काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत अभियानको इतिहाँस मेटाउन खोज्नेलाई खबरदारी गरेका छन् । बचत ऋण अभियान नै मेटिने उद्धेश्यको प्राधिकरणको मापदण्डमा भएका व्यवस्था संसोधनको लागि खबरदारी गरेका हुन् ।
उनले बचत संघहरु सकिनु सहकारी अभियान नै सकिनु हो, भन्ने नबुझेकाले अध्यारो कोठाबाट सुझाव दिएकोले यस्तो मापदण्ड आएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले सोमबार गरेको सरोकारवालाहरुसंगको छलफलमा उनले बचत ऋण अभियान सकिने कुरामा नेफ्स्कूनले कुनै हालतमा सम्झौता नगर्ने र कसैले यो अभियान सक्ने खेल खेलेको भए, त्यसको प्रतिकार गर्ने समेत बताए ।
उनले सहकारी महासंघको नेतृत्वमाथि खबरदारी गर्दै भने, “हामी वित्तीय अनुशासन र सुशासनमा छैनौ भने सबै कुरा भोग्न तयार छौं तर ३७ बर्षको इतिहास भत्काउने गरी कोही त्यसको तानाबाना बुन्न लागेको छ भने आफ्नो सुरक्षा आफै गर्न तयार होऔं ।” सहकारीको सुशासनमा बचत अभियान मात्र बस्नुपर्ने हो की नेतृत्वले पनि बस्नुपर्ने हो ? प्रश्न गर्दै अध्यक्ष ढकालले सुशासनको सुरुवात माथिदेखि नै सुरु गर्नुपर्ने बताए ।
उनले भने “हामी हाम्रो निर्णय र ऐनप्रति प्रतिवद्ध नहुने र सहकारिता अरुसँग खोज्ने ? आफूले मान्नु नपर्ने विषय हो भने केहि पनि भन्नु छैन ।” खनाल प्रतिवेदनले सहकारीको कार्यक्षेत्र तोकेको र स्थानीय तहभन्दा बाहिर गएर सञ्चालन भएका र वित्तीय तथा आर्थिक रुपमा पारदर्शिता कायम गरेका संस्थाहरुलाई समेत यसले समस्या पार्ने उनको भनाइ छ ।
सहकारीलाई खुम्च्याउने विषय आउँदा समेत महासंघबाट रोक्न कुनै पहल नभएकोप्रति उनले टिप्पणी गरे । संघहरुलाई संस्थागत गरेर लैजाने विषयमा महासंघले पहल गर्नुपर्ने भन्दै अध्यक्ष ढकालले त्यसकालागि महासंघसँग सहकार्य गरेर जाने पनि उल्लेख गरे ।
प्राधिकरणले जारी गरेको मापदण्डले प्रारम्भिक संस्थाहरुले संघहरुको शेयर खरिद गर्न र नियमित बचत गर्न समेत रोक लगाएको भन्दै उनले शेयर खरिद र नियमित बचत बिना सहकारिता नै नरहने बताए । सहकारी अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गरी बनेको ऐन २०८१ ले अहिलेको परिस्थिति जन्माएको उनको भनाइ छ । रामेश्वर खनालको प्रतिवेदनले सहकारी अभियानलाई खुम्च्याउन खोजेको भन्दै समस्या बचत ऋण अभियानसँग मात्र सिमित नरहेको अध्यक्ष ढकालले बताए ।
सहकारीको शेयर पहिचानसँग जोडिएको विषय भएको र शेयर बाहेक पनि सहकारिता हुन्छ भन्ने आफूलाई नलागेको उनले भने । नियमित बचतको लागि नेफस्कूनले ३७ बर्षदेखि पढाउँदै र सिकाउँदै आएकोले शेयर र मासिक बचतबाट साकोस अभियानलाई अलग गर्न खोज्नु अन्याय हुने उनले बताए ।
नियमित बचत गर्न नपाइने हो भने कहाँको पैसा ल्याएर सहकारी चलाउने भन्दै अनुदानले सहकारी चलाउनु सहकारीको सिद्धान्त नभएको बताए । प्रारम्भिक सहकारी संस्थाले संघहरुमा नियमित बचत गर्न पाउनुपर्ने भन्दै उनले संस्थाहरुले नै संघ बनाएको र विषयगत, प्रदेश संघ मिलेर नेफस्कून बनेकोले त्यसबाट बचत ऋण अभियानलाई अलग गर्न खोज्नु गम्भिर भूल हुने दावी गरे ।
अध्यक्ष ढकालले निर्देशन र मापदण्डका कतिपय बुँदाले बचत ऋण सहकारी अभियान स्तब्धतातर्फ उन्मुख भइरहेकोले साकोस अभियानको एउटै स्वर बनाएर जान आग्रह गरे । सहकारिता नहराउनेगरी निर्देशन र मापदण्ड जस्ता कुरा ल्याउन पहल हुनुपर्ने उनको भनाइ छ ।
हामी दलीय प्रणालीभित्र छौं र पार्टीहरुले सहकारीको लागि विभागिय प्रमुख तोकेको हुनाले राजनीतिक दलहरुको बचत ऋणप्रतिको धारणा बुझ्न २३ गते भेला आयोजना गरिएको जनाए । उनले भने, “हामीले आन्दोलनका विषयममा सोचेका छैनौं र परिस्थितिले त्यतातर्फ न लैजाला, आन्दोलनमा नै जानु पर्यो भनेपनि यो मोडालिटीमा आन्दोलनको नेतृत्व गरिदिनु पर्यो भनेर महासंघसँग आग्रह गछौं ।”
महासंघ सबै संघहरुको पनि संघ भएकाले सबै संघहरुलाई व्यवस्थित गर्न महासंघले पहल गर्नुपर्ने उनले बताए । नेफ्स्कूनका सल्लाहकारहरुसँग पनि छलफल गरिएको र उहाँहरुले दिएको सल्लाहलाई समेत आत्मसात गरेर अगाडि बढ्ने उनले बताए ।
Leave a comment