काठमाडौं । राष्ट्रिय सहकारी बैंकले पछिल्लो समय संचालकहरुको नाम गोप्य राखेको छ । सहकारी बैंकको आधिकारिक वेवसाइड मा बैंकले वर्तमान संचालकहरुको नाम नै प्रकाशन गरेको छैन । बैंकको वेवसाइडको संचालक समिति स्तम्भमा उच्च अधिकारीका नाममा महेन्द्रकुमार गिरि अध्यक्ष र बद्रीकुमार गुरागाई प्रमुख कार्यकारी अधिकृतको मात्र नाम प्रकाशन गरेको छ।
वेवसाइडमा बैंकको सल्लाहकार, लेखा समिति तथा ब्यवस्थापनका पदाधिकारी र ब्यक्तिहरुको नाम रहेपनि संचालक समितिको नाम भने गोप्य नै राखेको छ । निवर्तमान अध्यक्ष सहित १६ जनाको संचालक समिति रहने ब्यवस्था रहेको सहकारी बैंकमा अध्यक्ष केबी उप्रेती प्रारम्भिक संस्था समस्या परेका कारण पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
उप्रेतीको मुद्दा बिचाराधिन रहेकै अवस्थामा नेपाल राष्ट्र बैंकले सहकारी बैंकमा नयाँ अध्यक्षको व्यवस्था गर्न र संचालक समिति सानो बनाउन निर्देशन दिएको थियो । मंसिर १९ गते राष्ट्र बैंकले पत्र पठाएपनि सहकारी बैंकको २७ गतेको सञ्चालक समितिको वैठकले ऋण लगेका संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई हटाउने र संचालक महेन्द्र गिरिलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई बैंकको मंसिर २९ गते सात प्रदेशमा सम्पन्न २१औं वार्षिक साधारणसभाको एकाईसभा र पुस ३ गते सम्पन्न एकाई प्रतिनिधिहरुको सभाबाट अनुमोदन गराइएको थियो । ६ जना संचालक हटेपछि पनि बैंकमा ९ जना संचालक तथा निवर्तमान अध्यक्ष सहित १० जना संचालक रहेका छन् ।
बैंकले निवर्तमान अध्यक्ष अधिकार बिहिन पदेन संचालक रहने ब्यवस्था गरेको छ । यसले गर्दा सहकारी बैंकमा अहिले १० जना संचालक रहेको देखिन्छ । राष्ट्र बैंकको निर्देशन बमोजिम संचालक हटाएपनि ७ जनाको संचालक समिति बनाउन नसक्नुले बैंकले वेवसाइडमा संचालकको नाम सार्वजनिक नगरेको बताइएको छ ।
सहकारी बैंकको विनियममा पूर्व अध्यक्ष पदेन संचालक रहने र मताधिकार नहुने ब्यवस्था भएपनि भूमिका र सेवा सुविधा संचाललकै रुपमा लिने गरेको पाइन्छ् । पदेन संचालकको विषयमा विनियमले बोले पनि राष्ट्र बैंकले पदेन संचालकको विषयमा भने बोलेको छैन् ।
सहकारी बैंकले भने ९ जनाको संचालक समितिको ब्यवस्थाका लागि राष्ट्र बैंक संग लविङ गरिरहेको बुझिएको छ । त्यसैगरी सहकारी बैंकमा संचालकको सेवा सुविधा र बैठक भत्ता मोटो भएकोले पनि संचालकको चाहना राख्नेको संख्या धेरै भएकोले समिति बनाउन नसकिएको बताइएको छ ।
बैंकको उपत्यका बाहिरका संचालकलाई प्रत्येक बैंठक भत्ता बापत ३५ हजार बढी आउने गरेको छ भने अन्य सेवा सुविधा पनि पाउने गरेका छन् । बैंकले आर्थिक वर्ष २०८०÷०८१ मा संचालकको बैठक भत्ताका लागि मात्र १८ लाख ७६ हजार तथा संचालकको अन्य सुविधा बापत ७५ लाख ७८ हजार गरी ९४ लाख ५४ हजार खर्च गरेको छ ।
Leave a comment