साकोसमैत्री कानून निर्माणमा तीनै प्रदेशको सामुहिक प्रतिवद्धता 

साकोसमैत्री कानून निर्माणमा तीनै प्रदेशको सामुहिक प्रतिवद्धता  :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नेपालगञ्जमा आयोजना गरेको साकोस गोष्ठीले साकोसमैत्री कानून निर्माणमा सामुहिक ऐक्यवद्धता जनाएको छ । गोष्ठीमा सहभागी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सहभागीले साकोसमैत्री कानून निर्माणमा सामुहिक ऐक्यवद्धता जनाएका हुन् ।

तीन प्रदेशका साकोसकर्मी सहभागी गोष्ठीमा पाँच बुँदे साझा प्रतिबद्धता कार्यान्वयनमा समेत सहमती जनाएका छन् । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न गोष्ठीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्धघाटन गरेका थिए ।

“सञ्जाल सबलीकरणका लागि एकता र सहकार्य”  मूख्य थिम सहित आयोजना भएको गोष्ठीले सहकारीहरुबीच सुदृढ सञ्जाल निर्माण गरि साझा समस्याहरुको समाधानका लागिपाँच बुँदे साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो ।

तीनवटै प्रदेशका सहकारी संघसंस्थाका सञ्चालक समिति तथा व्यवस्थापनको प्रतिनिधित्व रहेको गोष्ठीमा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले प्रतिवद्धता वाचन गरेका थिए । गोष्ठीमा तीनवटै प्रदेशका २ सय ४१ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा गोष्ठीमा नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले ‘साकोस अभियानको  प्रवद्र्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । संघले यस अघि बैशाख २५ र २८ गते कोशी र मधेश प्रदेशमा र साकोस गोष्ठी सम्पन्न गरिसकेको छ ।

नेपालगञ्ज प्रतिवद्धता पत्र

१, हामी हाम्रो संघरसंस्थाले अभियान मार्फत मार्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलब्धीहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिबढ्न प्रतिवद्ध छौं ।

२, हामी हाम्रो संघरसंस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा, आन्तरिक नियन्त्रकको रुपमा, आन्तरिक लेखा परीक्षण गर्ने गराउने अङ्गको रुपमा एबम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिबद्ध छौ।

३, हामी संघरसंस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवर्धन, विकास व्यावसायिकीकरण, गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र संघ मार्फत स्थानीय तह देखि संघीय तह सम्म साकोसमैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।

४, हामी हाम्रो संघरसंस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाइ एवम् वृद्धिका विषयमा अभियानले विकास गरेको स्तरीकरणका कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आवद्धभई अद्यावधिक गराउन प्रतिबद्ध छौ।

५, हामी साकोस अभियन्ताहरु सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, तहगत सरोकारवालाहरु, अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं ।



Leave a comment