हाइलाइट

राष्ट्र बैंकसंग तालमेल मिलाएर जान सहकारीकर्मीलाई मन्त्री अधिकारीको सुझाव

राष्ट्र बैंकसंग तालमेल मिलाएर जान सहकारीकर्मीलाई मन्त्री अधिकारीको सुझाव :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी अभियानको मागअनुसार राष्ट्र बैंक आएकोले तालमेल मिलाएर जान भनेका छन् । उनले सहकारीकर्मीले मागेका कारण राष्ट्र बैंकलाई नियमनको लागि ल्याइएकोले राष्ट्र बैंकको विधि अनुसार नियमन गर्दा सहकारीको सिद्धान्त अनुसार मेल खाएन भन्नु दोचारे कुरा हुने बताएका हुन् ।

शनिबार नेफ्स्कूनको ३८ औं स्थापना  दिवस कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंक र सहकारीको ऐनबिच तालमेल नमिलेको भन्दै अभियानले सुधार गर्दैजाने र राष्ट्र बैंकले सहजता बनाउदै जाने उल्लेख गरे । यो क्षेत्र सुधार भएन भने अझ कडाई गर्दै जाने समेत उनले प्रष्ट पारे ।

विगतमा सहकारी अभियान्ताले उठाएका मागलाई राज्यले संबोधन गरेको भन्दै सबै कुरा मिलीसके र  बाँकी केहिपनि छैन भन्ने ठाउँमा भने पुग्न बाँकी रहेको उनले जनाए । सहकारी अभियानलाई सुधार गर्दा कठोर पनि बन्नु पर्ने र प्रक्रियामा लैजाँदा केहि असहजता समेत हुने उनको भनाई छ ।

सहकारी ऐन नियम र विधिमा सञ्चालन भए कुनै समस्या नआउने भन्दै संघहरुमा राखेको तरलता गणनाको विषयमा समेत आवाज उठिराखेको भन्दै मन्त्री अधिकारीले भने,‘विग्रेका कुरालाई सुधार गर्न तपाईहरुलाई सजग गराई क्रमशः उत्साह थप्दै जाने हो । दिएको समयमा  संघहरुको अवस्था सुधार भएमा फेरी छलफल गरौँला ।

सरकारले सहकारी नियमन प्रािधकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी तीनवटै निकायले पूर्णरुपमा काम गर्नसक्ने अवस्थामा पुगेको छ । यी निकायले हिजोको समस्या समाधान गर्दै अभियानलाई बलियो बनाउन काम गर्छन् ।’

उनले विधिमा टेकेर नियमित रुपमा काम गर्न आग्रह गर्दै सम्बन्धित निकायले समस्या फुकाउन सघाउने उल्लेख गरे । संघ संस्थामा थुप्रिएको गैर बैकिङ सम्पत्ति व्यवस्थापनको विषयमा पनि सरकारले सघाउने उनको भनाई छ ।

कतिपय नमिलेका कुरालाई ऐन संशोधन गरी मिलाउन आवश्यक रहेको मन्त्री अधिकारीले बताए । दर्ता गर्ने तर काम नगर्ने सहकारीलाई खारेज गर्ने भन्दै सहकारी बचाउनको लागि नभई काम गर्नको लागि मात्र मर्ज गर्नुपर्ने बताए । धेरै झोले संस्थालाई व्यवस्थित गरी बलियो संस्था बनाउन मर्ज गर्नुपर्ने उनको भनाई छ ।

भूगोल र जनसंख्याको आधारमा मात्र सहकारी दर्ता गर्नुपर्ने र एक ठाउँको बसाई र अर्को ठाउँमा संस्था खोल्ने प्रवृतिका कारण समस्या आएको उनले बताए । नेफस्कूनले गरेको सुधारको प्रशंसा गर्दै मन्त्री अधिकारीले ७ अर्बको खराब ऋणलाई ३ अर्बमा झार्नु उपलब्धी भएको बताए ।

उनले भने, ‘गरेपछि हुनेरहेछ, अर्को बषर्को बार्षिकोत्सव मनाउँदा सबै कुरा सुधार गर्नुस् । भएको गैर सम्पत्ति विक्री गरिसक्यौं, खराव कर्जा शुन्यमा झार्यौ,संघ बलियो भएर चलायमान भएको छ भन्ने गरी काम गनुस् । सहयोग गर्न मन्त्रालय र सम्वन्धित निकायले कहाँ कस्तो सपोर्ट गर्नुपर्छ, त्यो गर्न हामी तयार छौं ।’



Leave a comment