाई उपस्थित गराउन प्राधिकरणको निर्देशन छ ।
प्राधिकरणले साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागी भत्ता, अतिथि उपहार, भोजभतेर र सामान्य खाजा र खाना बाहेक क्रियाकलापमा फजुल खर्च नगर्न निर्देशन जारी गरेको छ । साधारण सभा सम्पन्न गरी एक महिना भित्र प्राधिकरणलाई इमेल मार्फत प्रतिवेदन बुझाउन भनेको छ ।
Leave a comment