काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानले गरेको कामलाई दृष्टि दिने काम पत्रकारको भएको बताएका छन् । सहकारीले गरेको कामलाई सहि दृष्टि दिएर अगाडि लैजाने काम पत्रकारमा भएको उनले बताएका हुन् ।
नेफस्कूनको आयोजना र नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को संयोजनमा काभ्रेको धुलिखेलमा आयोजना गरिएको दुईदिने ‘कूपलेन्सः सहकारी पत्रकारको दृष्टिकोण’विषयक तालिम कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सहकारीलाई माथी लैजाने र कमजोर बनाउने भन्ने कुरा संचार माध्यमले भूमिका खेल्ने बताए ।
सहकारी अभियानले सुधार गर्नुपर्ने कुरामा आफुहरु सधै तयार रहेको भन्दै अध्यक्ष ढकालले यो क्षेत्रमा सुधारका लागि आफ्नो प्रयास निरन्तर रहने बताए । संचार जगत सँग सहकार्य गर्न आफूहरु सधै तयार रहेको उनले बताए ।
पछिल्लो समय संचारमा सहकारी क्षेत्रले अपेक्षा गरेको भन्दा फरक विषयले चर्चा पाएको भन्दै उनले सहकारी ऐनसँग जोडिएका केहि विषयहरु बढी बिवादास्पद बनेको उनको भनाइ थियो ।
उनले भने,‘ सहकारीमा अध्यादेश मार्फत ऐन ल्याउने परिपाटीको सुरुवात भयो, अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक मार्फत् सहकारी ऐन आयो । यसले समस्या सृजना गर्यो ।
सहकारी क्षेत्र संवेदनशील छ । यसलाई सहज रुपमा अभियानले स्वीकार गर्दैन, सुुधार गर्ने परिस्थिति बन्छ भन्ने प्रमाणित भएको छ ।’ प्रतिस्थापन विधेयकले सहकारी क्षेत्रका समस्यालाई सम्वोधन गर्न नसकेको भन्दै अध्यक्ष ढकालले सहकारी नियमन प्राधिकरण गठन कै लागि ल्याइएको जस्तो मात्र देखिएको बताए ।
प्राधिकरणले जारी गरेको नियमाकिय मापदण्डले नेफ्स्कूनले गरिराखेको गतिविधिलाई रोक्न खोजेको भन्दै उनले ३७ बर्षदेखि बचत ऋणको कारोवार गर्दै आएको भएपनि यो गर्न नै नहुने काम गरेको भन्ने भाष्य बनेको जनाए ।
नेफ्स्कूनले गरेको बचत ऋणको कारोबार गलत छ भन्ने खालको अवस्था अहिले सृजना भएको समेत उनले उल्लेख गरे । तर वास्तविकतामा त्यो नभएको र सहकारी ऐनलाई टेकेर नियामक निकायबाट स्वीकृत लिएर नै वित्तीय कारोबार गरेको उनको दावी छ ।
नेफ्स्कूनले देशभर सहकारीको प्रवर्धन गरेको भन्दै उनले, बचत ऋण अभियानको प्रवर्धनमा उल्लेख भूमिका खेलेको बताए । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुलाई प्राधिकरणमा रि रजिष्ट्रेशन गर्नुपर्ने विषय आएको उल्लेख गर्दै अध्यक्ष ढकालले सहकारी ऐन २०७४ पनि कमजोर नभएको जनाए ।
अध्यादेश र प्रतिस्थापन विधेयक मार्फत् ऐन आउनु राम्रो नभएको भन्दै अध्यक्ष ढकालले त्यसले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई ओझेलमा पार्ने बताए ।
नेफ्स्कूनमा आन्तरिक सुशासन कमजोर हुन सक्ने भन्दै उनले सदस्य संस्थालाई लाभांश वितरण गर्न नसक्नुमा प्रतिकुल अवस्था नै मुख्य कारण रहको र त्यहाँ भित्र अनियमिताको विषय नभएको प्रष्ट पारे । नेतृत्व भित्र व्यवस्थापनको कमजोर भएको र त्यसलाई अनियमितता हो भन्न नमिल्ने समेत उनको भनाई छ ।
यसलाई क्रमश चिर्दै लगेको भन्दै सहकारीभित्र सम्भावना खोजी भइरहेको उल्लेख गरे । सहकारीहरु लयमा फर्कन थालेको र संस्थागत सुशासन कायम गर्दै सदस्यहरुको आर्थिक उन्नतिको लागि काम गर्न थालेको अध्यक्ष ढकालले बताए । पत्रकारहरुले लेन्सले नै यो क्षेत्र व्यवस्थित भएर अगाडि बढेको उनको बुझाई छ ।
सिंगो बचत ऋणको नेतृत्व नेफ्स्कूनले गरिराखको उल्लेख गर्दै यो क्षेत्रलाई जवाफदेहि बनाई सुद्धिकरण गर्दै जाने उनको प्रतिवद्धता छ। नेतृत्वमा रहनेहरु कोही पनि असफल हुन नचाहने भन्ने तर कर्म भने सो अनुसार नगर्ने हो भन्ने सफलता प्रािप्त नहुने उनको भनाइ थियो। अरुलाई दोष दिने भन्दा पनि आफुलाई सुधार गरेर जाने कुरामा प्रतिवद्ध रहेको ढकालको भनाई छ ।
निर्वाचित भएर आएको दुई बर्षमा नै नेफ्स्कूनमा थुप्रै सुधारको सुरुवात गरिसकेको जानकारी दिँदै उनले आगामी बर्ष सहज रुपमा काम गर्ने परिस्थिति बन्ने उल्लेख गरे ।
नेफस्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले आव २०८१ / ०८२ को कार्यक्रममा मिडिया कोपरेशन राखिएको र सोही अनुसार सीजेएन सँगको सहकार्यमा तालिम गरिएको बताए ।
उनले सहकारीलाई माइक्रो लेवलबाट भन्दा माथि उठेर हेर्नुपर्ने भन्दै सहकारीको दिगोपनाको लागि सोच्ने बेला आएको बताए । मुलुकको सहकारी अभियाले सात दशक पार गरेको उल्लेख गर्दै उनले यो बिचमा सहकारीहरु सुशासन र पारदर्शितामा सञ्चालन भए नभएको मूल्याकंन गर्दै अबको बाटो तय गर्नुपर्नेमा जोड दिए ।
सहकारी भित्र पनि अहिले बचत ऋणको मूख्य कारोबार गर्ने संस्थाहरुलाई प्राधिकरणले नियमन गर्ने कुरा आएको उल्लेख गर्दै प्राधिकरणले कसरी काम गर्छ भनेर हेर्न बाँकी रहेको बताए ।
वित्तीय सहकारीमा जोखिम हुने भन्दै सिईओ सापकोटाले आन्तरिक सुशासन, सदस्यसँगको सम्बन्ध, वित्तीय संरचना, आन्तरिक सञ्चालन पद्धति र सञ्चालकको दृष्टिकोण महत्वपूर्ण हुने बताए ।
तालिममा सिए राजन अधिकारी, विजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारी तथा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सहजीकरण गरेका थिए । तालिममा विभिन्न संचार माध्यमका २२ जना पत्रकारको सहभागिता रहेको थियो ।
Leave a comment