काठमाडौं । सहकारी संघ संस्थाहरुले तेश्रो पक्षको धितो राखेर सदस्यलाई ऋण लगानी गर्न नपाउने भएका छन् । तर यो ब्यवस्था सहकारी बैंकलाई भने लागु नहुने भएको छ । संघिय सहकारी विभागले निर्देशन जारी गर्दै तेस्रो पक्ष धितो राखी ऋण प्रवाह नगर्न निर्देशन जारी गरेको हो ।
विभागले बुधबार १०२ बुँदाको निर्देशन जारी गरी आफ्नै वा मानो नछुट्टिएको एकाघर परिवारको मञ्जुरीनामा लिएर बाहेक सहकारीले आफ्ना सदस्यहरुलाई तेस्रो पक्ष धितो राखी ऋण प्रवाह नगर्न भनेको छ भने सहकारी बैकंको हकमा यो व्यवस्था लागु नहुने जनाएको छ ।
त्यसैगरी निर्देशनमा संस्थाले ऋणीको सम्पत्ति धितो राखी बैंक तथा वित्तिय संस्था र सहकारी बैंकबाट ऋण लिदा ऋणी सदस्यले संस्थाबाट लिन कबुल गरेको ऋण रकमभन्दा बढी ऋण लिन नपाउने ब्यवस्था गरेको छ । संस्थाको संचालक समितिको सदस्यले आफ्नो स्वामित्वको सम्पत्ति धितो राखी आफु सम्बद्ध संस्थाको संस्थागत प्रयोजनका लागि लिईने ऋणलाई यस व्यवस्थाले बाधा नपुर्याएको निर्देशनमा उल्लेख छ ।
सहकारी संघसंस्थाले स्वीकृत विनियममा उल्लेख भएको शेयर पूँजीभन्दा बढी शेयर रकम संकलन गर्न नपाउने, स्वीकृत शेयर पूँजीभन्दा बढी शेयर रकम संकलन गर्नुपर्दा अनिवार्य रुपमा विनियम संशोधन मार्फत शेयर पूँजीको सीमा वृद्धि गरेर मात्र गर्नुपर्ने, जनाएको छ ।
संस्थाको तत्काल कायम रहेको प्राथमिक पूँजी कोषको १५ प्रतिशत भन्दा वढी हुने गरी प्रति सदस्य ऋण प्रवाह गर्न नपाईने, तीन लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्दा व्यक्तिगत र सामूहिक धन जमानी वा धितो लिएर मात्र गर्नुपर्ने निदेशन जारी गरेको छ ।
ऋणको क्षेत्रगत वर्गीकरण गरी कुल ऋणको कम्तीमा ५० प्रतिशत ऋण उत्पादन तथा आयमूलक व्यावसायमा लगानी गर्नुपर्ने, ब्याजदर निर्धारण गर्दा सहकारी विभागले तोकेको सन्दर्भ ब्याजदरभन्दा बढी नहुनेगरी कायम गर्नुपर्ने, सहकारी संघसंस्थाको निष्क्रिय कर्जा कुल ऋणको ५ प्रतिशत भन्दा कम कायम गर्नुपर्ने, प्रवाह गरेको ऋणलाई किस्तारब्याज भुक्तानी अवधिका आधारमा सक्रिय ऋण र निष्क्रिय ऋणको रुपमा वर्गिकरण गरी ऋण नोक्सानी कोषको व्यवस्था गर्नुपर्नेलगायतका १०२ बुँदे निर्देशन जारी गरेको छ ।
Leave a comment